

प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीकाअनुसार वेस्ट बैंकको तम्मुन शहरमा आईतवार बिहान इजरायली विशेष सुरक्षा बलले एउटा गाडीमा गोली चलाउँदा दुई बालबालिकासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ । एक प्रेस विज्ञप्तिमा रेड क्रिसेन्टले जनाएअनुसार गोली प्रहार भएको गाडीबाट उनीहरूका उद्धारकर्मीहरूले चारै जना मृतकको शव निकालेका थिए ।

स्थानीय स्रोतकाअनुसार मृतकहरू एउटै परिवारका थिए । स्रोतले थप जानकारी दिएअनुसार इजरायली विशेष बलले शहरको एक टोलमा दुई युवालाई पछ्याइरहेको थियो र त्यसपछि त्यहाँबाट गइरहेको गाडीमा गोली चलाएको थियो । तम्मुन शहर र नजिकैको शहर तुबासका अन्य क्षेत्रहरूमा इजरायली सेनाले लगभग दैनिक रूपमा छापा मारिरहेको छ ।

इजरायलले वेस्ट बैंकमा हुने यस्ता कारबाहीहरूलाई प्रायः प्यालेस्टाइनी सशस्त्र समूहहरूसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरिएको ‘आतंकवाद विरोधी अभियान’ को रूपमा वर्णन गर्ने गर्दछ ।



