

प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरु नेपालको सद्भावना दूतका रूपमा रहेको बताउँदै मुलुकको विकास र समृद्धिमा सक्रिय योगदान दिन आह्वान गर्नुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित एनआरएनएको १२ औँ ग्लोवल कन्फरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा सम्पन्न निर्वाचनबाट आएको नयाँ जनादेश र बदलिँदो परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको पनि बताउनु भयो ।

यस महत्वपूर्ण समयमा एकताको महाधिवेशन आयोजना गरेर नेपालको विकास, सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गरेकोमा उहाँले एनआरएनएप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विश्वमाझ नेपाल कस्तो रूपमा प्रस्तुत हुन्छ भन्ने कुरा गैरआवासीय नेपालीहरुको आचरण, व्यवहार र योगदानमा पनि निर्भर रहने बताउनुभयो । उहाँले विदेशमा बसोबास गर्ने नेपालीहरूले जहाँ रहे पनि नेपालको गौरव र संस्कृतिको प्रवद्र्धन गर्दै आएकोमा गौरव पनि गर्नुभयो ।नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री जहाँ रहेपनि मातृभूमिप्रति योगदान गरिरहन समेत आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ जनादेश र बद्लिदो परिवेशले मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको छ । यस्तो महत्वपूर्ण समयमा तपाईहरुदले एकताको महाधिवेशन आयोजना गरी नेपालको विकास, सहकार्य र साझा जिम्मेवारीको साझा सन्देश प्रवाह गर्नुभएको छ । जसका लागि तपाईंहरु सबैलाई धन्यावाद दिन चाहान्छु । गैरआवासीय नेपालीहरु वास्तवमा नेपालको सद्भावना दुत हुनुहुन्छ । तपाइहरुसँग नेपालको पहिचानसँगै विश्वसामु कस्तो नेपाल प्रश्तुत गर्ने भन्ने कुरा तपाईहरुको आचरण, व्यवहार र योगदानमा पनि निर्भर हुन्छ । तपाईहरु जहाँ बस्नुहुन्छ त्यहाँ नेपालको गौरव, संस्कृतिलाई प्रवद्र्धन गराइरहनुभएको छ । यसको लागि समेत म तपाइहरु सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको छ । यसले तपाईहरु जहाँ भएपनि मातृभूमिप्रतिको योगदान सुनिश्चित गरेको छ । मुलुकको विकास र समृद्धिको लागि सक्रिय पहल गर्न म हार्दिक आह्वान पनि गर्दछु ।’
उहाँले संघका नवनिर्वाचित संघका पदाधिकारीहरुप्रति वधाई ज्ञापन गर्दै गैरआवासीय नागरिकको हक, हित र अधिकारका पहरेदारी गरिरहन समेत सुझाउनु भयो ।



