

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा १४.२ किलो भरिएका संख्या ६ हजार ३७७ थान ग्यास सिलिण्डर भेटिएपछि ३ लाख जरिवाना गरेको विभागले जनाएको छ । सोमबार विभागको निरीक्षण टोलीले उक्त उद्योगलाई जरिवाना गरेको हो । मौज्दातमा रहेको ग्यास सिलिण्डर नेपाल आयल निगमको समन्वय र रोहवरमा बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ । साथै ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर गर्ने गरी कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगरी वितरण प्रणाली सहज गर्न समेत विभागले ग्यास उत्पादक (बोटलिङ) उद्योग र वितरकलाई आग्रह गरेको छ । विभागले ग्यास तथा इन्धनको अस्वाभाविक व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा टोल फ्रि नम्बर ११३७ मा जानकारी गराउन समेत अनुरोध छ ।

२- विशेष अदालत काठमाडौंले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा नेपाली कांग्रेसका पूर्व सांसद सन्तोष चालिसेलाई धरौटीमा छोड्न आदेश दिएको छ । सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले चालिसेलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २८ गते चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ गैरकानुनीरुपमा आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो । आयोगले सोही रकम बराबरको बिगो कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजायको माग गरेको थियो। चालिसे गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर समेत हुन् । चालिसे २०७४ जेठ ८ गते मेयर पदमा निर्वाचित भएका थिए। सार्वजनिक पदमा प्रवेश गरेदेखि २०७९ असार ३२ गतेसम्मको जाँच अवधिमा चालिसे र उनको परिवारको नाममा रहेको सम्पत्ति आय भन्दा व्यय बढी देखिएको अख्तियारको दाबि छ । सोही अवधिमा चालिसे र उनको परिवारको नाममा रहेको सम्पत्तिमध्ये ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँको स्रोत पुष्टि गर्न नसकेको अख्तियारको आरोप छ । अख्तियारले चालिसेको पत्नी मन्दिरा,छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमीला पोखरेललाई प्रतिवादी बनाएको छ। उनीहरूको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न समेत माग गरेको आरोप पत्रमा उल्लेख थियो ।
३- काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गरेको छ। आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक आज सार्वजनिक गरेको हो। प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ। निर्वाचित भएका उम्मेदवारहरूलाई बिहीबार बिहान साढे ११ बजे प्रमाणपत्र वितरण गरिने छ।
४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि गर्ने अभिमुखीकरण कार्यक्रममा मोबाइल लैजान निषेध गरको छ । चैत ३ र ४ गते प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदरूलाई गरिने अभिमुखीकरण कार्यक्रममा मोबाइल फोन निषेध गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छ । कार्यक्रम ललितपुरको ग्वार्कोस्थित एक होटलमा हुने छ । फागुन २१ गतेको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी कुल १८२ सिट जितेको छ।

५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटको सुनुवाई आजपनि हेर्दा हेर्दैमा परेको छ । यी रिट आइतबार हेर्दा हेर्दैमा राखिएको थियो । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी, सुनिलकुमार पोखरेलको इजलासमा रिट निवेदक र सरकारी वकिलको बहस पछि आज बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । यो रिट अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन् ।
६- प्रधानमन्त्री सुशीला कार्कीले आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको निरीक्षण गरेकीछन् । बबरमहलस्थित कार्यालय पुगेर उनले सेवामा प्रयोग भइरहेको सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम) को जानकारी लिएको र सेवाग्राहीसँग प्रत्यक्ष अन्तर्क्रिया गरेकी थिईन । सो अवसरमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कार्यालयमा सूचना प्रविधिमा आधारित प्रणाली लागू गरी सेवा छिटो र झन्झटरहित रुपमा प्रदान भइरहेको जानकारी दिए । उनका अनुसार, सेवाग्राहीले टोकन लिएर निश्चित समयमा सेवा लिन सक्ने हुँदा गुनासा शून्य भएको र बिचौलियाको भूमिका समाप्त भएको छ । दैनिक करिब एक हजार सेवाग्राही आउने यस कार्यालयमा प्रत्येक काउन्टर र शाखाको सीसीटीभीबाट अनुगमन गर्न सकिन्छ। साथै, सेवाग्राहीका लागि वाईफाई, तातो पानी र चिसो पानीको सुविधा उपलब्ध गराइएको छ । प्रजिअ पौडेलले जेनजी आन्दोलनका क्रममा युवाले उठाएको सुशासनको आवाजलाई सम्बोधन गर्दै यो प्रणाली लागू गरिएको र यसलाई जेनजी योद्धाहरुमै समर्पित गरिएको जानकारी दिए । उनले स्थानीय तहहरुसँग समन्वय गरी यस प्रणाली कार्यान्वयन गरिएको पनि उल्लेख गरे । प्रधानमन्त्री कार्कीले जनतालाई सहज र छिटो सेवा प्रवाह गर्न यो प्रणाली महत्वपूर्ण रहेको र देशभरका उच्च चाप भएका कार्यालयमा लागू गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्- ‘जेनजी युवाले सडकमा उठाएको सुशासनको आवाज सम्बोधन गर्न काठमाडौँ प्रशासनले सुरु गरेको यो नमुना कार्य प्रशंसनीय छ । अब यसलाई देशभर विस्तार गर्नुपर्छ ।’ पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्कीले न्यायालयमा पनि यस्तै प्रणाली लागू गर्ने योजना भएको स्मरण गर्दै प्रशासन कार्यालयमा देखेको कार्यलाई उदाहरणीय भनेकी थिइन् । अनुगमनमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए ।
७- धादिङ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले त्रिशूली नदीबाट भइरहेको अवैध बालुवा र गिट्टी उत्खनन तत्काल रोक्न निर्देशन दिएकी छन् । बेनीघाट-रोराङ गाउँपालिका वडा नम्बर ९ क्षेत्रमा नदीबाट अवैध रूपमा बालुवा तथा गिट्टी निकालिएको जानकारी पाएपछि उनले सम्बन्धित निकायलाई उक्त कार्य रोक्न निर्देशन दिएको बताएकी छन् । सांसद तामाङले जनताले विश्वास गरेर आफूलाई प्रतिनिधि बनाएको उल्लेख गर्दै कानुनविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएकी छन् । उनले दिएको निर्देशनलाई बेवास्ता गर्ने वा लापरवाही गर्ने निकाय तथा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने पनि स्पष्ट पारेकी छन् । प्राकृतिक सम्पदाको संरक्षण र जनताको हितका लागि आफू सधैं प्रतिबद्ध रहने उनले बताएकी छन् ।

८- राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत माओमिङले आज शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको थियो । भेटमा अध्यक्ष दाहालले नेपालका लागि नवनियुक्त राजदूत माओमिङलाई स्वागत गर्दै उनको कार्यकालमा नेपाल-चीन सम्बन्ध अझ घनिष्ट र उचाइमा पुग्ने विश्वास लिएको बताएका थिए । नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए । गत फागुन २१ गते नेपालमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको बताउँदै अध्यक्ष दाहालले जेनजी आन्दोलनपछि उत्पन्न कठिन परिस्थिति र चुनावको समयमा चीन सरकारले गरेको सहयोग सह्रानीय रहेको बताए । नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्मरण गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार नै अगाडि बढ्ने बताए । चीनले नेपालको पूर्वाधार विकास लगायत आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गरे । बिआरआई लगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा विश्वास लिएको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुनेमा जोड दिए । अध्यक्ष दाहालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा उडान सञ्चालन होस् भन्ने आफ्नो चाहना रहेको भन्दै त्यसका लागि पहल गर्न पनि राजदूत चाङलाई आग्रह गरे । भेटमा उनले कनेक्टिभिटीका लागि सडक सञ्जाल र सिमा नाकाहरुको पूर्वाधार विकासमा पनि पहल गर्न अनुरोध गरेका थिए । सो अवसरमा राजदूत माओमिङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताए । उनले दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उँचाईमा उठेको बताए ।
९- बलिवुड अभिनेता सलमान खानको प्रतिक्षित फिल्म ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन गरिएको छ । फिल्म रिलिज हुनुभन्दा पहिले, निर्माताहरूले फिल्मको नाम परिवर्तन गरेका छन् । सलमान खानको फिल्म अब ‘ब्याटल अफ गलवान’ को रूपमा रिलिज हुनेछैन । निर्माताहरूले फिल्मको नयाँ शीर्षक पनि घोषणा गरेका छन् । फिल्म अब ‘मातृभूमि’ नामबाट रिलिज हुने भएको छ । फिल्मका मुख्य अभिनेता तथा निर्माता सलमान खानले आज फिल्मको नयाँ शीर्षकको साथ एक नयाँ पोस्टर साझा गरेका छन् । पोस्टरमा सलमान खानलाई सैन्य पोशाकमा देखाइएको छ । तर फिल्म रिलिजको विषयमा भने अस्पष्ट रहेको छ । यो फिल्म यसअघि अप्रिल १७ मा सिनेमाघरहरूमा रिलिज हुने तालिका थियो । सलमान खानले नाम परिवर्तनको घोषणा गरेको पोस्टमा फिल्मको रिलिज मिति उल्लेख गरिएको छैन । फिल्मको पोस्टर वा क्याप्शनमा अप्रिल १७ वा अन्य कुनै रिलिज मिति उल्लेख गरिएको छैन । यसले फिल्मको रिलिज मिति पछाडि सारिएको चर्चा चलेको छ । ‘मातृभूमि’ अपूर्व लाखियाद्वारा निर्देशित र सलमान खान फिल्म्सको ब्यानरमा निर्मित हो । फिल्ममा सलमान खानसँगै चित्रांगदा सिंह पनि अभिनय गर्नेछिन् । फिल्ममा नेपाली अभिनेता अनुप विक्रम शाहीको पनि अभिनय रहेको छ । फिल्म २०२० मा गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकहरू बीच भएको झडपको कथामा आधारित भनिएको छ ।
१०- नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका ३ करोड ७ लाख ९० हजार २११ कित्ता शेयर ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज सालपा विकास बैंक, रिलायन्स स्मिनिंग मिल्स, अपर हेवा खोला हाइड्रो र सोलु हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै होटल फरेस्ट इनको शेयर ९.९३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी सिद्धार्थ इक्विटी फण्डको शेयर ४.३९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको शेयरमा ६८ करोड ७७ लाख बराबरको कारोबार भएको छ भने नेशनल हाइड्रोको ६६ करोड १४ लाखको कारोबार भएको छ ।
११- संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा इरानले प्रहार गरेको क्षेप्यास्त्र खस्दा एक जनाको मृत्यु भएको छ । अबु धाबी सञ्चार कार्यालयका अनुसार अल बहयान क्षेत्रमा एउटा गाडीमाथि क्षेप्यास्त्र खसेको हो । घटनामा एक जनाको ज्यान गएको र मृतक प्यालेस्टिनी नागरिक रहेको पहिचान भएको जनाइएको छ । घटनापछि सम्बन्धित निकायले अवस्था बुझ्ने र आवश्यक अनुसन्धान गर्ने काम सुरु गरेको बताएका छन् । यसैबीच दुबईमा सोमबार बिहान अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी भएको देखिएको छ । त्यहाँ इन्धन भण्डारण गरिएको ट्याङ्कीलाई निशाना बनाइएको बताइएको छ, जसका कारण आकाशमा धुवाँको ठूलो मुस्लो उठेको देखिएको थियो । युएईको रक्षा मन्त्रालयले हाल देशको हवाई सुरक्षा प्रणालीले इरानतर्फबाट आउने क्षेप्यास्त्र र चालकविहीन उड्ने साधनको सम्भावित जोखिम सामना गरिरहेको जनाएको छ ।
१२- सुर्खेतमा बालिका ईनिशा विक हत्या सम्बन्धी घटनाको शीघ्र छानविन गरि संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारकोतर्फबाट ईनिशा विकका दाई चन्द्र बहादुर बिक र तपेन्द्र विकले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी घटनाको सत्यतथ्य सार्वजनिक सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन । साथै यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटनाहरु दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित् समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापुर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ । ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए । उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनैपनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीताका साथ लागि परेको बताए । गत फागुन २३ गते सुर्खेतको विरेन्द्रनगर–४ सहितदपार्क नजिकै जनजागरण सामुदायिक बनमा १६ वर्षीय बालिका ईनिशा वि.क.को बलात्कारपछि हत्या भएको थियो ।
१३- अखिल नेपाल फुटबल संघ (एन्फा) मा आबद्ध शहिद स्मारक लिगमा क्लबहरूका प्रतिनिधिले सातदोबाटोस्थित एन्फा मुख्यालयमा नाराबाजी गरेका छन् । सोमबार क्लबहरूका प्रतिनिधिले लिगको तालिका, कार्यविधि र विदेशी खेलाडीको वर्क पर्मिटलगायत विषयमा एन्फासँग विपति राख्दै विरोध प्रदर्शन गरेका छन् । क्लबका पदाधिकारीहरुले यस अघि दिएको चार बुँदे मागलाई एन्फाले सुनुवाई नगरेको उनीहरुको दाबि छ । उनीहरुले हचुवाको भरमा लिगको तालिका ल्याएको बताउदै उनीहरुले क्लबका मागको बेवास्ता गरेको आरोप लगाएका छन् ।
१४- इरान युद्धका कारण मध्यपूर्वबाट आउने तेल बोकेका जहाजको आवागमन प्रभावित भएपछि जापानमा तेल आपूर्तिमा समस्या देखिन थालेको छ । यसलाई नियन्त्रणमा राख्न जापानले आफ्नो सञ्चित भण्डारबाट तेल निकालेर प्रयोग गर्न थालेको छ । जापानी सञ्चारमाध्यमले जनाएअनुसार आपूर्ति स्थिर राख्न भण्डारबाट तेल प्रयोग सुरु गरिएको हो । सार्वजनिक गरिएको इन्धन करिब १५ दिनको खपत बराबर रहेको बताइएको छ । जापानका तेल कम्पनीहरूसँग अहिले करिब ७० दिनका लागि पुग्ने भण्डार रहेको पनि जानकारी दिइएको छ । यसका अतिरिक्त सरकारसँग छुट्टै तेल भण्डार रहेको र मार्च महिनाको अन्त्यतिर करिब एक महिनासम्म पुग्ने आपूर्ति सार्वजनिक गर्न सकिने अपेक्षा गरिएको छ । समग्रमा जापानसँग हाल करिब २५४ दिनसम्मको खपत बराबर तेल भण्डार रहेको बताइएको छ, जुन करिब ४७ करोड बैरल तेल बराबर हुने जनाइएको छ ।

१५- अमेरिकाको लस एन्जलसस्थित डल्बी थियटरमा ९८औँ एकेडेमी पुरस्कार समारोह सम्पन्न भएको छ । हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो अभिनीत चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ले यस वर्षको उत्कृष्ट चलचित्रको पुरस्कार जित्दै सबैभन्दा धेरै ६ वटा पुरस्कार हात पारेको छ । यस वर्ष १६ मनोनयन पाएर कीर्तिमान बनाएको चलचित्र ‘सिनर्स’ भने चार पुरस्कारमै सीमित भएको छ । यही चलचित्रका लागि माइकल जोर्डनले उत्कृष्ट अभिनेता पुरस्कार जितेका छन् । यसै विधामा लियोनार्डो डिक्याप्रियो पनि मनोनयनमा परेका थिए । उत्कृष्ट अभिनेत्रीको पुरस्कार भने जेसी बक्लीले ‘ह्यामनेट’ चलचित्रका लागि जितेकी छन् । यो चलचित्र प्रसिद्ध लेखक विलियम शेक्सपियरको जीवनसँग सम्बन्धित कथामा आधारित छ । चलचित्रमा बक्लीले शेक्सपियरकी पत्नी एग्नेसको भूमिका निर्वाह गरेकी छन् । भारतीय अभिनेत्री प्रियंका चोपडा सन् २०१६ पछि पुनः एकपटक पुरस्कार प्रस्तुतकर्ता बनेकी थिइन् । उनले अन्तर्राष्ट्रिय चलचित्रतर्फको पुरस्कार प्रदान गरेकी हुन् । दुईपटक प्रस्तुतकर्ता बन्ने उनी पहिलो भारतीय बनेकी छन् । समारोहको रातो कार्पेटमा उनी आफ्ना पति निक जोनससँग सहभागी भएकी थिइन् । १६ मनोनयन पाएको ‘सिनर्स’ चलचित्रले उत्कृष्ट छायांकनतर्फ पनि पुरस्कार जितेको छ । यस विधामा अटम डुराल्डले पुरस्कार ग्रहण गर्दै उत्कृष्ट छायांकनतर्फ पुरस्कार जित्ने पहिलो महिला बनेकी छन् । त्यस्तै ‘वन ब्याटल आफ्टर अनदर’ चलचित्रका लागि पल थोमस एन्डरसनले उत्कृष्ट निर्देशकको पुरस्कार प्राप्त गरेका छन् । यही चलचित्रले उत्कृष्ट चलचित्र सम्पादनतर्फ पनि पुरस्कार जितेको छ । उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रतर्फ नर्वेको ‘सेन्टिमेन्टल भ्यालु’ सम्मानित भएको छ । ‘सिनर्स’ चलचित्रका लागि लुडविग गोरेन्सनले उत्कृष्ट मौलिक सङ्गीततर्फ पुरस्कार जितेका छन्। उत्कृष्ट मौलिक गीततर्फ भने एनिमेसन चलचित्र ‘के–पप डेमन हन्टर’ को ‘गोल्डेन’ गीतले पुरस्कार पाएको छ । उत्कृष्ट वृत्तचित्र लघु चलचित्रतर्फ ‘अल द एम्प्टी रुम्स’ ले पुरस्कार जितेको छ । त्यसैगरी चलचित्र ‘अवतारः फायर एन्ड ऐश’ ले उत्कृष्ट दृश्य प्रभावतर्फ पुरस्कार पाएको छ । विज्ञानकथामा आधारित ‘फ्रेन्केनस्टाइन’ चलचित्रले उत्कृष्ट उत्पादन सज्जाको पुरस्कार जित्दै समारोहमा आफ्नो तेस्रो सम्मान हात पारेको छ ।
१६- ६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठ समेतले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित एवम् गैरकानुनी तवरले निक्षेपकर्ता एवम् संस्थाको हित विपरीत हुने कार्य गरी बैंकिङ कसूरमा संलग्न रहेका हुँदा सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले श्रेष्ठलाई दुई वटा मुद्दामा क्रमश: १९ करोड ४६ लाख १ हजार ६६२ रूपैयाँ जरिवाना, ३ वर्ष कैद र ३ करोड २१ लाख ३९ हजार ६८१ जरिवाना तथा ३ वर्ष कैद सजाय ठहर गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका-५ सितापाईलाबाट आइतबार पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
१७- नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ९ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर ५२६५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५२७० मा कारोबार भएको थियो ।
१८- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका हुन् । उनले आफूले व्यक्तिगत इच्छाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक पटक हार व्यहोरेको र दुवै निर्णयप्रति आफू सन्तुष्ट रहेको बताएका छन् । राउतले २०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’लाई सरकारले काम गर्न नदिएको र जनतामाझ जान रोक लगाएपछि पार्टी गठन गर्नुपर्ने अवस्था आएको स्मरण गरेका छन् । सो क्रममा अरू नेताहरूले अध्यक्ष बन्न नमानेपछि आफू नै पार्टीको नेतृत्व सम्हाल्नुपरेको उनले उल्लेख गरेका छन् । २०७९ सालको आमनिर्वाचनमा आफू प्रत्यक्ष वा समानुपातिक कतैबाट नलड्ने सोच बनाएको भए पनि पार्टीका नेताहरूको आग्रहपछि निर्वाचनमा भाग लिएको उनले बताए । सो निर्णयका कारण पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्दै राष्ट्रिय पार्टी बन्न सफल भएको उनको दाबी छ । त्यस्तै २०८२ को निर्वाचन नलड्ने निर्णय पहिल्यै गरेको भए पनि अन्तिम समयमा पार्टीका नेताहरू र कार्यकर्ताको मनोबल नघटोस भनेर फेरि उम्मेदवारी दिएको उनले उल्लेख गरेका छन् । परिणाम आएपछि पनि साथीहरूको सल्लाह मानेर चुनाव लडेको निर्णय सही भएको महसुस भएको उनले बताएका छन् । राउतले अब संसदीय वा पदको राजनीतिबाट विश्राम लिने तर राजनीतिबाट भने अलग नहुने स्पष्ट पारेका छन् । उनले आफ्नो सिद्धान्त, एजेन्डा र जनताको अधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्। साथै उनले आगामी स्थानीय तह र प्रदेश निर्वाचनका लागि पार्टीलाई तयारी गराउने र जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका छन् ।

१९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्बन्धी विषयमा सहयोगी देशहरूले साथ नदिए नाटोको भविष्य कमजोर हुन सक्ने चेतावनी दिएका छन् । फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले हर्मुज जलडमरु सुरक्षित र खुला राख्न सहयोगी देशहरूले सहयोग नगरे स्थिति गम्भीर बन्न सक्ने बताएका हुन् । ट्रम्पले अमेरिकाले लामो समयदेखि आफ्ना सहयोगी देशहरूको पक्षमा उभिँदै आएको तर उनीहरू सधैँ अमेरिकाका लागि उभिन्छन् भन्ने निश्चित नभएको बताए । उनले युक्रेन अमेरिकाबाट हजारौँ किलोमिटर टाढा भए पनि अमेरिकाले सहयोग गरेको उल्लेख गर्दै अब सहयोगी देशहरूले पनि अमेरिकालाई साथ दिन्छन् कि दिँदैनन् भन्ने हेर्नुपर्ने बताएका छन् । ट्रम्पले बेलायतप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । अमेरिकाको पुरानो र प्रमुख सहयोगी मानिने बेलायतले आवश्यक समयमा सहयोग नगरेको उनको आरोप छ । अमेरिकाले इरानको क्षमता धेरै हदसम्म कमजोर बनाइसकेपछि मात्रै बेलायतले दुई युद्धपोत पठाउने कुरा गरेको उनले बताए । ट्रम्पले चीनले पनि हर्मुज जलडमरु खुला राख्न सहयोग नगरे यसै महिनाको अन्त्यतिर चिनियाँ राष्ट्रपति सी जीङपीङसँग हुने शिखर भेटवार्ता स्थगित गर्न सक्ने संकेत दिएका छन् ।
२०- आफ्नो जिम्मेवारीको अन्तिम समयमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले गरेका निर्णय विवादमा परेका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकबाट वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने र आफ्ना प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गर्नें निर्णयको चौतर्फी आलोचना भएको छ । यसअघि वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका थिए । उनको कार्यकाल फागुन २० गते सकिएको छ । उनले कार्यकाल सकिनु केहीअघि राजीनामा दिएका थिए । मन्त्रिपरिषदबाट सिफारिस भएका अर्याल राष्ट्रपति रामचन्द्र पौडेलबाट मनोनीत भएमा उनी ६ वर्ष सांसद हुनेछन् । राष्ट्रिय सभाका सांसद मन्त्री हुन पाउछन् तर प्रधानमन्त्री हुन भने प्रतिनिधि सभाको सदस्य हुनुपर्ने व्यवस्था छ । अधिवक्ता रहेका अर्याल जेनजी आन्दोलनपछिको सरकारमा गृहमन्त्री छन् । जेनजी आन्दोलन अघि आर्याल काठमाडौँ महानगरमा तत्कालिन मेयर बालेन शाहको कानुनी सल्लाहकार थिए भने उनले रुपन्देही-३ मा त्यति बेला हुन लागेको उपनिर्वाचनमा बालेनकै समर्थनमा उम्मेदवारी समेत दिने तयारी गरेका थिए । त्यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई पाँच वर्षका लागि उक्त पदमा मनोनीत गरेकी छन् । यसअघि ऐनबहादुर शाहीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । यसअघि प्रमुख स्वकीय सचिव श्रेष्ठ प्रधानमन्त्रीको सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठसहितका आफन्तलाई नियुक्ति गरेको विषयमा विवादमा परेका थिए । चौतर्फी विवादपछि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरिएका आफन्तलाई हटाइएको थियो । असहज अवस्थामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेर चौतर्फी प्रसंशा भइरहेको बेला यी दुई निर्णयले प्रधानमन्त्री कार्कीको आलोचना भएको छ । निर्वाचन सम्पन्न भइसकेको र नयाँ सरकार बन्नेक्रममै रहेकाले यस्ता नियुक्तिका निर्णय गरेर प्रधानमन्त्री कार्कीले जादा जादै विवादित निर्णय गरेकी छन् । धेरैले सामाजिक सञ्जाल र मिडियामा दुवै नियुक्तिको आलोचना गरेका छन् । गृहमन्त्री अर्यालले पनि मौकाको फाइदा उठाएको भन्दै आलोचना बेहोरेका छन् ।
#NewsBulletin #Top20News #TodayNews #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



