

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक पत्र पठाउँदै बधाई तथा शुभकामना व्यक्त गरेको छ । सन्देशमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको छ । प्राप्त पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प दोहोर्याइएको छ ।

साथै, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै, उनीहरूको नेतृत्वमा रास्वपाले नेपाल-चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता देखाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी, नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्दछ। चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको यस शुभेच्छा र ऐक्यबद्धताका लागि धन्यवाद ज्ञापन गरेको रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले जानकारी दिएका छन् ।
#RSP #China #CPC #NepalPolitics #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



