गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई निर्देशन दिँदै लामिछानेले भनेः ‘हामी कानून बनाउन आएका हौं, मन्त्री बन्न होइन’

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई पुरानो राजनीतिक संस्कार त्याग्न र गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ ।  सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै लामिछानेले सांसदहरूको मुख्य काम कानुन निर्माण गर्नु रहेको भन्दै स्वार्थ समूहको पछि नलाग्न सचेत गराउनुभएको हो । पुराना राजनीतिक दलहरूले जस्तै आफूलाई केन्द्रमा राखेर राजनीति गरे रास्वपाको हविगत पनि उनीहरूको भन्दा नराम्रो हुने चेतावनी उहाँले दिनुभयो ।

देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बेला आएको भन्दै उहाँले मन्त्री वा प्रधानमन्त्री बन्ने व्यक्तिगत सपनाको भारी यो समाजले नबोक्ने स्पष्ट पार्नुभयो । देशमा विचौलियाहरूको बिगबिगी रहेकोतर्फ सचेत गराउँदै उनले कुनै पनि विचौलियासँग साँठगाँठ गर्नु वा चिया खानुअघि आफ्नो छोरा गुमाएर संसदमा पुगेकी ‘शहीदकी आमा’लाई सम्झन सांसदहरूलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी कानून बनाउन आएका हौं । कानून बनाउने प्रमुख जिम्मेवारी तपाईंहरूको काँधमा नेपाली जनताले दिएका हुन् । कुन धाराले कहाँ अड्काएको छ, मान्छेको घरमा धारा आउन, बिजुली बल्न र इन्टरनेट चल्न के गर्नुपर्छ भन्ने तपाईंलाई थाहा हुनुपर्छ । त्यसकारण यसपटक यो शक्तिको दौडधुप, यताउता धाउने र फोटो खिचेर बस्ने पसल बन्द गर्नुहोला । गुट बनाएर काँग्रेसी, एमालेलाई जितिँदैन साथी हो, कुनै गुट बनाउनु पर्दैन । घण्टीका मुनि सबै अटाउन सक्छौं । आफ्नो पोजिसन के हुन्छ, म कहाँ हुन्छु, पार्टीमा मेरो हैसियत के हुन्छ भन्ने ‘म केन्द्रित’ राजनीतिबाट बाहिर उठ्न सकिएन भने हाम्रो हविगत पुराना दलका नेताभन्दा खराब हुन्छ । शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ । हामीलाई फुटाउने र गिराउनेहरूको बिगबिगी छ, त्यसैले हामी आफैँ बलियो र एकताबद्ध हुनुपर्छ ।’

जनताले पुराना दलहरूलाई ३६ वर्ष कुरे पनि रास्वपालाई ३६ महिना वा ३६ दिन पनि कुर्ने धैर्यता नभएको यथार्थलाई बुझ्न उहाँले आग्रह गर्नुभयो ।

#रविलामिछाने #RSP #NepalPolitics #सांसद #राजनीति #Leadership #PoliticalNews #नेपालसमाचार #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages

images

अन्य समाचारहरु