

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कांग्रेसले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । उनले भनेका छन्- ‘सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ ।’ यसअघि निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै थापाले पदबाट राजीनामा दिएका थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार र आज आइतबार बसेको केन्द्रीय समितिको बैठकले थापाले सभापतिबाट दिएको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता चालिसेले बताए । यसअघि शुक्रबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए ।

२- प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीको शपथ भोलि हुने भएको छ । उनले भोलि बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सांसदको पद तथा गोपनियताको शपथ लिन लागेका हुन् । नेपाली कांग्रेसको समानुपातिकबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट शपथ लिएपछि उनैले आगामी चैत १२ गते अन्य सांसदहरुलाई शपथ गराउनेछन् । सांसदहरुको शपथ भने सिंहदरबारमा हुनेछ । त्यसको लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हललाई तयार गरिरहेको छ । १२ गते सांसदहरुको शपथपछि चैत्र १३ गते शुक्रबार नयाँ प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले शपथ लिने तयारी समेत शुरु भएको छ । उनले शीतल निवासमै शपथ लिने तयारी गरिएको छ । बालेनलाई रास्वपाले सम्भवत विहिबार संसदीय दलको नेता चयन गरेर औपचारिकता पुरा गर्ने छ । रास्वपाले यसअघि नै बालेनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने बताएको छ ।

३- राजधानीमा पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो सम्पन्न भएको छ। भृकुटीमण्डपमा चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता र कारोबार वृद्धि देखिएको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङ (सुनिल)ले जानकारी दिए । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित चैत ५ गतेदेखि सुरु भएको मेला चैत ८ गते (आइतबार) सम्पन्न भएको हो। मेलामा सुरुवातदेखि नै दर्शकको आकर्षण उच्च देखिएको थियो । फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंका अनुसार पहिलो दिन ९ हजार ५०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । दोस्रो दिन १७ हजार ५०० दर्शकको सहभागिता रहँदा २९ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो । त्यसैगरी तेस्रो दिन २१ हजार ५०० दर्शकले मेला अवलोकन गरेका थिए भने ३९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। अन्तिम दिन आइतबार १२ हजार २०० जना दर्शकले मेला अवलोकन गर्दै ३१ लाख ८० हजार रुपैयाँको कारोबार गरेका थिए । चार दिनसम्म सञ्चालन भएको मेलामा कुल ६० हजार ७०० जनाले अवलोकन गरेका छन् भने १ करोड २२ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ । मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फुड २, ल्याण्डस्केप १, सेल्फी १ तथा बीवाईडी ईभी कारसहित गरी कुल ८३ वटा स्टल रहेका थिए। प्रदर्शनीमा सहभागी व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धामा समेत समावेश गरिएको संयोजक तामाङले जानकारी दिए ।हाल देशभर ५२ जिल्लामा २ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको तथ्याङ्क छ । यद्यपि देशको कमजोर आर्थिक अवस्था र नीतिगत चुनौतीका कारण चालु आर्थिक वर्ष २०८१÷८२ मा पुष्प व्यवसायको वार्षिक कारोबार घटेर ३ अर्ब ३७ करोडमा सीमित हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ६८ करोडभन्दा कम हो । कारोबार घटे पनि विदेशी फूलको आयातमा भने उल्लेख्य गिरावट आएको छ। अघिल्लो वर्ष २७ करोड ७९ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। त्यस्तै, निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी दिए । चार दिनसम्म चलेको एक्स्पो उत्साहपूर्ण सहभागिता र सकारात्मक आर्थिक सङ्केतसहित सम्पन्न भएको अध्यक्ष श्रेष्ठले बताए ।

४- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो चुनावी खर्च विवरण सार्बजनिक गरेका छन् । सुनसरी- १ बाट विजयी भएका साम्पाङले चुनावमा ८ लाख २ हजार ५२० खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका छन् । उनले यातायातमा २ लाख ८८ हजार, स्टिकरमा २ लाख ४० हजार, स्टेज साउण्ड सिस्टममा एक लाख, अन्यमा ९६ हजार, पर्चा पम्पेल्टमा ६५ हजार ५२०, र मनोनयन दर्तामा १० हजार खर्च भएको विवरण आयोगमा बुझाएका हुन् ।
५- प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत कर्मचारीको टोलीलाई बोलाएर प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सफल भएकोमा बधाई पनि दिएकी छन् । उनले आयोगले गरेको मेहनतको उच्च सह्राहना गर्दै नेपालको निर्वाचन इतिहासमा गुणस्तरीय निर्वाचनको मानक स्थापित भएकोमा प्रसन्नता पनि व्यक्त गरेकी थिइन् । अनेकौँ चुनौतीको सामना गरेर निर्वाचनको पक्षमा दृढतापूर्वक उभिएर काम गर्ने क्षमता आयोगको नेतृत्वमा देखिएको भन्दै उनले प्रशंसा पनि गरेकी थिइन् । प्रधानमन्त्री कार्की भनिन्- ‘निर्वाचन घोषणा हुनासाथ तपाईँहरुले जुन मेहनत र प्रतिबद्धताका साथ काम गर्नुभयो, त्यसैको परिणामस्वरुप आज तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुन सकेको हो। गुणस्तरीय निर्वाचनको मानक स्थापना गर्न सम्भव भएको छ। सुशासनको प्रस्थानविन्दु नै गुणस्तरीय निर्वाचन हो। तसर्थ यो सफलता दिगो लोकतन्त्रका लागि पनि ऐतिहासिक र महत्त्वपूर्ण छ। यो सफलता हामी सबैको खुसी र गौरवको विषय हो।’ आयोगका तर्फबाट कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको नतिजा प्रतिवेदनको एक प्रति प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलगायतको पनि उपस्थिति थियो ।
६- केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता शुरु भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता शुरु भएको जानकारी दिएका हुन् । अन्तरआवद्धतासँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने झन्झट अन्त्य भएको छ । गृहमन्त्री अर्यालले यस बारेमा जानकारी दिदै भने- ‘गृह मन्त्रालय सञ्चालनमा रहेको केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच सेवा अन्तरआबद्धता गरी राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रको विवरण दर्तासहितको आवेदन फारम भर्न नपर्ने बनाइ सहज र नागरिकमैत्री सेवा उपलब्ध गराउँदा नागरिकलाई भलन्झटरहित सेवा उपलब्ध गराउनेगरी सेवा शुरु गरेका छौं । मन्त्रालयका अनुसार हाल १२ वटा सार्वजनिक सेवासँग अन्तरआवद्धता भइसकेको छ । यसबाट दोहोरो काम घटेको, राज्यकोषमा बचत भएको तथा आर्थिक र सामाजिक अपराध नियन्त्रणमा समेत सहयोग पुगेको जनाइएको छ । राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा व्यक्तिको पहिचान र प्रमाणीकरण गरी नागरिकका वैयक्तिक तथा जैविक विवरण प्रयोग गरेर प्रविधिमैत्री सेवा प्रवाह सुनिश्चित गरिएको छ । यसले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । गृह मन्त्रालयका अनुसार हाल दैनिक करिब ६ हजारदेखि ८ हजारसम्म सेवाग्राहीले नयाँ व्यवस्थाबाट सेवा लिइरहेका छन् ।

७- जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २२ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । त्रिभुवन आर्मीले दिएको २४४ रनको लक्ष्य पछाएको पुलिस क्लबले ४५.३ ओभरमा अल आउट हुदै २२१ रन बनाएको थियो । पुलिसका लागि रशिद खानले सर्बाधिक ६० रन बनाएका थिए भने शंकर रानाले ४६, कप्तान आरिफ सेखले ३८ र करण केसीले २३ रन बनाएका थिए । त्यसैगरी आर्मीका बलर नरेन साउदले ३ विकेट लिए भने आकश चन्दले २ विकेट लिएका थिए । यसअघि बर्षाले प्रभावित भएपछि ४७-४७ ओभर खेलिएको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको आर्मीले ४७ ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । आर्मीका लागि बसिर अहमदले शतकीय पारी खेलेका थिए । बसिरले ८६ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यस्तै भीम सार्कीले ६२ रन बनाएका थिए । त्यसैगरी पुलिस क्लबका बलर सर्वन यादवले ३ विकेट लिए भने सागर ढकाल र रशिद खानले २-२ विकेट लिए । अब त्रिभुवन आर्मीले अर्को खेल विहिबार गण्डकी प्रदेशसँग खेल्ने छ भने नेपाल पुलिस क्लबले अर्को खेल मंगलबार एपीएफसँग खेल्ने तालिका रहेको छ । त्यस्तै आइतबार सम्पन्न खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । एपीएफले दिएको २७२ रनको लक्ष्य पछाएको बागमती प्रदेशले ४५.१ ओभरमा अल आउट हुदै २०० रन बनाएको थियो । बागमतीका लागि विवेक मगरले सर्बाधिक ३४ रन बनाए भने सुबाश खत्रीले २७, उत्तम मगरले २६ र शिभम तिवारीले २५ रन बनाएका थिए । त्यसैगरी एपीएफका बलर अभिषेक गौतम र रोहित पौडेलले ३-३ विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गरेको एपीएफले आसिफ सेखको ११४ रनको शतकीय र सन्दीप जोराको ५२ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै २७१ रन बनाएको थियो । त्यस्तै बागमतीका बलर रिजन ढकालले ४ विकेट लिएका थिए । अब एपीएफले अर्को खेलनेपाल पुलिस क्लबसँग मंगलबार खेल्ने छ भने बागमतीले मंगलबार नै गण्डकी प्रदेशसँग खेल्ने छ ।
८- कतारमा भएको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । कतारको गृह मन्त्रालयका अनुसार समुद्री क्षेत्रमा गरिएको खोज तथा उद्धार अभियानका क्रममा हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको शव फेला पारिएको हो । अहिलेसम्म एक जना व्यक्ति भने बेपत्ता रहेका छन् र उनको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । यसअघि उक्त हेलिकोप्टर प्राविधिक खराबीका कारण दुर्घटनामा परेको जानकारी मन्त्रालयले दिएको छ ।
९- नेपालको हङकङ चाइनासँग हुन लागेको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषदले खेलका लागि दशरथ रंगशाला उपलब्ध नगराएका कारण खेल स्थगित गरेको जनाएको छ । एन्फाले भनेको छ- ‘राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग एन्फाले मिति २०८२ फागुन १० गते चलानी नं ९११/०८२/०८३ (राखेप दर्ता नं ३५५९) को पत्रमार्फत मैत्रीपूर्ण खेलको संचालनको लागि रंगशाला र त्यसको खेलमैदानको लागि स्वीकृति मागेको थियो । मिति २०८२ चैत ३ गते पुन चलानी नं ९८२/०८२/०८३ (राखेप दर्ता नं ३७९५) को पत्रमार्फत रंगशालाको फ्लडलाइट, स्कोर बोड र अन्य पूर्वाधारहरु खेलको लागि उपलब्ध गराइदिन पत्र पठाएको थियो । तर एन्फाको खेलमैदान तथा रंगशाला उपलब्ध गराइदिन गरेको आग्रह र खेल संचालनको स्वीकृति राखेपले नदिएकोले सो खेल स्थगित गरिएको जानकारी गराउदछौ ।’ यो खेल चैत्र १२ गते हुने तालिका रहेको थियो ।
१०- नेप्सेमा वृद्धि भएको छ । आज आइतबार नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा पुगेर रोकिएको छ । आज ३६४ कम्पनिका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्मिनिंग मिल्स, सालपा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रो, भुजुंग हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै होटल फरेस्ट इनको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी एनआइसी एसिया ब्यालेन्स फण्डको शेयर ५.७१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको शेयर ८५ करोड ९६ लाख बराबरको कारोबार भएको छ भने नेशनल हाइड्रोको शेयर ७७ करोड ८७ लाख बराबरको कारोबार भएको छ । त्यस्तै शिभम सिमेन्टको शेयर ७५ करोड २६ लाख बराबरको कारोबार भएको छ ।

११- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा २१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशकहरू र अन्य कर्मचारी, ठेकेदार कम्पनी तथा परामर्शदाता कम्पनीमाथि आरोपपत्र दायर गरिएको हो । अनुसन्धानका क्रममा विमानस्थल निर्माणका लागि गरिएको सम्झौताअनुसार परामर्श सेवाको खर्च सोही सम्झौताभित्रको रकमबाट गर्नुपर्नेमा छुट्टै बजेटबाट खर्च गरिएको पाइएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ । यसका लागि लागत अस्वाभाविक रूपमा बढाएर खरिद प्रक्रिया अघि बढाइएको आरोप लगाइएको छ । प्राधिकरण, ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीबीच मिलेमतोमा सम्झौताको सर्त विपरीत काम गरी रकम दुरुपयोग गरिएको निष्कर्ष निकालिएको छ । परामर्श सेवाका लागि छुट्याइएको रकम घटाएर अन्य शीर्षकमा खर्च गर्ने योजना बनाइएको समेत उल्लेख गरिएको छ । यस क्रममा परामर्शदाता कम्पनीसँग करिब ४२ करोड रुपैयाँको सम्झौता गरी हालसम्म ४० करोडभन्दा बढी रकम भुक्तानी गरिएको र थप रकमसमेत अनियमित रूपमा खर्च गरिएको पाइएको अख्तियारले जनाएको छ । अनुसन्धानले कुल करिब ४६ करोड रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग भएको देखाएको छ। उक्त कार्य भ्रष्टाचारजन्य कसुर ठहर गर्दै सम्बन्धित सबै प्रतिवादीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
१२- चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूमा तेल, मसला, कपडा र कार्पेट मुख्य रूपमा रहेका छन् । सूचीअनुसार सबैभन्दा धेरै निर्यात सोयाबिन तेलको रहेको छ । सो अवधिमा ३६ करोड ६५ लाख २७ हजार ५६८ किलोग्राम सोयाबिन तेल भारत निर्यात हुँदा यसको मूल्य ७५ अर्ब ७७ करोड ४१ लाखको निर्यात भएको छ । त्यसैगरी ठूलो अलैँची ४६ लाख ५ हजार १५० किलोग्राम भारतमा ९ अर्ब ४९ करोड ६१ लाखको निर्यात भएको छ । त्यसैगरी सूर्यमुखी तथा कुसुम तेल ५ करोड ६९ लाख ८ हजार ९७४ लिटर भारतमा ६ अर्ब २० करोड २३ लाख बराबरको निर्यात भएको छ भने जुट तथा अन्य रेशा सम्बन्धी कपडा ६ करोड ९१ लाख ५२ हजार १४७ वर्ग मिटर भारतमा ४ अर्ब ३५ करोड ५४ लाख बराबरको निर्यात भएको छ । यसैगरी पाम तेल २ करोड १२ लाख २३ हजार १३३ लिटर भारतमा ४ अर्ब ३२ करोड ३८ लाख बराबरको निर्यात भएको छ । त्यस्तै ऊन वा जनावरको रौँबाट बनेका कार्पेट १ लाख २५ हजार ८१६ वर्ग मिटर अमेरिकामा ४ अर्ब १५ करोड ४० लाख बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ । त्यस्तै नेपालबाट पोलिस्टर धागो १ करोड ४८ लाख ९५ हजार ४३३ किलोग्राम भारतमा ३ अर्ब १६ करोड १५ लाख बराबरको निर्यात भएको छ बहने जुसको मिश्रण ३ करोड ४५ लाख १ हजार २५२ लिटर भारतमा ३ अर्ब ४ करोड बराबरको निर्यात भएको छ । त्यसैगरी अन्य प्रकारका धागो १ करोड १ लाख ८४ हजार १६४ किलोग्राम भारतमा २ अर्ब ६२ करोड ४८ लाख बराबरको निर्यात भएको छ भने सिंथेटिक फाइबरबाट बनेका कपडा ३० करोड ७१ लाख ७८ हजार ७९४ वर्ग मिटर भारतमा २ अर्ब ३६ करोड १२ करोड बराबर निर्यात भएको विभागले जनाएको छ । यस अवधिमा भारत नेपालका लागि प्रमुख निर्यात गन्तव्य बनेको छ भने अमेरिका पनि कार्पेटका लागि महत्त्वपूर्ण बजारका रूपमा देखिएको छ । विभागका अनुसार चालु आर्थिक बर्षको आठ महिनामा एक खर्ब ९१ अर्ब ११ करोड २० लाख ३० हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा एक खर्बं ५८ अर्ब १७ करोड २४ लाख बराबरको निर्यात भएको थियो ।
१३- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापारमा आयात १२.५४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो आठ महिनामा आयात १२.५४ प्रतिशत बढेको छ भने निर्यात २०.८३ प्रतिशतले बढेको छ । रिपोर्ट अनुसार आठ महिनमा १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख ३१ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख बराबरको आयात भएको थियो । यस्तै यस आर्थिक बर्षको आठ महिनामा एक खर्ब ९१ अर्ब ११ करोड २० लाख ३० हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा एक खर्बं ५८ अर्ब १७ करोड २४ लाख बराबरको निर्यात भएको थियो । यस आर्थिक बर्षको आठ महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा बढेर ११.२२ प्रतिशत पुगेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको आठ महिनामा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ९ खर्ब ८७ अर्ब ३९ करोड रहेको थियो । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको आठ महिनामा कुल वैदेशिक व्यापार १३.५५ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड पुगेको छ, जबकी अघिल्लो बर्षको पहिलो आठ महिनामा कुल बैदेशिक व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड रहेको थियो । त्यसैगरी आठ महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष ७.२४ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.४१ गुणामा झरेको छ । यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो आठ महिनामा ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख रूपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ ।

१४- इरानसँगको युद्धका कारण श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य फेरि बढाइएको छ । पछिल्ला दुई सातामै दोस्रो पटक मूल्य वृद्धि गरिएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ३९८ श्रीलंकन रुपैयाँ पुगेको छ, जुन पहिले ३१७ रुपैयाँ थियो। त्यसैगरी डिजेलको मूल्य पनि बढेर प्रतिलिटर ३८२ रुपैयाँ पुगेको छ । सरकारले इन्धनको खपत घटाउन मूल्य बढाइएको जनाएको छ । श्रीलंकाका राष्ट्रपति अनुर कुमारा दिसानायकेले मध्यपूर्वमा जारी लामो युद्धका कारण तेल आपूर्तिमा असर पर्न सक्ने भएकाले देशलाई पहिले नै तयारी अवस्थामा राख्न यस्तो निर्णय लिएको बताएका छन् । इरानसँगको युद्धका कारण उत्पन्न इन्धन संकटले श्रीलंकाका अत्यावश्यक सेवामा दबाब बढ्न थालेको छ । स्वास्थ्यकर्मीहरूले इन्धन अभाव समाधान नभए केही दिनमै अस्पताल सेवा प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । डाक्टर र जनस्वास्थ्य निरीक्षकहरूले सीमित इन्धन कोटा र लामो लाइनका कारण काममा जान समस्या भइरहेको बताएका छन्। यसले उपचार सेवा र रोग नियन्त्रण अभियानमा असर पर्ने चिन्ता बढाएको छ । त्यस्तै खाद्य आपूर्ति प्रणाली पनि दबाबमा परेको छ । ढुवानी सेवा र कन्टेनर ट्रकका लागि आवश्यक इन्धन व्यवस्थापन गर्न सरकारले तथ्यांकमा आधारित योजना सुरु गरेको जनाएको छ । इन्धन बचतका लागि सरकारले बुधबार सार्वजनिक बिदा दिने र घरबाटै काम गर्ने व्यवस्था लागू गर्ने तयारी पनि गरेको छ । पर्यटन क्षेत्रमा पनि यसको असर देखिएको छ । मध्यपूर्वका उडान केन्द्रमा समस्या आएपछि मार्चको सुरुवातमा पर्यटक आगमन २५ प्रतिशतले घटेको छ । यद्यपि सन् २०२६ को कुल आगमन भने अघिल्लो वर्षभन्दा अझै बढी रहेको छ । पर्यटन व्यवसाय जोगाउन सरकारले होटल, रेस्टुरेन्ट र पर्यटन व्यवसायीलाई प्राथमिकताका साथ इन्धन उपलब्ध गराउने तथा खाना पकाउने ग्यास आपूर्ति नरोकिने व्यवस्था गरेको छ । यस्ता चुनौतीबीच पनि श्रीलंकाको समग्र आर्थिक अवस्था भने स्थिर देखिएको छ । विदेशी मुद्रा सञ्चिति ७ अर्ब डलरभन्दा माथि रहेको, महँगी कम रहेको र आर्थिक वृद्धि दर करिब ५ प्रतिशत रहेको जनाइएको छ। तर बाह्य असरको जोखिम अझै उच्च रहेको चेतावनी दिइएको छ । इन्धन आपूर्ति सुनिश्चित गर्न श्रीलंकाले भारत, चीन, रुस र अमेरिकासँग वैकल्पिक स्रोतका लागि वार्ता तीव्र बनाएको छ। केही ग्यास आयात अमेरिकाबाट सुरु भइसकेको छ भने भारतले आपतकालीन सहयोगमा सकारात्मक प्रतिक्रिया दिएको छ । सरकारले ऊर्जा आपूर्ति, सार्वजनिक सेवा, खाद्य वितरण र सामाजिक सुरक्षाका लागि चार वटा विशेष समिति गठन गरेर विभिन्न सम्भावित अवस्थालाई ध्यानमा राखी तयारी गरिरहेको जनाएको छ । अधिकारीहरूले सन् २०२२ को संकटभन्दा अहिले देश बढी तयार रहेको दाबी गरे पनि अवस्था अझै अनिश्चित छ । इन्धन ढुवानी ढिलाइ, बढ्दो मूल्य र आपूर्ति अवरोधले आगामी दिनमा थप चुनौती ल्याउन सक्ने देखिएको छ ।

१५- बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ । फिल्मले तीन दिनमा ३२६ करोड भारु कमाई गरेको छ । फिल्मले रिलिजको तेस्रो दिन शनिबार भारतभर १०५ करोड कमाई गरेसँगै तीन दिनमा ३२६ करोड कमाएको हो । फिल्मले पेड रिभ्युमा ४३ करोड कमाएको थियो भने रिलिजको पहिलो दिन ९९.१ करोड र दोस्रो दिन ७८.९ करोड भारु कमाएको थियो । धुरन्धर- २ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो । धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य आजपनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको १२ हजार ५ सयले घटेर तोलाको २ लाख ८२ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५५ रुपैयाँले घटेर ४५४० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४८९५ मा कारोबार भएको थियो ।
१७- दक्षिण कोरियाको सियोल सहर शनिबार बैजनी रंगले ढाकिएको देखियो । सहरका मुख्य स्थान, ठूला पर्दा, पोस्टर, कपडा र नदीमाथिको ड्रोन बत्तीसमेत एउटै रंगमा झल्किएका थिए । यो उत्साह विश्व चर्चित के पप समूह बिटीएसको पुनरागमनका कारण थियो । अनिवार्य सैनिक सेवाका कारण तीन वर्षभन्दा बढी समय विश्राममा रहेको समूह फेरि मञ्चमा फर्किएको हो । कार्यक्रम सुरु हुनु अघि नै हजारौँ दर्शक सियोलको ग्वाङह्वामुन क्षेत्रमा जम्मा भइसकेका थिए । समूहका सदस्यहरू मञ्चमा नआउँदै पनि वातावरण गीत, नाराबाजी र उज्याला बत्तीले भरिएको थियो । कन्सर्टमा २२ हजार भाग्यमानी दर्शकलाई नि: शुल्क प्रवेश दिइएको थियो । साँझ पर्दै जाँदा भीडले सातै सदस्यको नाम गुन्जायो । त्यसपछि परम्परागत घण्टीको ध्वनिसँगै नयाँ एल्बमको प्रस्तुति सुरु भयो र केहीबेरमै सदस्यहरू मञ्चमा देखा परे। समूहका नेताले दर्शकलाई अभिवादन गर्दै ‘हामी फर्कियौँ’ भन्ने सन्देश दिएका थिए । कार्यक्रममा नयाँ गीतसँगै पुराना चर्चित गीतहरू पनि प्रस्तुत गरिए, जसले दर्शकलाई अझ उत्साहित बनायो । हजारौँ दर्शकले एकसाथ गीत गाएर माहोल झनै रोमाञ्चक बनेको थियो । यस ऐतिहासिक स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएकोमा केहीले आलोचना पनि गरेका छन् । ठूलो संख्यामा सुरक्षा बल परिचालन र सार्वजनिक स्थान प्रयोगबारे प्रश्न उठाइए पनि सरकारले भने यसलाई देशको प्रतिष्ठासँग जोडिएको महत्त्वपूर्ण अवसर बताएको छ । बिटीएस सन् २०१३ देखि विश्वभर चर्चित बन्दै आएको समूह हो । उनीहरूले संगीतसँगै आफ्नो देशको पहिचान विश्वमाझ फैलाउन ठूलो भूमिका खेलेका छन् । कार्यक्रम हेर्नका लागि हजारौँ विदेशी दर्शक पनि सियोल पुगेका थिए। धेरैले वर्षौँको प्रतीक्षा पछि यो क्षण पाएको भन्दै खुशी व्यक्त गरेका छन् । अन्त्यमा उज्याला बत्तीले भरिएको भीडबीच कार्यक्रम समापन भयो । अब समूहले विश्व भ्रमणको तयारी गरिरहेको छ, जसअन्तर्गत दर्जनौँ सहरमा कार्यक्रम गर्ने योजना रहेको छ ।

१८- इजरायलको अराद सहरमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा घाइते हुनेको संख्या ८९ पुगेको छ। तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । इजरायलको आपतकालीन सेवा म्यागेन डेविड एडोमका अनुसार आवासीय क्षेत्रमा क्षेप्यास्त्र खस्दा ठूलो क्षति भएको हो । आक्रमणपछि धेरै सर्वसाधारण घाइते भएका छन् भने उद्धार टोलीले सबैलाई अस्पताल पुर्याएको छ। प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको छ । यस घटनापछि इजरायलको डिमोना क्षेत्रसहित दक्षिणी भागमा सुरक्षा कडा बनाइएको छ । गृह मोर्चा कमाण्डले दक्षिण क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने ५० जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन रोक लगाइएको छ । स्थानीय प्रसारण संस्थाका अनुसार नेगेभ, लाकिश र मृत सागर आसपासका क्षेत्रमा यी प्रतिबन्ध लागू गरिएको हो । क्षेप्यास्त्र आक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको बताइएको छ । ठूला कार्यक्रम सञ्चालन गर्दा पनि चेतावनी आएलगत्तै सुरक्षित स्थानमा पुग्न सकिने व्यवस्था अनिवार्य गरिएको छ । यसअघि नै शिक्षा मन्त्रालयले सोमबार देशभरका विद्यालय र कक्षा बन्द रहने घोषणा गरिसकेको छ ।
१९- पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । प्रहरीका अनुसार जिल्लाको माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको हो । यसअघि दुर्घटनामा अर्घाखाँचीको शीतगङ्गा–४ सिद्धाराका २६ वर्षीय चालक चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको ज्यान गएको थियो। घाइतेहरूलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको थियो, जहाँ तीन जनालाई चिकित्सकले मृत घोषणा गरिएको थियो । गम्भीर घाइते राजन चिदीलाई थप उपचारका लागि भैरहवा पठाइएकोमा उनको पनि उपचारकै क्रममा निधन भएको हो । शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब सय मिटर तल खसेको थियो । प्रहरीले दुर्घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

२०-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले ४८ घण्टाभित्र होर्मुज जलडमरूलाई पूर्ण रूपमा सुरक्षित र खुला नगरिएमा इरानका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सन्देश दिँदै तोकिएको समयभित्र मार्ग नखुले अमेरिकाले इरानका विभिन्न विद्युत् केन्द्रलाई निशाना बनाउने र सबैभन्दा ठूलो केन्द्रबाट आक्रमण सुरु गरिने चेतावनी दिएका हुन् । यसैबीच इरानले पनि कडा प्रतिक्रिया दिएको छ । इरानी सेनाले आफ्ना विद्युत् केन्द्रमा आक्रमण भए मध्यपूर्व क्षेत्रमा अमेरिका र इजरायलसँग सम्बन्धित ऊर्जा संरचनामाथि प्रतिकार गर्ने चेतावनी दिएको हो । इरानको खातम अल अनबिया केन्द्रीय कमाण्डका प्रवक्ता इब्राहिम जुल्फाघारीले समुद्री पानीलाई मीठो बनाउने प्लान्ट र सूचना प्रविधि संरचनासमेत निशानामा पर्ने बताएका छन् । अहिलेसम्म भने विश्व अर्थतन्त्रमा असर पर्ने चिन्ताका कारण अमेरिकाले इरानका ऊर्जा संरचनामाथि प्रत्यक्ष आक्रमण गर्नबाट जोगिँदै आएको छ ।
#Top20News #NepalNews #DailyBulletin #BreakingNews #CurrentAffairs #NewsUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



