

शीतगंगा नगरपालिका–५ स्थित शुधा माध्यमिक बिध्यालयको दयनीय अवस्था: जनप्रतिनिधिको बेवास्ता र राजनीतिक हस्तक्षेपप्रति स्थानीयवासीको कडा आपत्ति
-अर्घाखाँची डट्कम ,सम्वाददाता।
शीतगंगा – शीतगंगा नगरपालिका वडा नम्बर ५ मा अवस्थित शुधा माध्यमिक बिध्यालयको अवस्था अत्यन्त दयनीय रहेको भन्दै स्थानीयवासीहरूले गम्भीर आपत्ति जनाएका छन्। विद्यालयको मुख्य प्रवेशद्वार (गेट) कै जीर्ण अवस्था देखेर एक स्थानीय महिलाको पहलमा गेटलाई रङरोगन गर्ने काम सम्पन्न भए पनि विद्यालय भित्रको समग्र अवस्था भने अझै सुधार हुन सकेको छैन।

स्थानीयका अनुसार विद्यालयको प्राङ्गण भित्र वर्षौँदेखि अव्यवस्थित रूपमा निर्माण सामग्री थुपारिएको छ भने माटोका ढिस्काहरूले विद्यालय परिसर नै बिग्रिएको अवस्था छ। विद्यार्थीहरूले प्रयोग गर्ने ठाउँ नै असुरक्षित र अव्यवस्थित बनेको भन्दै अभिभावकहरू आक्रोशित भएका छन्।

स्थानीयवासीहरूले जनाए अनुसार, विद्यालयको अवस्था सुधारका विषयमा कुनै चासो नदेखाउने जनप्रतिनिधिहरू विद्यालय व्यवस्थापन समिति गठन गर्ने बेला भने राजनीतिक भागबन्डाको लागि सक्रिय हुने गरेका छन्। “विद्यालयको सुधारका काममा कसैले ध्यान दिँदैनन्, तर समिति गठन गर्दा आफ्नो पार्टीको मान्छे हुनुपर्छ भन्दै सबै जनप्रतिनिधि आउँछन्,” एक स्थानीयवासीले बताएका छन्।
विद्यालय भित्र रहेको अव्यवस्थित निर्माण सामग्री हटाउने, प्राङ्गण व्यवस्थापन गर्ने, तथा आवश्यक सुधारका कामहरू सुरु गर्ने विषयमा सम्बन्धित निकायले हालसम्म कुनै ठोस पहल नगरेको आरोप स्थानीयवासीहरूले लगाएका छन्। यसले बालबालिकाको शिक्षामाथि प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ।

यस सम्बन्धमा हाम्रा शीतगंगा स्थित सहकर्मी मोहन अधिकारीले विद्यालयको वर्तमान अवस्थाबारे जानकारी दिँदै तत्काल सुधार आवश्यक रहेको बताएका छन्।

स्थानीय अभिभावक तथा समुदायले विद्यालयलाई राजनीतिक थलो बनाउने प्रवृत्ति तत्काल रोक्न माग गरेका छन्। उनीहरूले शीतगंगा नगरपालिका तथा सम्बन्धित जनप्रतिनिधिहरूलाई विद्यालयको अवस्थाप्रति गम्भीर बन्न, राजनीतिक हस्तक्षेप रोक्न र तुरुन्त सुधारका कामहरू सुरु गर्न कडा चेतावनीसमेत दिएका छन्।
विद्यालयको जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक भागबन्डा र बेवास्ता जारी रहेमा यसविरुद्ध थप कडा कदम चालिने स्थानीयवासीहरूले बताएका छन्।
#शीतगंगा #शुधामावि #दयनीयअवस्था #जनप्रतिनिधिकोबेवास्ता #राजनीतिकहस्तक्षेप #स्थानीयवासीकोआपत्ति #शिक्षामाथिखेलवाड #विद्यालयसुधार #अभिभावकआक्रोश #बालबालिकाकोसुरक्षा #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchicomHD



