आज विश्व क्षयरोग दिवस मनाइँदै

 

आज विश्व क्षयरोग दिवस मनाइँदै छ । क्षयरोग दिवस हरेक वर्ष मार्च २४ का दिन मनाउने गरिन्छ ।  क्षयरोग अर्थात् टिबी ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । क्षयरोगलाई रोकथाम तथा उपचार गर्न सकिने भए पनि यो रोग प्रमुख जनस्वास्थ्य समस्याहरूमध्ये एक जटिल समस्या हो ।

यस बर्षको विश्व क्षयरोग दिवसको आधिकारिक विषयवस्तु ‘हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं: जनताको शक्तिले, देशहरूको नेतृत्वमा।’ भन्ने रहेको छ । यो विषयवस्तुले देशस्तरीय नेतृत्व, समुदायको संलग्नता र प्रभावित व्यक्तिहरू, स्वास्थ्यकर्मीहरू र नवप्रवर्तकहरूको शक्ति मार्फत विश्वव्यापी क्षयरोग महामारी अन्त्य गर्ने जागरुकतालाई दर्शाउछ ।

क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाछियु गर्दा, थुक्दा यसका जीवाणुहरू निस्कन्छन् र हावाको माध्यमबाट अरू निरोगी व्यक्तिहरूमा समेत सर्ने गर्दछन् । क्षयरोगका जीवाणुले शरीरको फोक्सोमा बढी असर गर्दछ तर जीवाणुले शरीरका अन्य अंगमा पनि असर गर्न सक्दछ ।

यो रोग लाग्दा लामो समय सम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुका साथै तौल पनि कम हुँदै जाने लक्षण देखा पर्दछन् । समयमै रोगको पहिचान हुन सकेमा औषधी सेवनबाट यो रोग निको चिकित्सकहरूको भनाइ छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र हाल नेपालमा ४० हजार सात सय ७६ जना क्षयरोगी बिरामी उपचाररत रहेका छन् । नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको तथ्याङ्क छ । क्षयरोगी बिरामीहरूमा पुरुषको सङ्ख्या ६१ प्रतिशत तथा महिलाको सङ्ख्या ३९ प्रतिशत रहेको छ । पछिल्लो समय १४ वर्षमुनिका बालबालिकाहरूमा समेत क्षयरोगको सङ्क्रमण बढ्दै गएको छ ।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । क्षयरोग मानव जातिमा देखा परेका विभिन्न रोगहरुमध्ये सबैभन्दा पुरानो रोगमध्येमा पर्दछ । सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । यसपछि मात्र यो रोगकाबारे जनचासो बढेको र वैज्ञानिकहरूले थप अनुसन्धान गरेको पाइन्छ । यो रोग श्वासप्रश्वासको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्ने रोगको रुपमा परिभाषित छ । त्यसैले हालसम्म यसैलाई आधार मानेर यसको पहिचान निदान र उपचार भइरहेको छ ।

#WorldTBDay2026 #EndTB #TBFree #NepalHealth #March24 #ArghakhanchiCom #ArghakhanchiHD

Nepal life insuranceimagesimagesimages