ट्रम्पद्वारा इरानसँग हर्मुज जलसन्धिको संयुक्त नियन्त्रणको प्रश्ताव

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार वासिङ्टन र इरानबीच सप्ताहन्तमा भएको वार्तामा सहमतिमा मुख्य बुँदाहरू फेला परेको बताउनुभएको छ ।  आईतवार अबेर रातिसम्म चलेको उक्त वार्तापछि उहाँले हर्मुज जलसन्धिलाई संयुक्त रूपमा नियन्त्रण गर्न सकिने सुझाव दिनुभएको हो । उहाँले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नर पनि उक्त वार्तामा सहभागी भएको जानकारी दिनुभयो ।

राष्ट्रपति ट्रम्पले इरानले नै वार्ताको पहल गरेको दाबी गर्दै यदि वार्ता सहज रूपमा अघि बढेमा इरानसँगको अमेरिका–इजरायल युद्ध अन्त्य हुने र हर्मुज जलसन्धि चाँडै खुल्ने बताउनु भयो । के इरानले अझै पनि उक्त महत्वपूर्ण जलमार्ग नियन्त्रण गर्नसक्छ भन्ने प्रश्नमा ट्रम्पले यो संयुक्त रूपमा नियन्त्रण हुने जवाफ दिनुभयो ।

यद्यपि ट्रम्पले अमेरिकासँगको छलफलमा संलग्न इरानी वार्ताकारको पहिचान खुलाउन अस्वीकार गर्नुभयो । उहाँले वासिङ्टनले इरानका एक उच्च पदस्थ व्यक्तिसँग कुरा गरिरहेको तर ती व्यक्ति इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी भने नभएको स्पष्ट पार्नुभयो । अमेरिकी र इजरायली सञ्चारमाध्यमकाअनुसार विटकफ र कुश्नरले इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफसँग वार्ता गरिरहेका छन् ।

तर इरानको तस्निम न्युज एजेन्सीले भने यस्ता रिपोर्टहरूको खण्डन गरेको छ । ट्रम्पले इरानभित्र सत्ता परिवर्तनको एक अत्यन्त गम्भीर स्वरूप देखिने संकेत पनि गर्नुभयो । यसअघि सोमबार ट्रम्पले अमेरिकी सञ्चारमाध्यमहरूलाई अमेरिका इरानसँग सम्झौता गर्न निकै इच्छुक रहेको र इरान पनि सम्झौताका लागि आतुर रहेको दाबी गर्नुभएको थियो ।

उहाँले सामाजिक सञ्जालमा पनि अमेरिका र इरानबीच विगत दुई दिनमा धेरै राम्रो र फलदायी वार्ता भएको लेख्दै इरानी ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएको अमेरिकी आक्रमण स्थगित गरिएको घोषणा गर्नुभयो । इरानले भने यस्तो वार्ता भएको कुरालाई अस्वीकार गरेको छ । उसले ट्रम्पको यस कदमलाई ऊर्जाको मूल्य घटाउने र आफ्नो सैन्य योजनाका लागि समय खरिद गर्ने प्रयासको रूपमा वर्णन गरेको छ ।

#Trump #HormuzStrait #Iran #JointControl #USAIranTalks #GeopoliticalUpdate #MiddleEastCrisis #ArghakhanchiCom #ArghakhanchiHD

Nepal life insuranceimagesimagesimages