

अन्तर्वार्ताः सोमनाथ सापकोटा,प्रवक्ता, गैरआवासीय नेपाली संघ
गैरआवासीय नेपाली संघ (एनआरएनए) लामो समयदेखिको आन्तरिक विवाद, विभाजनपछि पुनः एकतामा फर्किएको छ । हालै सम्पन्न संघको १२ औँ महाधिवेशनलाई ‘वृहत एकताको महाधिवेशन’ का रूपमा चित्रित गरिएको छ, यसले विगतका मतभेदलाई अन्त्य गर्दै साझा लक्ष्य र उद्देश्यतर्फ अघि बढ्ने सन्देश दिएको छ । उक्त महाधिवेशनले डा. हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । विश्वभर फैलिएको नेपाली डायस्पोराको प्रतिनिधित्व गर्ने यस संस्थाले नेपालको आर्थिक, सामाजिक तथा नीतिगत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

संघले नेपाल सरकारसंग नागरिकता, लगानी र संस्थागत सुधारका मुद्दाहरु समाधान गर्न माग गर्दै आएको छ । बदलिँदो राजनीतिक परिवेश, नयाँ पुस्ताको उदय तथा डायस्पोराको बढ्दो भुमिकाका बीच एनआरएनएले आगामी दिनमा कस्तो कार्यदिशा लिन्छ भन्ने विषय अहिले चासोको केन्द्रमा छ । यिनै सन्दर्भहरूमा केन्द्रित रहेर गैरआवासीय नेपाली संघका प्रवक्ता सोमनाथ सापकोटासँग समसामयिक विषयमा विस्तृत कुराकानी । प्रश्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः
प्रश्नः एनआरएनएको बाह्रौं महाधिवेशन भर्खरै सम्पन्न भएको छ, यस पटकको महाधिवेशनलाई तपाईंहरूले ‘वृहत एकताको महाधिवेशन’ भन्नुभएको छ, विगतका विवादहरूलाई सम्झिँदा, यो एकताको आधार के हो र यो महाधिवेशन किन ऐतिहासिक छ ?
जवाफः १५–१६ वर्षसम्म गैरआवासीय नेपाली संघ एउटा भावनात्मक रूपले अगाडि बढ्दै आयो । हामीले अपेक्षा गरेभन्दा पनि अत्यन्तै छिटो यो संगठनलाई संसारभर रहेका नेपाली डायस्पोरालाई संगठित गर्दै डायनामिक अर्गनाइजेसनको रुपमा स्थापना ग¥यौं । हामीले भावनात्मक रूपमा संगठनलाई अगाडि बढायौं, यसमा सदस्यहरूको संख्या बढ्दै गयो, देशहरूको संख्या थपिँदै गयो र यो लोकप्रिय संगठन बन्यो । लोकप्रिय संगठन बनिसकेपछि दशौं महाधिवेशनमा नेतृत्वका लागि केही होडबाजीहरू चले । दशौं महाधिवेशनमा प्रतिनिधि छनोटको विषयले विवाद लियो र त्यसपश्चात हामीमा केही असहज परिस्थितिहरू आए । तर अब अहिले त्यो परिस्थिति रहेन, म त्यो विगतलाई धेरै सम्झिन चाहन्न । दशौं महाधिवेशन पश्चात हामी फरक–फरक धारमा उभियौं । एघारौं महाधिवेशन पनि विवादरहित हुन सकेन । १२ औं महाधिवेशनका लागि भने हामीले चार वर्षमा विभिन्न प्रयासहरू ग¥यौँ । यो चार वर्षमा हामीले एकतावद्ध नहुँदा संगठनको गरिमा के हुन्छ ? हामी के का लागि हामी जोडिएका थियौं ? हामी कहाँ छौं भन्ने सबैले बुझ्यौं । त्यसलाई बुझेर हामी संगठनलाई एकत्रित गर्न एकजुट भयौँ । यसमा सरकारको पनि सहयोग रह्यो । विशेषगरी नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु । पूर्वअध्यक्षज्युहरूको अत्यन्तै अनुकरणीय भुमिका रह्यो । हामी सबै पनि जिम्मेवार बन्यौं । सबैजना मिलेर यो बाह्रौं महाधिवेशन सम्पन्न भयो, यो अत्यन्तै ऐतिहासिक भयो । यसले फरक–फरक धारमा रहेका, फरक विचार लिएर अगाडि बढेका, मनमुटाव भएका र केही सानातिना रहेका इगोहरू पनि समापन गरेर वृहत एकताको बाह्रौं महाधिवेशन सम्पन्न भएको छ ।
प्रश्नः महाधिवेशनले ठूलो टिम चयन गरेको छ, धेरैलाई पदहरू बाँडिएको देखिन्छ, यो भागबण्डा मात्रै होइन र, यो जम्बो टिम कार्यसम्पादनका हिसाबले कत्तिको प्रभावकारी होला ?
जवाफः यसमा म प्रष्ट पार्न चाहन्छु । हामी चारवटा समूहमा थियौं, त्यो समूहबाट सबैलाई एकै ठाउँमा ल्याएर सक्षम संगठन बनाउनुपर्ने थियो, त्यही अनुसार सबैलाई समेट्नको लागि ठूलो समिति बनाएका छोँ । अध्यक्ष, महासचिव लगायतका कार्यकारी पदहरुमा एक जना मात्रै हुनुहुन्छ, धेरै जना सदस्य हुने पदहरुमा भने इच्छाएका साथीहरू सबैलाई समाहित गरेर अगाडि बढेका छौँ । यो समाजिक संस्था हो, यसमा जोडिन चाहनेहरुलाई हामीले अवसर दिनुपर्छ । क्षमतावान साथीहरुलाई उहाँहरुले इच्छा देखाएको ठाउँमा काम गर्ने मौका दिइएको छ । सबै साथीहरूले काम गर्न सक्नुहुन्छ । संगठनमा अहिले सामान्य रूपमा हेर्दा ठुलो टिम जस्तो देखिएपनि यो ठूलो टिम हो भन्ने होइन । चार वर्षसम्म हामीले एनआरएनएलाई जसरी लानुपथ्र्यो लान सकेनौं, त्यसलाई रिकभर गर्नलाई यो संख्या आवश्यक थियो । त्यहीअनुसार टिम बनेको छ । अब गैरआवासीय नेपाली संघ फेरि २००३ मा फर्किएको छ । जुन उत्साह, उमङ्ग २००३ देखि थियो, आज हामी त्यही ठाउँमा पुगेका छौँ । तीन दिनको विश्व सम्मेलन र त्यसपछिको बैठक र हाम्रा पूर्वअध्यक्षलगायतका साथीहरूको उपस्थिति, उहाँहरूको फिडब्याकले एनआरएनएको फेरि जन्म भएको छ भन्ने मलाई लाग्छ । यो संगठनलाई सरकारले अत्यन्तै अपेक्षा गरेको छ, नेपालको वान–थर्ड जनसंख्या नेपालभन्दा बाहिर छ, त्यो अत्यन्तै देशलाई चाहिने जनसंख्या, जनशक्ति हो । त्यो बाहिर रहेको जनशक्तिलाई नेपालको विकासका लागि प्रयोग गर्नका लागि यो संगठन एउटा ट्रस्टेड ब्रिजको रूपमा अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता छ । त्यसैले हाम्रा व्यक्तिगत कुरालाई त्यागेर संगठनको एकताका लागि हामी सबैले प्रयास गरेका हौँ । विगतमा कमीकमजोरीहरूलाई बिर्सेर अब एनआरएनएले नयाँ बाटो लिन्छ । हामीसँग भएको रिसोर्स र अनुभवलाई प्रयोग गरेर नयाँ नेपालको निर्माणमा हामी सहभागी हुन चाहन्छौं । हाम्रा केही समस्याहरु छन्, सरकारसँग हामी अनुरोध गर्न चाहन्छौं, यी सामान्य समस्याहरुलाई समाधान गरेर हामी एक पटकको नेपाली सधैंको नेपाली भएर यो समृद्ध नेपाल निर्माण गर्ने अभियानमा जोडिन चाहन्छौं ।

प्रश्नः नेपालको बदलिँदो राजनीतिक परिवेश र विशेषगरी ‘जेन–जी’ आन्दोपश्चात नयाँ पुस्ताको उदयले एनआरएनएलाई कस्तो सन्देश दिएको छ, तपाईंहरूले यसलाई कसरी हेर्नुभएको छ ?
जवाफः नेपालको परिवर्तनले गैरआवासीय नेपाली संघलाई एकतावद्ध ल्याउनको लागि सहज बनाएको हामीले महसुस गरेका छौँ । आज गैरआवासीय नेपाली संघ जुन ठाउँमा छ, त्यो ठाउँमा ल्याउनका लागि जेन–जी आन्दोलनपछिको परिवेशले हामीलाई अत्यन्तै सहज बनायो । हामी लामो समयसम्म नेपालमा बसेर विश्वका विभिन्न देशमा अवसरको खोजीमा गएका हौँ । हामी कहीँ कहीँ राजनीतिक दलसँग पनि आवद्ध थियौँ । गैरआवासीय नेपाली संघ गैर–राजनीतिक संगठन भएपनि नेतृत्वमा बस्ने हामी सबैजना कहीँ न कहीँ राजनीतिक दलसँग सँगै थियौं । राजनीतिक दलहरु पनि पोटेन्सियल डायस्पोरालाई आफ्नो लिंकेजमा राख्न चाहिरहन्थे । राजनीतिक दल मात्र होइन, हामी पनि त्योसँगसँगै रह्यौं । त्यसले संघमा दलिय हाबी भयो र गैरआवासीय नेपाली संघमा विभाजन आयो । विभाजन पछि हामीले चार वर्ष भोग्यौं, जेन–जी आन्दोलनपछि भने हामी सबैलाई एकत्रित हुन सहयोग ग¥यो ।
नेपालमा जसरी परिवर्तन भएको छ, ठ्याक्कै हाम्रो अभियानमा पनि त्यही खालको परिवर्तन भएको छ । हामीले जुन तरिकाले संगठन चलाउँदै आएका थियौँ, अब त्यसरी हुँदैन भन्नेमा हामी सहमत छौं । हामीले केही परिवर्तन पनि गरेका छौँ, नेतृत्वमा पनि त्यो खालको परिवर्तन आइसकेको छ । आगामी नेतृत्व अझै फरक तरिकाले जान्छ भन्नेमा हामी प्रष्ट छौँ । त्यसैले म फेरि पनि के भन्न चाहन्छु, जेन–जी आन्दोलनले नेपाल मात्र होइन, हामी गैरआवासीय नेपाली संघ र हामी नेतृत्वकर्ताहरूलाई पनि सजग रहन र जुन समस्या उठ्छन्, त्यसको समाधानका लागि हामी समयमै संयमित हुनुपर्छ भन्ने सिकाएको छ । यो दोस्रो जेनेरेसन जुन छ, त्यो हाम्रो पुस्ताभन्दा अलि फरक खालको छ । त्यसको संलग्नता, त्योसँग भएको टेक्नोलोजी, त्योसँग भएको अनुभवलाई प्रयोग गर्न सकियो भने सबै कुराको परिवर्तन हाम्रै पालामा सम्भव छ । हाम्रो महाधिवेशनपछिको विस्तारित बैठकले पनि त्यो कुरालाई अनुमोदन गरेको छ । दोस्रो पुस्तालाई बढी सहभागिता गराउने कुरामा हामीले छलफल गरेका छौँ । सेकेण्ड जेनेरेसनको एउटा डिपार्टमेण्ट नै बनाएर उहाँहरूलाई अझै नेपालसँग जोड्ने, उहाँहरूसँग भएको अनुभव, उहाँहरूको स्पिरिटलाईसँगै लाने हाम्रो योजना छ । अहिलेको नेतृत्वमा पनि धेरै नयाँ साथीहरू आउनुभएको छ, उहाँहरूलाई हामी अझै यो अभियानमा सहयोग गर्ने, नयाँ तरिकाबाट संगठनलाई ड्राइभ गर्ने योजना छ । मलाई लाग्छ, अबको तेह्रौं महाधिवेशनमा हामी ५० वर्ष कटेका व्यक्तिहरु गैरआवासीय नेपालीहरूको नेतृत्वको भूमिकामा कम हुन्छौँ ।
प्रश्नः तपाईं आफैँले भन्नुभयो, विगतमा दलीय राजनीतिका कारण संस्था फुट्यो, अहिले तपाई नेतृत्वमा बस्नेहरू पनि कुनै न कुनै दलसँग निकट हुनुहुन्छ, तर राजनीतिलाई एनआरएनएबाट पूर्णरूपमा अलग गर्ने पनि भन्नुभएको छ, के यो सम्भव छ ?
जवाफः अब, यसलाई हामीले यसरी हेरौँ, प्रवासमा हामी सबै अवसरका लागि गएका हौं, हामीसँग अत्यन्तै छोटो समय छ । एउटा व्यक्ति विभिन्न जिम्मेवारीमा रहँदै गर्दा हाम्रा दैनिक जीवनसँग जोडिएका, व्यवसायसँग जोडिएका विषयहरू छन् । एकजना व्यक्ति दुई वटा पोजिसनमा अथवा दुई वटा संगठनमा भयो भने त्यसले दिने सेवा त्यति गुणस्तरको हुन सक्दैन भन्ने हाम्रो एउटा भाव हो । दोस्रो, राजनीतिलाई म त्यत्रो अपमानको रुपमा हेर्दिन । नीतिको राजा भएर नै यसलाई राजनीति भनिएको हो । राजनीति गर्ने मान्छेले मात्रै समाजसेवाको काम गर्नसक्छ । जसले राजनीतिमा दख्खल राख्छ, उसले समाजलाई लिड गर्नसक्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

गैरआवासीय नेपाली संघमा आवद्ध हुँदैगर्दा कुनै दलको विशेष पोजिसनमा हुनुहुन्छ भने त्यसबाट बाहिर निस्किनुपर्छ भन्ने मात्रै हो । ‘बाहिर जुत्ता खोलेर भित्र आउनुस्’ भन्ने हाम्रो एउटा पुरानो चलन पनि छ । संघको पदीय जिम्मेवारीमा बस्दै गर्दा दलको कुनै जिम्मेवारी हुनुहुन्छ भने त्यहाँ नबस्दिनुहोस् भनेर आग्रह गरेका छौँ । तपाईंले दललाई दिइराख्नुभएको समय र गैरआवासीय नेपाली संघलाई दिने समय डिभाइड हुँदै गर्दा हामीले पाउने समय कम हुनसक्छ । त्यसैले पहिलो प्राथमिकता गैरआवासीय नेपाली संघलाई दिऊँ भन्ने हाम्रो अभिप्राय हो । सोहीअनुसार हामीले नीतिगत रूपमै संगठनलाई राजनीतिबाट टाढा राख्ने निर्णय गरेका छौँ । पहिलो बैठकले यसलाई अनुमोदन नै गरेको छ । यो हाम्रो विधानमा धेरै पहिलेदेखि छ । म तपाईंलाई एउटा इतिहास सम्झाउन चाहन्छु, – म २००९ सालतिर हो क्यारे, एउटा कुनै पार्टीको महाधिवेशन प्रतिनिधिको रूपमा निर्विरोध निर्वाचित भएको थिएँ । म त्यो बेला संघको सह–कोषाध्यक्षको पदमा जिम्मेवार थिएँ । त्यसैले मैले त्यो बेलामा निर्विरोध चयन भएको महाधिवेशन प्रतिनिधि आफू गैरआवासीय नेपाली संघमा आवद्ध भएको हुनाले अर्को एकजना साथीलाई सिफारिस गरेको थिए । त्यो बेलामा त्यसले एउटा महत्व पाएको थियो । त्यसैले धेरै साथीहरू हुनुहुन्छ, म चाहिँ राजनीति गर्न हुँदैन, भन्नेमा छैन ।
हामी नेपालका राजनीतिक दलहरूसँग अत्यन्तै निकट सम्बन्ध राख्न चाहन्छौँ । उहाँहरू सँगसँगै रहेर हामी प्रवासमा हुने राजनितिमा पार्टीलाई सहयोग गर्न चाहन्छौँ । हामीले देखेका, भोगेका अनुभवहरु पार्टीलाई सेयर गर्न चाहन्छौं । नेपालको राजनीतिको वाटोलाई क्लियर गराउने कुरामा हामी ब्रिज बन्न चाहन्छौँ । अहिले नेपालीहरू कामदार मात्र होइनन्, विश्वका विभिन्न देशहरूमा नेपालीहरु राजनीतिमा छन् । धेरै स्थानीय सरकारका प्रमुखहरू नेपाली भइसकेका छन् । त्यो अनुभव हामी नेपालमा सेयर गर्न चाहन्छौँ । राजनीतिप्रति घृणा गरेर हामी अलग हुन चाहेका होइनौं । हामीमा भएको समय अलि कम छ । प्रवासमा बस्दै गर्दा हामीसँग आफ्नै खालको रुटिन छ । त्यसैले दुई वटा संगठनमा बस्दै गर्दा त्यसले समय पुग्दैन । नेपालको राजनीति भन्दा गैरआवासीय नेपाली संघमा बढी समय दिनुहोस् भन्ने अनुरोध हामीले गरेको हो । धेरै साथीहरूले त्यसलाई फलो गर्नुभएको छ । आगामी दिनमा हामी प्रवासमा रहने बेलासम्म यो दलीय आवद्धताभन्दा गैरआवासीय नेपाली संघमा आवद्धता होस्, यहाँको सीप, ज्ञान, रिसोर्सलाई हामी प्रयोग गरौं । हाम्रा समस्या समाधान गर्न दलसँग सुमधुर सम्बन्ध स्थापना गर्दै हामी अगाडि बढौं । यो सम्भव छ ।
प्रश्नः नेपालमा नयाँ सरकार गठन हुन लागेको छ, नयाँ राजनितिक दल र सरकारसंग यहाँहरुको सम्बन्ध कस्तो रहन्छ, नयाँ सरकारसंग कस्ता अपेक्षा राख्नुभएको छ ?
जवाफः हामी नयाँ सरकारसंग अत्यन्तै आशावादी छौँ । यसअगाडीका सरकारसँग पनि हाम्रो धेरै अपेक्षा रह्यो, सरकारले आफ्नो समय अनुकुल हाम्रा मागहरूलाई सम्बोधन पनि गरेको छ । जुन यो परिवर्तनपछि बन्ने आगामी सरकार छ, त्यसतर्फ हाम्रो ठूलो अपेक्षा छ । किनकि यो सरकार बन्ने वातावरण बनाउनका लागि सबैभन्दा ठूलो भुमिका कसैको छ भने गैरआवासीय नेपालीहरूको भुमिका छ । आज राष्ट्रिय स्वतन्त्र पार्टी जुन ठाउँमा छ, त्यो ठाउँमा पु¥याउनका लागि प्रवासमा बस्ने नेपाली र डायस्पोराको सबैभन्दा ठूलो भुमिका रहेको देख्छु, म । त्यसैले त्यो अपेक्षा अवश्य हामीसँग छ । जुन प्रतिनिधिसभा सदस्यहरु आउनुभएको छ, उहाँहरु नेपालकै इतिहासमै एकेडेमिक मेम्बर्सहरू हुनुहुन्छ । यो नेपालकै इतिहासमा पहिलो पटक भएको हो । संख्यामा पनि यो संविधानबाट कल्पनै नगरिएको सांसदहरु चुनिएर आउनुभएको छ । त्यसैले हाम्रो अपेक्षा पनि त्यस्तै खालको छ । हाम्रा मुद्दासँग उहाँहरू परिचित हुनुहुन्छ । जसले यसलाई लिड गर्नुभएको छ, त्योसँग सम्बन्धित साथीहरू पनि हुनुहुन्छ । यो सरकारसँग गैरआवासीय नेपाली संघको अत्यन्तै ठूलो अपेक्षा छ ।
हामीलाई विश्वास छ, नेपालको संविधानमा भएका गैरआवासीय नेपालीसँग जोडिएका मुद्दाहरु सरकारले अत्यन्तै छिटो समाधान गर्नेछ । विशेषगरी नेपालको संविधान २०७२ ले व्यवस्था गरेको गैरआवासीय नेपाली नागरिकता छ, हामीले संविधान अनुसार नागरिकता प्राप्त ग¥यौं, तर त्यो नागरिकता अहिले कार्यान्वयनमा छैन । यसमा अरु विभिन्न कानूनहरू संशोधन गर्नुपर्नेछ । २० औं हजार गैरआवासीय नेपालीहरूले नागरिकता प्राप्त गरेका तर प्रयोग गर्नसकेका छैनन् । हामी सरकारलाई छोटो बाटोबाट त्यो संविधान प्रदत्त अधिकारबाट प्राप्त नागरिकताको इम्प्लिमेन्टेसनका लागि अनुरोध गर्न चाहन्छौँ । तीबाहेकका विषयहरू पनि छन्, हामीले जन्मसिद्ध वंशजको नागरिकताको कुरा उठाएका छौँ । यो संसार एउटा ग्लोबल भिलेज भइसकेको छ । हामी विश्वका विभिन्न देशमा गएर त्यो देशको नागरिकता प्राप्त गरिसकेका छौं तर हामी यही देशमा जन्मेका हौँ । हामी यही देशको बाइ–बर्थ सिटिजन हौं । नेपालको संविधानले नेपाली नागरिकले विदेशी नागरिकता लिइसकेपछि नेपालको नागरिकत्ता स्वतः खारेज हुनेछ, भन्ने व्यवस्था गरेको छ, त्यो व्यवस्था उल्टो छ ।

यसलाई पनि संशोधन गर्न आवश्यक छ, संविधानमै परिवर्तन गर्नुपर्ने छ । नयाँ सरकारसँग हाम्रा त्यस्ता पनि अपेक्षा छन् । मैले अगाडि पनि भने, नेपालको २ करोड ९१ लाख ३ करोड जनसंख्यामध्ये ८० देखि ९० लाख मान्छे अवसरको खोजीमा विश्वका विभिन्न देशमा छौँ । त्यसैले त्यो डायस्पोरालाई जोड्न र यसपछि जन्मिने सेकेन्ड जेनेरेसनलाई जोड्न पनि नागरिकतामा भएको भेदभावलाई टुङ्ग्याउनु पर्छ । यो सरकारले हाम्रा मुद्दालाई बुझ्छ, भन्नेमा हामी आशावादी छौँ । १०० दिनभित्रै हाम्रा नागरिकतासम्बन्धी मुद्धाहरुलाई सरकारले समाधान गर्छ भन्ने लाग्छ । लगानीका पाटाहरू पनि छन्, जुन हामीले चाहेर पनि भनेजति ल्याउन सकेका छैनौं । त्यसका लागि केही हर्डल्सहरू छन्, त्यो खालको वातावरण यो सरकारले बनाउँछ भन्ने आशा छ । हामी नयाँ बन्ने सरकारको ट्रस्टेड पार्टनरको रूपमासँगै रहेर समृद्ध नेपाल निर्माण गर्नसक्छौँ भन्नेमा आशावादी छौं । हेरौं, अबको केही दिनमा सरकार बन्दैछ । हामी सरकारलाई शुभकामनासहित हामी सँगै छौं भन्ने अपेक्षा राख्छौं ।
प्रश्नः नेपाल सरकार र आम जनताको एनआरएनएसँग एउटै गुनासो छ, तपाईंहरू कुरा मात्र ठूला गर्नुहुन्छ, लगानी र काममा देखिनुहुन्न, तपाईहरुको नयाँ कार्यसमितिको आगामी रणनितिहरु के के छन्, नेपालको अर्थतन्त्रमा तपाईंहरूको योगदान कस्तो हुन्छ ?
जवाफः यो हामीले स्थापनाकालदेखि नै खेप्दै आयौं, विशेषतः यसमा के छ भने गैरआवासीय नेपाली संघसँग रिसोर्स अत्यन्तै कम छ । यो नेपाली डायस्पोरा भनेको २०४६ सालपछि बनेको हो । नेपालमा प्रजातन्त्रको प्राप्ति भइसकेपछि हामी विश्वका विभिन्न देशमा अवसरको खोजीमा जाने चलन बढ्यो । यो संख्या हाल ह्वात्तै बढेर ठूलो संख्यामा भएको छ तर हामी सक्सेस भइसकेका छैनौँ । प्रवासमा हामीलाई सेटल हुनका लागि समय लाग्यो । नेपाली डायस्पोरा अत्यन्तै नयाँ भएको हुनाले त्यसमा अत्यन्तै कम मान्छेहरू मात्रै सक्सेस भएका छन् । गैरआवासीय नेपाली संघलाई अत्यन्तै सफल नेपालीहरूले लिड गर्नुभयो । त्यसकारण पनि नेपालीहरुमा अलि बढी अपेक्षा भयो भन्ने मलाई लाग्छ । त्यसको कारणले गैरआवासीय नेपालीहरूसँग रिसोर्स छ तर उहाँहरूले प्रयोग गर्नुभएको छैन भन्ने खालको आरोप हामीलाई लाग्ने गरेको छ । मलाई चाँही त्यो लाग्दैन । गैरआवासीय नेपालीहरूले देशलाई अत्यन्तै ठूलो गुण लगाएका छन् । नेपालको अर्थतन्त्रलाई हेर्नुभयो भने ३० प्रतिशतभन्दा बढी जीडीपी हाम्रो रेमिट्यान्समा डिपेन्ड छ । ९० लाख मान्छेहरू बाहिर हुँदा कम्तीमा पनि त्यो परिवारको तीनजना मान्छेहरू त्यसैमा डिपेन्ड छन् । त्यसले त्यो परिवारलाई संरक्षण गरिरहेको छ । नेपालमा दुख्दा सबैभन्दा पहिला प्रवासमा बस्ने नेपालीहरूलाई दुख्छ । भूकम्प, बाढी जाँदा होस् या अरु यस्ता खालका प्रलयहरू हुँदा हामी पहिलो फ्रन्ट लाइनमा उभिन्छौं, जति सकिन्छ, त्यो गरिरहेका छौं । गैरआवासीय नेपाली संघसँग जे रिसोर्स छ, त्यसलाई हामीले प्रयोग गरिरहेका छौं । यद्यपि त्योभन्दा अझ बढी गर्न सकिन्थ्यो ।
हामीले अब कम बोल्ने र एक्शन ओरिएन्टेड भएर काम गर्नेछौँ । सरकारले हामीलाई पैसा लिएर आऊ भन्ने होइन, हामीले त्यहाँ बस्दा सीप सिकेका छौं, हजारौं डाक्टर–इन्जिनियरहरू उत्पादन भएका छन् । विश्वविद्यालयमा पढाउने प्रोफेसरहरू छन् । अहिले बाहिर पनि राजनीतिज्ञहरू भइसकेका छन् । नासामा काम गर्ने नेपालीहरू भइसकेका छन् । त्यो अनुभवलाई लिएर आउनुपर्छ भन्ने हो । अब पैसामा मात्रै डायस्पोराको क्षमतालाई काउन्ट गर्नुहुन्न । राज्यले पनि त्यो मेण्टालिटीलाई परिवर्तन गर्न जरुरी छ । हामी पनि सुध्रिन जरुरी छ । यद्यपि स्थापनाकालदेखि उठाउँदै आएका सामाजिक क्रियाकलापहरू, सरकारलाई गर्ने सहयोग, रिसर्च, विकासका मोडेलहरूमा छलफल गर्ने कुरालाई हामी निरन्तरता दिन्छौँ । यो कार्यकालमा विशेषगरी हामीले गैरआवासीय नेपाली संघमा दशौं महाधिवेशनपछि जुन विवाद भयो, त्यसलाई समाधान गर्न खुल्ला रूपमा संसारभरिबाट गैरआवासीय नेपालीहरूले मतदान गरेर नेतृत्व चयन गर्न सक्ने प्रणालीको विकास गर्नेछौँ । गैरआवासीय नेपालीहरू भित्र भएको रिसोर्सलाई प्रयोग गरेर समृद्ध नेपाल निर्माण गर्ने काममा हामी एक्सन ओरिएन्टेड भएर लाग्छौँ । यो नेपाली डायस्पोरा अझै परिपक्व भइसकेको डायस्पोरा होइन । हामीले एनआरआई इण्डियनहरूको डायस्पोरालाई, चाइनिजलाई, फिलिपिन्सको डायस्पोरालाई हेरेर हुँदैन । उनीहरू २००–२५० वर्षदेखि विश्वका विभिन्न देशमा छन्, उनीहरू वेल इस्टाब्लिस छन् । तर नेपाली डायस्पोरा अझै त्यसरी इस्टाब्लिस भइसकेको छैन । यद्यपि हामीले प्रयास गरिरहेका छौं ।

यहाँहरूले इस्टाब्लिस डायस्पोराको नम्बर गन्नुभयो भने हामी ५० जना पनि छैनौं । त्यसैले हामी तेस्रो चरणमा छौं । दोस्रो चरणमा हुने संख्या ४००–५०० जति मात्रै छ । ८० लाखमा हामी इस्टाब्लिस भईसकेको नम्बरमा हामी एक हजारमा पनि पुग्दैनौँ । हामीसँग ९० लाख मान्छेहरूको रिसोर्स छ, तर त्यो ठाउँमा नपुगेसम्म हामीले अपेक्षा गरेको रिजल्ट आउने छैन । यद्यपि हामी जुन बाटोमा छौं, गैरआवासीय नेपाली संघले जसरी अभियानलाई अगाडि सारेको छ, त्यसमा राज्यले अपेक्षा गरे जस्तो यो संगठन बन्छ, हामी हाम्रो रिसोर्सलाई लिएर नेपालमा केही गर्न सक्छौं तर राज्यले आफ्नो तर्फबाट पनि त्यो खालको वातावरण वनाउन जरुरी छ । हामीले उठाएका मुद्दाहरू छन्, मैले अगाडि जोडे, सबैभन्दा ठूलो गैरआवासीय नेपाली नागरिकतासँगको समस्या छ । त्यसपछि विभिन्न देशहरूमा हामीले कामदारहरू पठाउँछौं, अब दक्ष कामदार मात्रै नेपालबाट बाहिर पठाउनु पर्छ । त्यो सेक्टरमा सरकारले काम गर्न सक्नुपर्छ । धेरै विद्यार्थी भाइबहिनीहरू विश्वका विभिन्न देशमा जानुभएको छ, उहाँहरूलाई यही बसेर पढ्न सक्ने खालका विश्वविद्यालयहरु किन नखोल्ने ? स्वास्थ्य उपचारको लागि अत्यन्तै ठूलो संख्यामा बाहिर जाने गरेको छ । वैदेशिक रोजगारका लागि संख्यालाई रोक्नै नसक्ने खालको समस्या पनि हामीसँग छ । त्यो युवाहरू रोजगारीबाट फर्केपछि यहाँ कसरी व्यवस्थापन गर्ने भन्नेमा काम गर्नुपर्नेछ । त्यसको लागि सरकारलाई गैरआवासीय नेपाली संघले सहयोग गर्न चाहन्छ । हामीले गैरआवासीय नेपाली संघलाई रि–ब्रान्डिङ गरि नयाँ तरिकाले अगाडी बढाउन चाहेका छोँ । हामी परम्परागत रूपमा भन्दापनि जेन–जी आन्दोलनको मेसेज र नेपालमा अब बन्ने सरकारको स्पिरिट अनुसार रि–ब्रान्डिङ गरेर अगाडी बढ्नेछौँ । हामीसँग भएको रिसोर्सलाई प्रयोग गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा हामी समाहित हुनेछौँ ।
प्रश्नः अन्त्यमा, बाह्रौं महाधिवेशनमा पनि अझै केही गैरआवासीय नेपालीहरु छुट्नुभएको भन्नेछ, उहाँहरुलाई कसरी समेट्नुहुन्छ ?
जवाफः मलाई त्यस्तो लाग्दैन हामी कोही बाहिर छौं । यद्यपि केही साथीहरू तपाईंले कसैप्रति शङ्का गर्नुभएको भए त्यसलाई म शङ्का नगर्न आग्रह गर्दछु । समग्र हामी दशौं महाधिवेशनभन्दा पहिलादेखि र दशौं महाधिवेशनको बीचमा बाह्रौं महाधिवेशन आउने बेलासम्म फरक ठाउँमा रहेर पनि एउटै अभियानमा थियौं, मिसन हाम्रो एउटै थियो तर हाम्रा लाइनहरु मात्रै फरक थिए । तर ती सबै पाटाहरू आएर हाइवेमा जोडिएका छन् । यो बाह्रौं महाधिवेशन भनेको एउटा हाइवे हो । त्यसमा केही साथीहरूको फरक विचार रहेछ भने पनि हाम्रो स्वागत छ, बोलाउँछौं, टेबलमा बस्छौं, छलफल गर्छौं । उहाँहरूका केही त्यस्ता फरक मत रहेछन् भने पनि हामी उहाँहरूलाई अनुरोध गरेर ल्याउँछौं । हामी एकै ठाउँमा हिँड्छौं । केही साथीहरू हुनुहुन्छ भने पनि उहाँहरूलाई म हार्दिक अपिल गर्न चाहन्छु, आउनुस्, बसौं । हामी सबैलाई सम्मान गर्न चाहन्छौं । सबैको सम्मान हुने गरी यो अभियानमा सबैजना जोडियौँ । सबैजनाको रिसोर्सलाई जोडेर समृद्ध नेपाल निर्माण गर्ने अभियानमा अगाडि बढौं ।
– एजेन्सीको सहयोगमा तयार पारिएको कुराकानी।
#RastriyaSwatantraParty #RSP #NRN #NonResidentNepali #DiasporaNepali #NepalPolitics #NRNSupport #ArghakhanchiCom #ArghakhanchiHD



