इजरायली हवाई आक्रमणबाट दक्षिण लेबनानका मुख्य पुलहरू ध्वस्त

 

इजरायलले दक्षिण लेबनानी शहरहरू, आवासीय क्षेत्रहरू र मुख्य पुलहरूलाई निशाना बनाउँदै हवाई आक्रमण जारी राखेको छ । इरान जोडिएको वृहत्तर द्वन्द्वका बीच यो तनाव अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार दक्षिण लेबनानका विभिन्न क्षेत्रमा भएका इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । टायर जिल्लाको चेहाबिये गाउँमा भएको इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् र एउटा आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

सोही जिल्लाको अल–हनिया शहरमा भएको इजरायली गोलाबारीमा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएका छन् । नबातिये जिल्लाको मजदल अल–सेल्म शहरमा इजरायली हवाई आक्रमणमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । टेबनीन शहरमा इजरायली गोलाबारीले घर र पसलहरूमा व्यापक क्षति पु¥याएको छ, जहाँ नागरिक सुरक्षा टोलीहरू भग्नावशेष हटाउन र सडकहरू पुनः सञ्चालन गर्न खटिएका छन् ।

यसैबीच, हिजबुल्लाहले मरुवाहिन्, मारुन अल–रस र यारुन लगायतका धेरै सीमावर्ती स्थानहरूमा आफ्ना लडाकुहरूले इजरायली सैनिक र सवारी साधनहरूको समूहलाई निशाना बनाएको दाबी गर्दै धेरै विज्ञप्तिहरू जारी गरेको छ । लेबनानी राष्ट्रपति जोसेफ आउन र संसदका सभामुख नबिह बेरीले सोमबार बाब्दा दरबारमा भेट गरी वर्तमान सुरक्षा अवस्था र दक्षिण लेबनानलाई अन्य क्षेत्रसँग जोड्ने पुलहरूमाथि भइरहेको इजरायली आक्रमणबारे छलफल गर्नुभयो ।
राष्ट्रपति आउन र सभामुख बेरीले दक्षिणी शहर र गाउँहरूबाट करिव १० लाख बासिन्दा विस्थापित हुँदा सिर्जित कठिन सामाजिक र मानवीय अवस्थाबारे पनि छलफल गर्नुभयो। दुवै पदाधिकारीले राष्ट्रिय एकता र नागरिक शान्ति कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

ड्रुज धार्मिक र जातीय अल्पसंख्यक समूहका राजनीतिक नेता वालिद जुमदबिततले सोमबार राष्ट्रपति आउनसँग छुट्टै भेट गर्नुभयो । भेटपछि जुमदबिततले लेबनानी सरकारका प्राथमिकताहरू वार्ता, आन्तरिक सुरक्षा र विस्थापित मानिसहरूका आवश्यकता सम्बोधन गर्ने रहेको बताउनु भयो । उहाँले विस्थापितहरूका लागि पालको सट्टा ‘प्रिफ्याव’ आवासको सम्भावित प्रयोगमा समेत जोड दिनुभयो ।
गत मार्च २ मा हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनानमा सैन्य तनाव चुलिएको छ । नोभेम्बर २७, २०२४ मा युद्धविराम घोषणा भएयता हिजबुल्लाहको तर्फबाट भएको यो पहिलो आक्रमण थियो । त्यसयता इजरायलले लेबनानको राजधानी बेरुत, सहरका दक्षिणी उपनगरहरू र दक्षिण तथा पूर्वी लेबनानका धेरै क्षेत्रहरूमा तिब्र हवाई आक्रमण गरिरहेको छ ।

#Israel #Lebanon #AirStrike #SouthLebanon #BridgeDestroyed #MiddleEastTensions #IDF #Hezbollah #BreakingNews #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD

Nepal life insuranceimagesimagesimages