

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कांग्रेसले १५औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले यस अघि सभापति गगन थापाले पेश गरेको महाधिवेशनको कार्यतालिकामा संशोधन गर्दै असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । यस अघि सभापति थापाले भदौ २४, २५ र २६ मा गर्ने प्रस्ताव गरेका थिए । प्रवक्ता चालिसेले १५औँ महाधिवेशनको प्रक्रिया चैत २३ गतेदेखि सुरू हुने जानकारी दिदै २०८३ भदौ २ गतेदेखि वडा अधिवेशन, गाउँ तथा नगर अधिवेशन भदौ ७ मा हुनेगरी निर्णय गरिएको बताए । बैठकका बाँकी निर्णयहरू बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

२- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाको लागि निलम्बन गरेको छ । राखेपको कार्यकारी समितिको बुधबार बसेको वैठकले राखेपको स्वीकृति नलिई निर्वाचन नगर्न पटक-पटकको निर्देशन पालना नगरेको भन्दै राखेपले सोधेको स्पष्टीकरणपछि कारबाही गर्दै तीन महिनाको लागि निलम्बन गरेको हो । राखेपले भएन्फाले आफूलाई स्वायत्त संस्थाको रूपमा परिभाषित गरी परिषद्बाट माग गरिएबमोजिम चित्तबुझ्दो जवाफ नदिएको बताएको छ ।

३- नेपाल जारी साफ यू- २० पुरुष च्याम्सिपयनसिपको सेमिफाइनलमा पुगेको छ । नेपालले बुधबार सम्पन्न आफ्नो दोस्रो खेलमा श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जितसहित सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा खेलको २४औं मिनेटमा सुबास बमले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । नेपालले यसअघि भुटानलाई २-१ गोल अन्तरले जितेको थियो । यो जितपछि नेपालको समुह ए मा २ खेलमा ६ अंक भएको छ र सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अब नेपालले अर्को खेल शुक्रबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ ।
४- राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । बुधबार प्रधानन्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्ष राउतले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधिकरणहरूमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन र प्रतिवेदनको संख्या १ लाख ६२ हजार ३४० र र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका २ लाख ३४ हजार २५३ गरी जम्मा मुद्दाको वार्षिक लगत ३ लाख ९६ हजार ५९३ रहेकोमा २ लाख ४७ हजार ३३ अर्थात् ६२. २९ प्रतिशत मुद्दा फछ्यौट भएको उल्लेख छ । अझै एक लाख ४९ हजार ५६० मुद्दा बाँकी रहेका छन् ।
५- इरान युद्ध जारी रहेका बेला युद्ध विरामका पहल शुरु भएका छन् । यसबीच पाकिस्तानले अमेरिकाको युद्धविराम प्रस्ताव इरानलाई हस्तान्तरण गरेको अल जजिराले उल्लेख गरेको छ । अल जजिराका पत्रकार उसामा बिन जावेदले वरिष्ठ पाकिस्तानी अधिकारीहरुले यसको पुष्टि गरेका छन् । अब इरानको जवाफको प्रतीक्षा भइरहेको दाबि रिपोर्टमा गरिएको छ । रिपोर्टका अनुसार ट्रम्प प्रशासनले तयार पारेको युद्धविरामसम्बन्धी दस्तावेज पाकिस्तानमार्फत इरानलाई बुझाइएको हो । अब उक्त प्रस्तावमा इरानको प्रतिक्रिया आउन बाँकी रहेको बताइएको छ । अमेरिका र इरानका बीचमा टर्की र पाकिस्तानले मध्यस्थता गरिरहेको समेत दाबि गरिएको छ । अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा आक्रमण शुरु गरेपनि उनीहरुले सोचे भन्दा कडा रुपमा इरानले जवाफ दिन जारी राखेपछि उनीहरु युद्ध रोक्न दबाबमा आएको विश्लेषण गरिएको छ ।
६- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा समायोजन नगरे सेवा बन्द गर्ने वा सिफारिसअनुसार भाडा स्वघोषणा गर्ने चेतावनी दिएको छ । महासंघले इन्धनको मूल्यवृद्धिपछि यातायात क्षेत्रमा परेको असरबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेको हो । नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएपछि यातायात व्यवसायी थप दबाबमा परेको महासंघको भनाइ छ । महासंघका अनुसार यसअघि नै भाडा समायोजनका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको थियो । यातायात व्यवस्था विभागले पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक विधिअनुसार भाडा समायोजन गर्न सिफारिस गरिसकेको छ । सो सिफारिसअनुसार यात्रुवाहक सवारीमा ११. ३३ प्रतिशत, तराई क्षेत्रमा मालवाहकमा ८. ८१ प्रतिशत र पहाडी क्षेत्रमा १४.२९ प्रतिशत भाडा वृद्धि गर्नुपर्ने देखिएको महासंघले जनाएको छ । तर पटक–पटक आग्रह गर्दा पनि सरकारले हालसम्म कुनै निर्णय नगरेको गुनासो महासंघले गरेको छ । महासंघले हाल व्यवसायीहरू दैनिक रूपमा लाखौँ रुपैयाँ घाटा बेहोर्दै सेवा दिन बाध्य भएको उल्लेख गर्दै यस्तो अवस्था लामो समयसम्म धान्न नसकिने स्पष्ट पारेको छ । त्यसैले तत्काल भाडा समायोजन नगरे देशभरका यातायात सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ । विकल्पका रूपमा यातायात व्यवस्था विभागको सिफारिसअनुसार भाडा स्वघोषणा गरेर सेवा सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गर्ने महासंघले जनाएको छ । महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा सरकारलाई यथाशीघ्र भाडा समायोजन गर्न आग्रह गरिएको छ ।

७- अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै अर्थमन्त्री खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताउदै साइत नहेरी इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न गरेको उल्लेख गरेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाहले शुभ साइत निकालेर प्रधानमन्त्रीको शपथ लिन लागेको विषय बाहिरिएपछि अर्थमन्त्री खनालको यस्तो टिप्पणी आएको हो । उनले भनेका छन्- यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन !! हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन !!! तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !!!! उनले अर्को पोष्टमा बिचारको प्रतिवाद गर्न सक्ने तर तर सात पुस्ता उधिनेर व्यक्तिगत गालीगलौजमा नगर्न आग्रह समेत गरेका छन् ।
८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारी शुरु भएको छ । बालेन शाहले चैत्र १३ गते दिउँसो १२: ३४ बजे प्रधानमन्त्रीको रूपमा शपथ लिने शुभ साइत निकालिएको छ । शपथपछि उनी दिउँसो २: १५ बजे सिंहदरबार जाने कार्यक्रम तय गरिएको छ । बालेनको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम पनि तय गरिएको छ । त्यसअघि विहिबार सांसदहरुले शपथ लिएपछि रास्वपाले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने समेत तयारी गरेको छ ।
९- जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । बुधबार जनकपुरमा सम्पन्न खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई १६ रनले पराजित गरेको हो । कर्णाली प्रदेशले दिएको १५२ रनको लक्ष्य पछाएको कोशीले ४४.४ ओभरमा अल आउट हुदै १३५ रन मात्र बनाएको थियो । कोशीका लागि दिपेश कँडेलले सर्बाधिक २६ रन बनाएका थिए भने शिवाश बजगाईले २३, सुमन श्रेष्ठले २० तथा शकिब हक र अंकित सुबेदीले १७-१७ रन बनाएका थिए । त्यसैगरी कर्णालीका बलर दिनेश अधिकारीले ५ विकेट लिए भने दिवान पुन र प्रकाश जैशीले २-२ विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले ३९.१ ओभरमा अल आउट हुदै १५१ रन बनाएको थियो । कर्णालीका लागि विपिन शाहीले सर्बाधिक ६३ रन बनाएका थिए भने विपिन रावलले ३२ रन बनाएका थिए । त्यस्तै कोशीका बलर प्रेम कामतले ४ तथा ज्ञानेन्द्र श्रेष्ठले ३ र सुजन थपालियाले २ विकेट लिएका थिए । त्यस्तै आजै पर्सामा सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ३३.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । मधेश प्रदेसको जितमा अरनिको यादवले सर्बाधिक ४६ रन बनाए भने आदील आलमले ३४ तथा पवन सराफले २१ र रुपेश सिंहले १६ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अशोक धामीले ३ र शेर मल्लले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले अभिषेक पलको ३३ तथा किरण ठगुन्ना र नारायण जोशीको २३-२३ रनको सहयोगमा ४३.२ ओभरमा अल आउट हुदै १६० रनमा समेटिएको थियो । मधेश प्रदेशका लागि अरनिको यादवले ३ विकेट लिए भने प्रदिप पासवानले २ विकेट लिएका थिए । अब मधेश प्रदेसले अर्को खेल शुक्रबार लुम्बिनी प्रदेशसँग खेल्ने छ भने सुदूरपश्चिमले शुक्रबार नै कोशी प्रदेशसँग खेल्ने छ ।
१०- इरानमा इन्टरनेट सेवा अवरुद्ध भएको २६ दिन पुगेको छ, जसका कारण सर्वसाधारण नागरिक अन्तर्राष्ट्रिय सञ्जालबाट पूर्ण रूपमा अलगिएका छन् । इन्टरनेट अनुगमन गर्ने संस्था नेटब्लक्सका अनुसार ६०० घण्टाभन्दा बढी समयदेखि इन्टरनेट बन्द हुँदा नागरिकले बाहिरी संसारसँग सम्पर्क राख्न र सही सूचना प्राप्त गर्न नसक्ने अवस्था सिर्जना भएको छ। यसले दैनिक जीवन झनै कठिन बनाएको बताइएको छ । यसैबीच, इरानले आफ्नो विरोधमा नउत्रिएका जहाजलाई होर्मुज जलडमरु मार्ग हुँदै आवतजावत गर्न अनुमति दिन सकिने जनाएको छ। तर व्यवहारमा भने जहाजहरूको आवागमन अत्यन्तै कम भएको छ । संयुक्त राष्ट्रसंघमा रहेको इरानको नियोगले इरानविरुद्ध कुनै गतिविधिमा संलग्न नभएका र नियम पालना गर्ने जहाजले ‘सुरक्षित मार्ग’ प्रयोग गर्न सक्ने जनाएको छ। तर यस घोषणापछि पनि अवस्था सुधारिएको देखिएको छैन । पहिले दैनिक करिब १२० जहाज गुड्ने उक्त मार्गमा अहिले जम्मा ४–५ वटा मात्र जहाज आवतजावत गरिरहेका छन्। यसले समुद्री व्यापार लगभग ठप्प भएको संकेत गरेको छ । होर्मुज जलडमरु मार्ग विश्वका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ, जहाँबाट करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने गर्दछ। विज्ञहरूका अनुसार यो अवस्था लामो समयसम्म रहेमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १५० देखि २०० डलरसम्म पुग्न सक्ने सम्भावना छ ।

११- प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सम्पन्न भएको अवसरमा आयोजित जलपान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु लोकतन्त्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएकी छन् । कार्यक्रममा उनले निर्वाचन आयोगको नेतृत्व र समग्र टोलीलाई धन्यवाद दिँदै चुनौतीपूर्ण परिस्थितिमा पनि तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताएकी थिइन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेपछि देश जटिल अवस्थाबाट गुज्रिरहेको स्मरण गर्दै त्यही अवस्थाबीच निर्वाचन सम्पन्न गर्नु सजिलो नभएको बताउदै सुरक्षा अवस्था संवेदनशील रहेको, राजनीतिक संवाद कमजोर भएको र कानुनी अन्योल रहेको अवस्थामा सरकारले ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता पूरा गरेको उनले उल्लेख गरेकी थिइन् । उनका अनुसार यस निर्वाचनले लोकतान्त्रिक मूल्य-मान्यता सुदृढ गर्नुका साथै स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा जनताले स्पष्ट सन्देश दिएका छन् । निर्वाचन प्रक्रियामा नयाँ अभ्यासहरू अपनाइएको उल्लेख गर्दै उनले मतदाता नामावलीमा थप अवसर दिइएको, राष्ट्रिय परिचयपत्रसँग प्रणाली जोडिएको, सामग्री पुनः प्रयोग गरिएको र सकेसम्म स्वदेशी सामग्री प्रयोग गरिएको जानकारी दिइन्। यसले मितव्ययिता र पारदर्शितामा पनि नयाँ उदाहरण स्थापित गरेको उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले निर्वाचन खर्च पारदर्शी बनाउन अलग बैंक खाता सञ्चालन, सामाजिक सञ्जालको निगरानी र आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको पनि बतादै बलियो सुरक्षा व्यवस्थाका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको र विवाद न्यून रहेको उल्लेख गरिन् । यस सफलताको श्रेय निर्वाचन आयोग र सुरक्षा निकायलाई दिँदै उनले आगामी दिनमा पनि यही स्तर कायम राख्न सके लोकतन्त्र अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा उनले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै सम्पूर्ण सरोकारवालालाई धन्यवाद प्रकट गरिन्। साथै, लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन र समृद्ध नेपालको निर्माणमा सबैको सहकार्य रहने विश्वास व्यक्त गरिन् ।
१२- नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज बुधबार नेप्से २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ मा कारोबार भएको थियो । आज उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, रिलायन्स स्मिनिंग मिल्स र सुपर खुदी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सोलु र भुजुङ हाइड्रो तथा होटल फरेस्ट इनको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी अभियान लघुवित्तको शेयर ७.७४ प्रतिशत र सालपा विकास बैंकको शेयर ६.९९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनगाढी पावरको ५२ करोड ४७ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ५१ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।
१३- इरानमा युद्ध सुरु भएपछि विद्यार्थी र शिक्षकको ठूलो क्षति भएको छ । इरानको शिक्षा मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा हालसम्म २४३ जना विद्यार्थी र शिक्षकको मृत्यु भएको छ । युद्धका कारण देशको शिक्षा क्षेत्रमा गम्भीर असर परेको छ । सयौँ विद्यालय तथा सांस्कृतिक संस्थान क्षतिग्रस्त भएका छन् भने धेरै पूर्ण रूपमा नष्ट भएका छन् । समग्र रूपमा युद्धमा ज्यान गुमाउनेमध्ये ८ महिनाका बालकदेखि ८८ वर्षसम्मका वृद्धसम्म रहेका छन् । हालसम्म करिब १५ सय जनाको मृत्यु भएको छ भने १८ हजार ५५१ जना घाइते भएका छन् । युद्धमा करिब २०० महिलाको पनि ज्यान गएको जनाइएको छ । साथै, ५५ जना स्वास्थ्यकर्मी घाइते भएका छन्, जसमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
१४- कुलमान घिसिङले अब सडकबाट सरकार सञ्चालन गर्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले जनताले दिएको करिब दुई तिहाइ बहुमतको जनमत स्वीकार गर्नुपर्ने बताउदै अब आफुहरुले सडकबाट सरकार सञ्चालन गर्ने बताए । उनले भने- ‘पार्टी गठन गरेको तीन महिनाभित्र चुनावमा भाग लिनुपर्ने अवस्था आयो । त्यो समयभित्र पनि बीचमा अर्को पार्टीसँग सहमति गरेपछि त्यहाँपनि अलमल भयौं । छोटो समयमा पनि देशैभरी उम्मेदवारी दिन भने सफल भयौं । जित्न नसक्दा पनि हारेर पनि जितेको उज्यालो पार्टी हो । देश पनि जितेको छ । उज्यालो पार्टी पनि जितेको छ ।’ कार्यक्रममा उनले अब संगठन विस्तारमा केन्द्रित हुने भन्दै सबै प्रदेशमा भेला सम्पन्न गरेपछि जिल्ला, पालिका र वडा तहसम्म संगठन विस्तार गर्ने बताए ।

१५- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पदभार ग्रहण गरेका छन् । ज्येष्ठ सदस्य केसीले शपथ लिए लगत्तै संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका थिए । नेपाली कांग्रेसको समानुपातिकबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट शपथ लिएसँगै अब उनले विहिबार अन्य सांसदहरुलाई शपथ गराउनेछन् । सांसदहरुको शपथ भने सिंहदरबारमा हुनेछ । त्यसको लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हललाई तयार गरिएको छ । विहिबार सांसदहरुको शपथपछि चैत्र १३ गते शुक्रबार नयाँ प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले शपथ लिने तयारी गरिएको छ ।
१६- बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ६ दिनमा ५५५ करोड भारु कमाई गरेको छ । फिल्मले रिलिजको छैटौं दिन मंगलबार भारतभर ५२ करोड कमाई गरेसँगै ६ दिनमा ५५५ करोड कमाएको हो । फिल्मले पेड रिभ्यु र रिलिजको पहिलो दिन १४० करोड, दोस्रो दिन ८१ करोड, तेस्रो दिन १०९ करोड, चौथो दिन ११३ करोड, पाँचौ दिन ६० करोड भारु कमाएको थियो । योसँगै बलिवुडमा धुरन्धर-२ ले सबैभन्दा छिटो ३ सय करोड, ४ सय करोड र ५ सय करोडको नयाँ किर्तिमान बनाएको छ । धुरन्धर- २ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो । धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।
१७- अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिएको छ । काठमाडौँस्थित अमेरिकी दुताबासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपा सभापति लामिछानेलाई मंगलबार फोन गरी निर्वाचनमा प्राप्त जितका लागि बधाई दिएका हुन् । फोन कुराकानीमा अमेरिकाले नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारीको सुदृढीकरण गर्न र दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको बताएको दुताबासले जानकारी दिएको छ ।
१८- अमेरिकाको माथिल्लो सदन सिनेटमा इरानसँगको युद्ध रोक्न ल्याइएको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्तावको पक्षमा ४७ र विपक्षमा ५३ मत परेको छ । यो प्रस्ताव डेमोक्रेटिक पार्टीका तर्फबाट ल्याइएको थियो । उनीहरूले युद्ध सुरु गर्ने अधिकार संसदसँग हुने भएकाले सरकार प्रमुख डोनाल्ड ट्रम्पले पूर्ण स्वीकृतिबिना यस्तो निर्णय लिन नपाउने बताएका थिए । डेमोक्रेटिक पार्टीले यसअघि पनि यस्तै प्रस्ताव तीनपटक ल्याइसकेको छ । सरकारमाथि दबाब सिर्जना गर्न निरन्तर प्रस्ताव ल्याइरहेको उनीहरूको भनाइ छ । पार्टीका सांसद क्रिस मर्फीले सरकारले युद्ध किन आवश्यक छ भन्ने स्पष्ट पार्न नसकेको आरोप लगाएका छन् । डेमोक्रेटिक पार्टीले यो विषयलाई यत्तिमै नछाड्ने र सरकार स्पष्ट नभएसम्म हरेक हप्ता मतदान गराउने चेतावनी दिएको छ ।

१९- बेल्जियममा हुने इयु टी-२० बेल्जियममा ८ नेपाली खेलाडी खेल्ने भएका छन् । आगामी जुन ६ देखि १४ सम्म हुने इयु टी-२० बेल्जियममा ६ फ्रेन्चाइजी सहभागी हुदैछन् । जसमा एकसेल युनाइटेड ब्रसेल्स, एन्टवर्प एङ्कर्स, गेन्ट ग्लेडिएटर्स, जेबी ब्रुगेस, लुभेन र लिज रेड लायन्स रहेका छन् । जेबी ब्रुगेसले मात्र नेपाली पाँच खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा अनिल शाह, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, इशान पाण्डे र ललित राजबंशी रहेका छन् । त्यसैगरी लिज रेड लायन्सले सन्दीप लामिछानेलाई अनुबन्ध गरेको छ भने गेन्ट ग्लेडिएटर्सले रोहित पौडेललाई अनुबन्ध गरेको छ । त्यस्तै एन्टवर्प एङ्कर्सले आसिफ सेखलाई अनुबन्ध गरेको छ । बेल्जियम क्रिकेट एसोसियसनको आयोजनामा पहिलो पटक इयु टी-२० बेल्जियम हुन लागेको हो ।
२०- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको १४ हजार ६ सयले बढेर तोलाको २ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ७३ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४१५ रुपैयाँले बढेर ४९२० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४५०५ मा कारोबार भएको थियो ।



