

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणामलाई ‘अनपेक्षित, अस्वाभाविक, अनपत्यारिलो र जादुमय’ भएको बताउनुभएको छ ।
नवनिर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुसँगको भेटघाट कार्यक्रममा उहाँले यसतो बताउनुभएको हो । उहाँले निर्वाचन प्रक्रिया र नतिजाका बारेमा विश्लेषण गर्दै विरोधीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्यलाई रुचाउन नसकेको बताउनु भयो । ओलीकाअनुसार देशमा शान्ति, सुव्यवस्था र न्यायपूर्ण समाज स्थापना हुन नचाहने तत्वहरूले ‘घृणाको राजनीति’ को खेती गरेका छन् ।


उहाँले राजनीतिलाई घृणाद्वारा निर्धारित गर्ने प्रयास भएको र यसमा विभिन्न पक्षबाट विरोधीहरूलाई सहयोग प्राप्त भएको बताउनु भयो । उहाँले पार्टी पंक्तिलाई डटेर यस्ता प्रवृत्तिको सामना गर्न र जनतामा सत्य कुरा पु¥याउन निर्देशन दिनुभएको छ । विशेष गरी सामाजिक सञ्जालमा हुने हमलाको प्रतिवाद गर्न एमाले कार्यकर्ताहरूमा ‘अरूले गरिदिए हुन्थ्यो’ भन्ने खालको निष्क्रियता देखिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भ्रम र गलत कुराको खण्डन गर्न आफैँ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अनपत्यारिलो र जादुमय छ । यसमा एउटा हाम्रा विरोधीहरूले अथवा हाम्रा उद्देश्यहरूका विरोधीहरूले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य नरुचाउनेहरूले देशमा शान्ति सुव्यवस्था र न्यायपूर्ण समाज स्थापना गर्न नचाहनेहरूले देशमा घृणाको राजनीति गरे । राजनीतिलाई घृणाद्वारा निर्धारित गर्ने त्यस खेतीमा लागे । “हामी आफैँले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्नुपर्दछ र प्रतिवाद गर्नुपर्दछ भन्ने कुरामा जतिसुकै ध्यान दिनुपर्छ भनिए पनि बोल्न तयार नहुने स्थिति भयो । बोल्न तयार नहुने स्थितिले सत्य कुरा जनतामा कसरी पु¥याउने ? हामी आफैँ बोल्न तयार छैनौँ, सत्य कुरा बोल्न तयार छैनौँ, गलतको खण्डन गर्न तयार छैनौँ, भ्रमको खण्डन गर्न तयार छैनौँ भने ।’
उहाँले आफ्ना सांसदहरूलाई अध्ययनशील र अनुशासित बन्न पनि निर्देशन दिनुभयो ।



