

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १९औं संस्करण आजदेखि सुरु हुदैछ । २००८ मा सुरु भएको यो प्रतियोगिता टी-२० क्रिकेटको विश्वकै ठुलो फ्रेन्चाइजी प्रतियोगिताको रुपमा स्थापित भएको छ ।

यस सिजनको उद्घाटन खेल आज डिफेन्डिङ च्याम्पियन भने रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदरावादबीच हुदैछ । यो खेल नेपाली समयअनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । बैंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुने खेलमा दुवै टोली जितबाट यात्रा सुरु गर्ने तयारीमा छन् । उपाधि जोगाउने लक्ष्यमा रहेको बैंगलुरु र नयाँ सुरुआत खोजिरहेको हैदराबादबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

दुवै टोलीको बलिङ पक्ष भने केही कमजोर देखिएको छ । बैंगलुरुले यस सिजनमा आफ्ना महत्वपूर्ण बलरहरूबिना खेल्नुपर्नेछ, जसका कारण टोलीले अनुभवी तथा नयाँ खेलाडीमाथि बढी भर पर्नुपर्ने अवस्था छ । हैदराबादतर्फ पनि सुरुआती चरणमा प्रमुख खेलाडी अनुपस्थित रहने भएकाले टोलीको संयोजन प्रभावित हुने देखिन्छ । यसले बलिङलाई थप चुनौतीपूर्ण बनाउने अनुमान गरिएको छ।
उद्घाटन समारोह नहुने
आइपिएलको यस सिजनमा उद्घाटन समारोह नहुने भएको छ । भारतीय क्रिकेट बोर्डका सचिव देवजीत सैकियाले जानकारी दिएका छन् । उनका अनुसार यस पटक पहिलो दिन कुनै पनि सांस्कृतिक कार्यक्रम वा औपचारिक उद्घाटन समारोह आयोजना गरिने छैन । सैकियाले गत वर्ष ४ जुनमा भएको दुःखद घटनाका कारण यस पटक उद्घाटन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् । गत वर्ष ४ जुन २०२५ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक उपाधि जितेपछि बेंगलुरुमा विजय उत्सव निकालिएको थियो । सो क्रममा रंगशालाबाहिर भागदौड हुँदा ११ जनाको ज्यान गएको थियो ।

यस पटक भने प्रतियोगिताको समापनमा भव्य समापन समारोह गर्ने तयारी भइरहेको छ । फाइनल खेल ३१ मे मा हुने बताइएको छ । अघिल्लो सिजनको उद्घाटन समारोह कोलकाताको इडेन गार्डेन्समा भएको थियो । त्यहाँ अभिनेता शाहरुख खानले कार्यक्रम सञ्चालन गरेका थिए भने दिशा पाटनी, श्रेया घोषाल र करण औजला लगायतले प्रस्तुति दिएका थिए । विराट कोहली र रिंकु सिंहले समेत मञ्चमा नृत्य गरेका थिए । यस पटक बेंगलुरुको चिन्नास्वामी रंगशालामा ११ जनाको सम्झनामा विशेष व्यवस्था गरिएको छ । क्लब र कर्नाटक क्रिकेट संघले ११ वटा सिट सधैं खाली राख्ने निर्णय गरेका छन् । ती दर्शक सिट अन्तर्राष्ट्रिय खेलमा पनि बिक्री गरिने छैन । साथै, स्मारक पट्टिका पनि रंगशालाको प्रवेशद्वार नजिकै राखिनेछ । खेलअघि मृतकहरूको नाम प्रदर्शन गरिनेछ र एक मिनेट मौन श्रद्धाञ्जली पनि दिइनेछ ।
अहिलेसम्म को कसले जितेका छन् उपाधि:
आइपिएलको उपाधि अहिलेसम्म चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सले सबैभन्दा बढी ५-५ पटक जितेका छन् । चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो भने मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो । त्यस्तै कोलकता नाइट राइडर्सले ३ पटक आइपिएल जितेको छ । कोलकोताले २०१२, २०१४ र २०२४ मा उपाधि जितेको थियो ।
त्यस्तै गुजरात टाइटन्सले २०२२ मा, राजस्थान रोयल्सले २००८ मा, सनराईजर्स हैदरावादले २०१६ मा र डेकन चार्जरले २००९ मा गरी एक एक पटक आइपिएलको उपाधि जितेका छन् भने रोयल च्यालेन्जर्स बैंगलुरुले गत बर्ष उपाधि जितेको थियो । त्यस्तै नियमित आइपिएल खेलिरहेका दिल्ली क्यापिटल्स, पञ्जाव किंग्सले अहिलेसम्म आइपिएल जित्न सकेका छैनन् । त्यस्तै २ सिजन खेलेको लखनउ सुपर जाइन्ट, एक सिजन खेलको राइजिंग पुने सुपर जाइन्ट, गुजरात जाइन्टले पनि आइपिएल उपाधि जित्न असफल भएका छन् ।
#IPL #IPL2026 #Cricket #RCB #SRH #T20 #OpeningMatch #Sports #Breaking #Update #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



