

काठमाडौं । नेकपा एमालेले भदौ २३ र २४ गतेको घटनाको छानबिन सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा हुनुपर्ने माग गरेको छ ।
पार्टीको शनिबार बसेको सचिवालय बैठकले घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका हुन् ।

बैठकको निर्णय सुनाउदै महासचिव पोखरेलले भने- ‘२०८२ भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि तत्कालीन सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति हाम्रो पार्टीको सुरूदेखि नै असहमती र विरोध रहँदै आएको छ । उक्त आयोगप्रति सम्मानित सर्वोच्च अदालतले समेत गम्भीर प्रश्नहरू उठाएको कुरा विदितै छ । आयोगद्वारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको हाम्रो पार्टीको ठहर छ । तसर्थ, उक्त घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानविन आयोग गठन गर्न यो बैठक माग गर्दछ ।’

पोखरेलले एमालेले गौरी बहादुर कार्की नेतृत्वको आयोगप्रति सुरुदेखि नै असहमति र विरोध गर्दै आएको समेत उल्लेख गरे । साथै एमालेले आयोगद्वारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको ठहर गरेको छ ।
साथै एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक माथि गरिएको नियोजित, निर्देशित र गैरकानुनी गिरफ्तारीको विरोध, उनीहरूको रिहाई, कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाको गर्न संयुक्त एवम् प्रभावकारी पहलकदमीका लागि राजनीतिक दलहरू, नागरिक समाज र आमजनसमुदायलाई आग्रह गरेको छ ।
#CPNUML #GenZMovement #NepalPolitics #SupremeCourt #Investigation #Arghakhanchi #Nepal #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



