

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा चैत १९ गते बिहीबारका दिन २ बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । आजै बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

२- लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दुलालको इजलासले सांसद शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनी गएराति काठमाडौँको धुम्बाराहीबाट पक्राउ परेकी थिइन् । काठमाडौं महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेपछि उनीविरुद्ध महानगरले मुद्धा दायर गरेको थियो ।जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको र जाहेरी दिएपनि सांसद शर्मालाई प्रहरीले पक्राउ गरेको थिएन । त्यसपछि २०८१ को माघमा महान्यायाधिवक्ता कार्यालयबाट शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि यो विषय त्यति बेला सकिएको थियो । सो समय काठमाडौँ महानगरका मेयर रहेका बालेन शाहले सामाजिक सञ्जालमा उद्धार गरिएकी बालिकालाई सम्बोधन गर्दै एक दिन समय आउने पोष्ट गरेका थिए । अहिले आफु प्रधानमन्त्री हुनासाथ बालेनले सांसद शर्माविरुद्ध कारवाही अगाडी बढाएका छन् ।
३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सन्जय चौधरीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारले उद्योग नविकरण गर्ने घुस मागेर दुख दिएको सुचनाको आधारमा अख्तियारको टोलीले चौधरीलाई सेवाग्राहीसँग ३० हजार घुस लिइसकेको अवस्थामा रकम र दुई वटा मोबाइलसहित विभागको परिसर बबरमहलबाट पक्राउ गरेको हो । अख्तियारले चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

४- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल पक्राउ परेका छन् । अर्याललाई धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले जानकारी दिएको छ । कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटसम्बन्धी कागजातमा अनियमितता देखिएको आरोपमा अर्याललाई पक्राउ गरिएको सिआईले जनाएको छ । नियामक निकायलाई पेश गरिएका सक्कल आवेदन र प्रतिलिपिबीच विवरण फरक देखिएपछि अनुसन्धान अघि बढाइएको थियो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनका आधारमा धितोपत्र ऐनको दफा १०० विपरीत कसूर भएको देखिएको जनाइएको छ । जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएपछि अर्याललाई काठमाडौँ महानगरपालिका–२९ पुतलीसडकस्थित न्यूप्लाजाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
५- सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि पनि सहभागी हुने पोखरेलले बताए ।

६- नेकपा एमालेका सचिव महेश बस्नेतले जिल्ला अदालत काठमाडौँले आफुलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको विषय स्वागतयोग्य भएको बताएका छन् । प्रहरीले शोभा पाठकको निवेदनमा अदालतमा सोमबार बस्नेतलाई पक्राउ गर्न मागेको अनुमति जिल्ला अदालत काठमाडौँले अस्वीकार गरेको थियो । नेता बस्नेतले अदालतले अस्वीकार गरेको कदम स्वागतयोग्य भएको बताउदै निरंकुस बालेन सरकार र कथित गृहमन्त्रीको निर्देशनमा अराजक तत्वलाई उचालेर झुटा मुद्धा लगाउँदै काठमाडौँ जिल्ला प्रहरीले सरकारी वकिलमार्फत पक्राउ प्रक्रिया अघि बढाएको फाइलमा काठमाडौँ जिल्ला अदालतले पक्राउ नगर्न आदेश दिएको उल्लेख गरेका छन् । उनले प्रतिशोधको राजनीतिविरुद्ध न्यायालयले चालेको यो कदम स्वागतयोग्य भएको टिप्पणी गरेका छन् ।
७- मुग्लिङ-नागढुङ्गा सडकखण्ड तीन दिन रातिमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सुचना प्रकाशित गर्दै चितवनको इच्छाकामना गाउँपालिका-४ को घोप्टेभिर लगायतका विभिन्न स्थानहरुमा सडक स्तरोन्नतीको कार्य गर्नका लागि चैत्र १७ देखि चैत्र १९ गतेसम्म राती १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सबै प्रकृतिका सवारी साधनहरुको आवागमन बन्द रहने जानकारी दिएको छ ।
८- जारी पीएम कप अन्तर्गत सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । सोमबार पर्सामा सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई १२ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १६९ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले ४०.२ ओभरमा अल आउट हुदै १५६ रन बनाएको थियो । लुम्बिनीका लागि सन्तोष यादवले ६७ रन बनाए भने ध्रुव सुनारले ३६ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर खड्क बोहोरा र शेर मल्लले ३-३ विकेट लिएका थिए भने हेमन्त धामीले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ४५.४ ओभरमा अल आउट हुदै १६८ रन बनाएको थियो । सुदूरपश्चिमका लागि दिपक बोहोराले ३० र हेमन्त धामीले २९ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर सन्तोस यादव र अजय चौहानले ४-४ विकेट लिएका थिए । यो जितपछि सुदूरपश्चिम ४ खेलमा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने लुम्बिनीको ४ खेलमा ३ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै आजै सम्पन्न खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । कर्णाली प्रदेशले दिएको १३० रनको लक्ष्य पछाएको मधेश प्रदेशले २४.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको कर्णाली प्रदेशले ३१.२ ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो । यो जितपछि मधेश प्रदेशको ४ खेलमा ७ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशको ४ खेलमा ३ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ ।

९- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहमा देखिएका समस्या प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डका अनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमित सेवाग्राहीलाई सेवा लिन अग्रिम समय लिन बाध्य बनाउने, भेदभावपूर्ण व्यवहार गर्ने तथा आवश्यक सेवा सुविधा र औषधि उपलब्ध नगराउने गुनासो आएको बताउदै बोर्डले यस्ता कार्य स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५ तथा प्रचलित कानुन विपरीत रहेको बोर्डले स्पष्ट पारेको छ । बोर्डले यस्ता गतिविधि तुरुन्त बन्द गर्न र सम्बन्धित ऐन, नियमावली, निर्देशिका तथा कार्यविधिको पूर्ण पालना गर्न सबै सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ । साथै, अनुगमनका क्रममा नियम विपरीत कार्य भएको प्रमाणित भएमा कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिएको छ ।
१०- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीलाई रिहा गर्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । यसअघि आइतबार जिल्ला अदालत काठमाडौँले ओली र लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।
११- काँग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकलाई रिहा गर्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । लेखकका तर्फबाट उनकी श्रीमती यशोदा लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई भएको थियो । रिटमा कानुन विपरीत लेखकलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरिएको थियो । योसँगै अब लेखक जिल्ला अदालत काठमाडौँको आदेश अनुसार कम्तिमा पाँच दिन हिरासतमा बस्नुपर्ने भएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले लेखकलाई शनिबार विहान प्रहरीले पक्राउ गरेको थियो ।
१२- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले कामका लागि घुस खुवाउनु नपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री डा. वाग्लेले सरकारले निजी क्षेत्रको सहयात्री बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अब कामका लागि घुस खुवाउनुपर्ने अवस्था नहुने बताएका हुन् । उनले भने- ‘म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ । म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ ।’ सो अवसरमा अर्थमन्त्री डा. वाग्लेले उद्योगीहरूलाई लगानी र रोजगारी बढाउनमा केन्द्रित हुन समेत आग्रह गरे । निजी क्षेत्रलाई कुनैपनि बहानामा दुःख नदिइने स्पष्ट पर्दै उनले व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको व्यावसायिक कसुरमा थुन्न नहुने मागलाई सम्बोधन गर्दै आर्थिक बेइमानीमा आर्थिक जरिवानाको नीतिमा जाने स्पष्ट गरेका थिए । उनले अब उद्योगी व्यापारीहरूले सानातिना प्राविधिक वा आर्थिक विषयमा थुनिनु नपर्ने भन्दै अब दण्डको स्वरूप बदल्ने बताएका थिए ।
१३- नेप्सेमा आज पनि गिरावट आएको छ । आज सोमबार नेप्से ४७.७१ अंकले घटेर २८३१. ३९ विन्दुमा पुगेर रोकिएको छ । बालेन शाहको नेतृत्वमा सरकार बनेपछिको दोस्रो दिनको कारोबारमा पनि ठुलो गिरावट आएको छ । आज ३४१ कम्पनिका ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, रिलायन्स स्मिनिंग मिल्स, भुजुङ हाइड्रो, होटल फरेस्ट इन र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुपर खुदी हाइड्रोको ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सोलु हाइड्रोको शेयर ७.७९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ६८ करोड ४१ लाख बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुपको शेयर ४३ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

१४- प्रधानमन्त्री बालेन शाहले कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा दुवै प्रदेशका सबै दलबाट निर्वाचित सांसदहरु सहभागि भएका थिए । तर यस बैठकलाई श्रम संस्कृति पार्टीले भने बहिष्कार गरेको थियो । श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले आफुहरु कोठे बैठकमा सहभागी नहुने भन्दै संसद बैठक छिटो बोलाउन माग गर्दै प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी नहुने बताएका थिए ।
१५- इजरायल-लेबनान युद्धका कारण लेबनानमा करिब २० प्रतिशत जनसंख्या विस्थापित भएको छ । संयुक्त राष्ट्रअन्तर्गत बालबालिका सम्बन्धी निकायले सार्वजनिक गरेको विवरण अनुसार पछिल्ला तीन सातामै लाखौं नागरिक घर छोड्न बाध्य भएका छन् । युद्धको सबैभन्दा बढी असर बालबालिकामा परेको छ । दैनिक औसत १९ हजार बालबालिका घर छोडेर भाग्न बाध्य भइरहेको जनाइएको छ । निरन्तर बमबारीका कारण धेरै पुल भत्किएका छन्, जसले राहत सामग्री पुर्याउन कठिन भएको छ भने कतिपय बालबालिका अझै जोखिमयुक्त क्षेत्रमा फसेका छन् । विस्थापित बालबालिका अस्थायी शिविरमा बसिरहेका छन् । उनीहरूलाई बारम्बार स्थान परिवर्तन गर्नुपर्दा मानसिक रूपमा गम्भीर असर परेको बताइएको छ । सहयोगी संस्थाहरूले ती बालबालिकाका लागि खोप, उपचार र अस्थायी पढाइको व्यवस्था गर्न प्रयास गरिरहेका छन्, किनकि धेरै विद्यालय बन्द भएका छन् । यससँगै, धेरै क्षेत्रमा खानेपानी, अस्पताल सेवा र सरसफाइ प्रणाली पनि प्रभावित भएको छ । यसले मानवीय संकट झन् गहिरिँदै गएको देखिएको छ ।
१६- बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ । प्राप्त अपडेट अनुसार फिल्मले रिलिजको ११ दिनमा ८१३ करोड भारु कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पहिलो साता (आठ दिन) मा ६४९ करोड कमाएको थियो भने दोस्रो साताको दिन दिनमा १६४ करोड कमाई गरेर आइतबारसम्म कुल ८१३ करोड कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो शुक्रबार ३८ करोड, शनिबार ६० करोड र आइतबार ६६ करोड कमाई गरेको छ । फिल्मले अहिलेसम्म सबैभन्दा छिटो २ सय करोड देखि ८ सय करोडसम्म कमाएको नयाँ किर्तिमान बनाएको छ । त्यस्तै दोस्रो साताको विकइन्डमा धेरै कमाउने रेकर्ड पनि धुरन्धर-२ ले बनाएको छ । दोस्रो विकइन्डमा धुरन्धर-२ ले १६४ करोड कमाएको छ भने यसअघि धुरन्धरले १४६.६० करोड कमाएको थियो । त्यस्तै पुष्पा-२ ले १२८ करोड कमाएको थियो र छावाले १०९.२३ करोड कमाएको थियो । त्यस्तै धुरन्धर-२ ले भारतभन्दा बाहिर पनि करिब ३ सय करोड कमाई गरेको छ । धुरन्धर- २ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो । धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।

१७- सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पक्राउ परेका काँग्रेस नेता एवं पूर्व उर्जामन्त्री दिपक खड्का त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रहरी स्रोतका अनुसार हिरासतमा रहेको समयमा स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । आइतबार बिहान पक्राउ परेका खड्कालाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ र उनी प्रहरी प्रभाग पुल्चोकको हिरासतमा रहेका थिए । हिरासतमा उनले गएराती लगातार बान्ता गरेपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको २५ सयले घटेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८६ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घट्यो छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ४७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४७२० मा कारोबार भएको थियो ।
१९- नवलपुरको गैंडाकोटमा सोमबार बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-९ स्थित हनुमान मन्दिर नजिकै तीनवटा सवारी साधन एकापसमा ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार बिहान करिब ६: ४५ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बा.प्र. ०१-०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा तीनै वटा सवारी साधनका चालकहरू घाइते भएका छन् । दुर्घटनामा परि ठक्कर दिने बसमा सवार ९ जना यात्रुहरू पनि सामान्य घाइते भएका छन् । घाइते सबैको चितवन मेडिकल कलेज र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोलीले दुर्घटनाग्रस्त सवारी साधनहरूलाई सडकबाट किनारा लगाएर अबरुद्द सडकलाई एकतर्फी संचालनमा ल्याईएको छ ।

२०- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली हटाएर आवेदन दिएको दिनमै स्वीकृति दिने व्यवस्था सुरु गरेको छ । मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार स्वीकृत कार्यसूचीमा रहेका विषयमा मन्त्री दीपककुमार साहले श्रम तथा रोजगारी क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन तत्काल कार्ययोजना बनाएर लागू गर्न निर्देशन दिएका हुन् । मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, न्यूनतम ज्यालाको सुनिश्चितता, कार्यस्थल सुरक्षा, काम गर्ने वातावरण र स्वास्थ्य सुरक्षाको अध्ययन गरी न्यूनतम मापदण्ड तय गर्ने, सीप विकास तालिममार्फत रोजगारी सिर्जना गर्ने, सबै प्रदेशमा निजी क्षेत्रसँग सहकार्य गरी सीप मेला सञ्चालन गर्ने र आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने योजना अघि बढाउने निर्णय गरिएको छ । यसैगरी वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्ने, सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउने तथा सूचना प्रविधिको प्रयोगमार्फत सेवा छिटो र सस्तो बनाउनेतर्फ पनि ध्यान दिइने भएको छ । त्यस्तै पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई डिजिटल माध्यममा उपलब्ध गराउने, यसलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने र सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियान सञ्चालन गरिने निर्णय गरिएको छ । मन्त्रालयले श्रमिकको न्यूनतम ज्याला पूर्ण रूपमा लागू गर्ने, श्रमाधान योजना प्रभावकारी बनाउने तथा कल केन्द्रलाई थप व्यवस्थित गर्ने योजना पनि अघि सारेको छ । औद्योगिक प्रतिष्ठानमा जोखिम मूल्यांकन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन गर्ने, उत्पादन र उद्यमशीलता बढाएर आन्तरिक रोजगारी सिर्जना गर्ने र थप पाँच मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने निर्णय समेत गरिएको मन्त्रालयले जानकारी दिएको छ ।



