

काठमाडौँ । इटालीको उत्तरी क्षेत्रमा पर्ने पार्मा सहर नजिकै रहेको एक संग्रहालयबाट केही मिनेटमै करोडौँ मूल्यका तीन चित्रकला चोरी भएका छन् । प्रहरीले सोमबार उक्त घटना सार्वजनिक गरेको हो ।

चोरी मार्च २२ र २३ को राति म्याग्नानी रोका फाउन्डेशनमा भएको बताइएको छ । चोरी भएका चित्रकलामा अगस्ट रेनुआर को ‘फिश’, पोल सेजानको ‘स्टिल लाइफ विथ चेरीज’ र हेनरी मातीस को ‘ओडालिस्क अन द टेरेस’ समावेश छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चोरहरूले तीन मिनेटभन्दा कम समयमा ती चित्रकला उठाएर संग्रहालयको बगैँचा हुँदै भागेका थिए । ती कलाकृतिको कुल मूल्य करिब १० मिलियन डलर बराबर रहेको अनुमान गरिएको छ ।
सन् १९७७ मा स्थापना भएको उक्त फाउन्डेशनमा कला इतिहासकार लुइजी म्याग्नानीको संग्रह राखिएको छ । यहाँ अन्य प्रसिद्ध कलाकारका बहुमूल्य कृतिहरू पनि सुरक्षित राखिएका छन् ।
प्रारम्भिक अनुसन्धानमा यो घटना संगठित समूहद्वारा गरिएको हुनसक्ने आशंका गरिएको छ । अलार्म बजेपछि चोरी आंशिक रूपमा अवरुद्ध भएको बताइएको छ भने संग्रहालयले औपचारिक प्रतिक्रिया दिएको छैन ।
हालै युरोपका विभिन्न संग्रहालयमा भएका यस्तै चोरी घटनापछि यो घटना बाहिर आएको हो, जसले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ ।
#Italy #Museum #Theft #ArtHeist #10Million #PaintingStolen #ArtCrime #WorldNews #Investigation #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD



