

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- भदौ २३ र २४ गते जेनजी आन्दोलनको समयमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छवि रिजाल हाजिर जमानीमा रिहा भएका छन् । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले बयान लिएको थियो । प्रहरी स्रोतका अनुसार रिजाललाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा छोडिएको छ । गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले तत्कालीन सीडीओ रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको सिफारिसका आधारमा प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको छ ।

२- नेपाली कांग्रेसले देशभर निर्वाचन समीक्षा तथा भावी रणनीतिबारे व्यापक छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार ७ वटै प्रदेशमा समीक्षा कार्यक्रम सञ्चालन गरिने भएको हो । पार्टीका महामन्त्री प्रदीप पौडेलले जारी गरेको कार्यक्रम अनुसार १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग समिक्षात्मक छलफल गरिने र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा प्रत्येक क्षेत्रमा अध्ययन र समीक्षा प्रक्रिया पनि अगाडि बढाइने उल्लेख छ । जस अनुसार चैत्र २३ गते कोशी प्रदेश अन्तर्गत विराटनगरमा समीक्षा कार्यक्रम आयोजना हुनेछ भने त्यसको संयोजक डिला संग्रौला पन्तले गर्नेछिन् । यस्तै, फरमूल्लाह मंसुरको संयोजकत्वमा चैत्र २५ गते मधेश प्रदेश अन्तर्गत जनकपुरमा समीक्षा कार्यक्रम आयोजना हुनेछ । त्यसैगरी बागमती प्रदेशको हेटौंडामा वैशाख ७ गते बहादुर सिंह लामाको संयोजकत्वमा समीक्षा कार्यक्रम आयोजना हुनेछ भने गण्डकी प्रदेश अन्तर्गत पोखरामा चैत्र २७ गते देवराज चालिसेको संयोजकत्वमा कार्यक्रम हुनेछ । लुम्बिनी प्रदेश अन्तर्गत दाङमा चैत्र २९ योगेन्द्र चौधरीको संयोजकत्वमा, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ३ गते कर्णबहादुर बुढाको संयोजकत्वमा कार्यक्रम हुने बैठकले निर्णय गरेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गते प्रकाश रसाइली स्नेहीको संयोजत्वमा, कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित प्रदेशका संयोजकहरूसँग समन्वय गरिने र कार्यक्रममा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय सभापतिहरू तथा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको सहभागिता रहने जानकारी पौडेलले दिएका छन् ।
३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दिनेश राउतलाई २० हजार घुससहित पक्राउ गरेको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने र मुद्दा मिलापत्र गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेर दुःख दिएको उजुरीपछि खटेको आयोगको टोलीले राउतलाई घुस रकमसहित काठमाडौँ महानगरपालिका–५ गहनापोखरी क्षेत्रबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका राउतबाट घुस रकम र एक थान मोबाइल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
४- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालतका डिठ्ठालाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगका अनुसार रौतहटको गौर नगरपालिकास्थित जिल्ला अदालतमा कार्यरत डिठ्ठा लवकुमार सिंहलाई ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो । अदालतको फैसलाबमोजिम दर्ता-खारेज पुर्जी गरी जग्गा फुकुवा गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीपछि आयोगको टोलीले सिंहलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा अदालत परिसरबाटै नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका सिंहबाट घुस रकम र एक थान मोबाइल बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

५- पहुँच र शक्ति प्रयोग गरेर सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकलाई अब आफ्नै दरबन्दी भएको अस्पतालमा फर्किनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले देशभरि स्वास्थ्य सेवाको सन्तुलन मिलाउन तथा दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव अन्त्य गर्न कडाइ गरेसँगै पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइएकी छिन् ।
६- जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा कोशी प्रदेशले दिएको १६३ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लबले ३३.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पुलिसको जितमा आरिफ सेखले अविजित ८१ र राशिद खानले अविजित ७३ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४२.५ ओभरमा अल आउट हुदै १६२ रन बनाएको थियो । कोशीका लागि सुजन थपलियाले सर्बाधिक ४८ रन बनाए भने सुमन श्रेष्ठले ४३ रन बनाएका थिए । त्यसैगरी पुलिस क्लबका बलर दिनेश खरेलले ५ विकेट लिए भने ललित राजबंशी र सागर ढकालले २-२ विकेट लिए । यो जितपछि ५ खेलमा ७ अंक हासिल गर्दै पुलिस क्लब अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । त्यस्तै कोशी प्रदेशको भने यो पाँच खेलमा चौथो हार हो ।
७- नेपाली राष्ट्रिय फुटबल टिम लाओससँग पराजित भएको छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा लाओसले नेपाललाई १-० गोल अन्तरले पराजित गरेको हो । खेलको ४७औं मिनेटमा लाओसका बोउनफानचानले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जित पछि लाओसको ६ खेलमा ६ अंक भएको छ र समुहमा तेस्रो स्थानमा रहेको छ भने नेपालले ६ खेलमा ३ अंकसहित पुछारमा रहेको छ । नेपाल र लाओस दुवै छनौट चरणबाट भने यसअघि नै बाहिरिएका थिए ।

८- नेकपा एमालेले आन्दोलनका थप कार्यक्रम तय गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा जिल्ला तहमा भेला गर्नेदेखि काठमाडौँमा गर्ने प्रदर्शनसम्मका कार्यक्रम सार्बजनिक गरेको हो । जस अनुसार चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने, वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आआफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने निर्णय समेत गरेको छ । साथै, बैठकले बुधबार ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने निर्णय समेत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । त्यस्तै बैठकले सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाहीलाई जिम्मेवारी दिएको छ । साथै संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिएको छ । त्यस्तै एमालेको संसदीय दलको बैठक बुधबार ३ बजे पार्टी कार्यालयमा बस्ने समेत पोखरेलले जानकारी दिए । त्यस्तै एमालेले आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
९- नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से १९.७० अंकले घटेर २८५१. ०५ विन्दुमा पुगेर रोकिएको छ । आज ३३९ कम्पनिका २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, रिलायन्स स्मिनिंग मिल्स, भुजुङ हाइड्रो, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रो र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सप्तकोशी विकास बैंकको ८.९६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ४८ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ४० करोड ३८ लाख बराबरको कारोबार भएको छ ।
१०- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कम्पनी सचिव राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार कम्पनी सचिव पदका लागि कानुन विषयमा स्नातक योग्यता आवश्यक रहे पनि पोख्रेलले सो योग्यता नहुँदा नहुँदै नियुक्ति लिएको आरोप छ । उनले नक्कली अनुभव प्रमाणपत्र पेश गरी पद हासिल गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । अनुसन्धान क्रममा पोख्रेलले एक जलविद्युत कम्पनीमा वरिष्ठ अधिकृत तहमा कार्यरत रहेको भनी प्रस्तुत गरेको अनुभव प्रमाणपत्र झुट्टा रहेको पुष्टि भएको छ । सम्बन्धित कम्पनीले नै उनी उक्त अवधिमा कार्यरत नभएको र सो प्रमाणपत्रको कुनै अभिलेख नरहेको जनाएको थियो । सोही आधारमा उनले २०७३ फागुन १० गते सेवा करारमा कम्पनी सचिव पद हासिल गरेका थिए भने पछि सो नियुक्ति सञ्चालक समितिबाट अनुमोदन भएको थियो । आयोगका अनुसार उनले २०७३ फागुनदेखि २०८२ मंसिरसम्म सो पदमा रही एक करोड सात लाखभन्दा बढी रकम बराबरका सेवा सुविधा लिएका छन् । झुट्टा विवरण पेश गरी सार्वजनिक पद प्राप्त गरेको कार्य भ्रष्टाचारसम्बन्धी कानुन विपरीत भएको ठहर गर्दै आयोगले कैद तथा जरिवानाको मागसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

११- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी स्वास्थ्य संस्थाबाट हुने भएको छ । मन्त्रालयका अनुसार नेपाल सरकारबाट स्वीकृति प्राप्त वा सरकारकै स्वामित्वमा रहेका स्वास्थ्य संस्थाले अब वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरणका लागि प्रक्रिया शुरु गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विदेश जानुअघि कामदारले नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्थाबाट अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था छ । साथै, वैदेशिक रोजगार नियमावली, २०६४ ले सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाबाट समेत यस्तो परीक्षण गराउन सकिने स्पष्ट गरेको छ । मन्त्रालयले २०८२ चैत १७ गते मन्त्रीस्तरीय निर्णयअनुसार सूचीकरण प्रक्रिया अगाडि बढाइएको र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ अनुसार आवश्यक प्रक्रिया सुरु गरिएको मन्त्रालयले जानकारी दिएको छ । यस निर्णयसँगै मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताएको छ ।
१२- प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री बालेनले सुदूरपश्चिमका सबै दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग सरकारको प्राथमिकता र प्रदेशको विकास गर्ने एजेण्डाका बारेमा छलफल गरेका हुन् । यसअघि उनले सोमबार कोशी र कर्णालीका सांसदहरुसँग छलफल गरेका थिए ।
१३- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । २०८१ असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका राउत ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । राउत अवकाश पाएसँगै सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन् । २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका राउत ८ वर्षमै प्रधानन्यायाधीश बन्न सफल भएका थिए । वकिलबाटै सीधै सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश बन्न सफल भएका राउतले १८ महिना सर्वोच्च अदालतको नेतृत्व गरेका छन् । राउत अवकाशमा गएसँगै अब नयाँ प्रधानन्यायाधीशको दौडमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन् । न्यायपरिषद् ऐनको दफा ४ मा नियुक्तिको एक महिनाअगाडि सिफारिस गर्ने व्यवस्था छ । संविधानको धारा १२९ ले नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गरेको छ ।
१४- लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि भएको आक्रमणमा तीन शान्ति सैनिकको मृत्यु भएको छ ।उक्त घटनामा तीन जना इन्डोनेशियाली सैनिकको ज्यान गएको हो । सो घटनाको इन्डोनेशियाले कडा निन्दा गरेको छ । इन्डोनेशियाका विदेश मन्त्री सुगियोनोले घटनालाई जघन्य अपराध भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् । उनले संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेससँग कुराकानी गर्दै घटनाको छिटो, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन् । इन्डोनेशियाले फ्रान्सको पहलमा बोलाइएको संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालीन बैठकलाई पनि समर्थन जनाएको छ । संयुक्त राष्ट्रका अनुसार दुई सैनिकको मृत्यु सामग्री ढुवानी गरिरहेको काफिलामाथि भएको विस्फोटमा भएको हो भने अर्का एक सैनिकको मृत्यु शान्ति मिसनको आधार शिविरभित्र भएको विस्फोटमा भएको बताइएको छ ।
१५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । सभापति लामिछानेको निजि निवास बुढानिलकण्ठमा मंगलबार बिहान भएको भेटवार्तामा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको थियो । छलफलमा पछिल्लो जनादेशअनुसार समग्र देशको विकासमा सहकार्य गरेर अघि बढ्ने कुरामा एकमत भएको लामिछानेको सचिवालयले जानकारी दिएको छ ।
१६- संघीय संसद्को अधिवेशन चैत्र १९ गतेदेखि शुरु हुने भएपछि संघीय संसद् सचिवालयले तयारी शुरु गरेको छ । संसद सचिवालयले अधिवेशन अघि तयारीका बारेमा छलफल गर्न दलहरूको बैठक आह्वान गरेको हो । बैठकको तयारीका लागि बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित सचिवालयमा सर्वदलीय बैठक बस्ने भएको हो । बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ६७ सयले बढेर तोलाको २ लाख ९० हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले बढेर ४८४५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४७०० मा कारोबार भएको थियो ।

१८- नेपाल राष्ट्र बैंकले परिपक्व भएको बचतपत्रको साँवा तथा ब्याज रकम यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्र लिएका लगानीकर्ताले २०८१ जेठ मसान्तसम्म परिपक्व भएका तर भुक्तानी लिन बाँकी रहेका रकम तुरुन्त बुझ्न आग्रह गरेको हो । विभागले भनेको छ- ‘नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीले परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकाले यथाशीघ्र सम्पर्क गरी भुक्तानी लिनुहुन अनुरोध छ ।’
१९- कम्बोडियामा अलपत्र परेका १२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ कम्बोडियाको समन्वयमा उनीहरूलाई उद्धार गरिएको हो । उद्धार गरिएका नेपालीहरू चैत्र १६ गते कम्बोडियाबाट उडेर मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनीहरू विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्र तथा क्यासिनोमा गैरकानुनी काममा लगाइएका थिए । साथै केही नेपाली बिना भिसा बसिरहेको अवस्थामा भेटिएको राजदूतावासले जनाएको छ । राजदूतावासका अनुसार कम्बोडियामा यस्तै समस्यामा परेका अन्य नेपालीलाई समेत स्वदेश फर्काउने पहल जारी रहेको छ । यस्तो अवस्थामा रहेका नेपालीलाई शीघ्र सम्पर्कमा आउन आग्रह गरिएको छ । राजदूतावासले अनलाइन ठगी केन्द्रमा काम लगाइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा हराउने समस्या देखिएको जनाएको छ । यस्तो अवस्थामा नेपाल फर्किन चाहनेका लागि राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको छ । पछिल्लो तथ्याङ्कअनुसार कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको देखिएको छ । सन् २०२१ मा १०१ जना नेपाली गएकोमा सन् २०२५ मा यो संख्या बढेर ९६७६ पुगेको छ । राजदूतावासले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र छिटो धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकमा भ्रमणको बहानामा नजान पुनः आग्रह गरेको छ ।

२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जमिनबाट सैन्य कारबाहीको आदेश दिन सक्ने संकेत देखिएको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जनरलको रिपोर्ट अनुसार ट्रम्प इरानसँग रहेको समृद्ध युरेनियम नियन्त्रणमा लिन चाहेको उल्लेख छ । रिपोर्टमा इरानसँग करिब ४०० किलो समृद्ध युरेनियम रहेको उल्लेख छ, जसलाई आणविक हतियार निर्माणमा प्रयोग गर्न सकिने बताइएको छ । ट्रम्पले आफ्ना सहयोगीहरूलाई इरानले उक्त युरेनियम छोड्नै पर्ने भन्दै वार्ताबाट सम्भव नभए बल प्रयोग गरेर पनि नियन्त्रणमा लिन सकिने बताएका छन् । यसैबीच अमेरिका मध्यपूर्व क्षेत्रमा थप करिब १० हजार सैनिक पठाउने तयारीमा रहेको जनाइएको छ, जसमा ३५ सय सैनिक पहिले नै त्यहाँ पुगिसकेका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीका अनुसार इरानको ठूलो युरेनियम भण्डार केही आक्रमणपछि भग्नावशेषमुनि दबिएको हुन सक्ने अनुमान गरिएको छ । यो सामग्री इस्फहान र नतांजजस्ता भूमिगत संरचनामा रहेको हुन सक्ने बताइएको छ । इरानका विदेशमन्त्री अब्बास आघराचीले भने अधिकांश युरेनियम भग्नावशेषमुनि रहेको र तत्काल निकाल्ने योजना नभएको बताएका छन् । साथै इरानसँग अझै युरेनियमलाई थप समृद्ध बनाउन सक्ने उपकरणहरू रहेको र नयाँ गोप्य संरचना बनाउन सक्ने क्षमता पनि रहेको जनाइएको छ । रिपोर्टअनुसार ट्रम्प र उनका केही सहयोगी सीमित र लक्षित सैन्य कारबाहीमार्फत युरेनियम नियन्त्रणमा लिन सकिने विश्वासमा छन् । यसले युद्ध लामो नलम्बिने र छोटो समयमै टुंग्याउन सकिने उनीहरूको धारणा छ । ट्रम्प स्वयं पनि लामो युद्धबाट टाढा रहन चाहिरहेका बताइएको छ । तर विज्ञहरूले यस्तो जमिनीय कारबाही जोखिमपूर्ण हुने चेतावनी दिएका छन् । उनीहरूका अनुसार ठूलो संख्यामा सैनिक इरानभित्र पठाउनुपर्ने हुन्छ, जसले थप द्वन्द्व र जनधनको क्षति बढाउन सक्छ । यदि जबरजस्ती युरेनियम नियन्त्रणमा लिन प्रयास गरियो भने इरानबाट कडा प्रतिकार हुनसक्ने र युद्ध झन् लम्बिन सक्ने आशंका गरिएको छ ।
#ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD



