अस्ट्रेलियाले सामाजिक सञ्जाल कम्पनीलाई कारवाही गर्ने

 

काठमाडौँ । अष्ट्रेलियाको अनलाइन सुरक्षा निकायले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा खाता खोल्न नरोकेको भन्दै ठूला सामाजिक सञ्जाल प्लेटफर्मविरुद्ध अदालत जाने तयारी गरेको छ । यसमा फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक र युट्युब जस्ता प्लेटफर्म रहेका छन् ।

अष्ट्रेलियामा १० डिसेम्बर २०२५ देखि लागू भएको कानुनअनुसार १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा खाता राख्न पूर्ण प्रतिबन्ध गरिएको छ । तर सम्बन्धित कम्पनीहरूले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन नगरेको आरोप लागेको छ ।

अनलाइन सुरक्षा आयुक्त जूली इम्मान ग्रान्टले कानुन लागू भएपछि पहिलो अनुपालन प्रतिवेदन सार्वजनिक गर्दै सामाजिक सञ्जाल कम्पनीहरूलाई सबै बालबालिकाका खाता हटाउन निर्देशन दिएकी थिइन् ।

प्रतिवेदनअनुसार हालसम्म करिब ५० लाख अष्ट्रेलियाली खाताहरू निष्क्रिय बनाइएको छ। तर अझै धेरै बालबालिकाका खाता सक्रिय रहेको र उनीहरूले नयाँ खाता समेत बनाइरहेको पाइएको छ । उमेर प्रमाणीकरण प्रणालीलाई बालबालिकाले सजिलै छल्ने गरेको उल्लेख गरिएको छ । ग्रान्टले विशेषगरी केही ठूला प्लेटफर्महरूको कार्यान्वयनप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

उता सञ्चार मन्त्री अनिका वेल्सले केही सामाजिक सञ्जाल कम्पनीहरूले जानाजानी कानुन पालना नगरेको आरोप लगाएकी छन् । उनका अनुसार ती कम्पनीहरूले न्यूनतम प्रयास मात्र गरिरहेका छन् ताकि यस्तो कानुन सफल नहोस् । उनले यदि यस्तो नियम अन्य देशहरूले पनि अपनाए भने सामाजिक सञ्जाल कम्पनीहरूलाई ठूलो असर पर्न सक्ने भएकाले उनीहरू यसलाई असफल बनाउन चाहिरहेको आरोप लगाएकी छन् ।

यदि अदालतले कम्पनीहरूले चरणबद्ध रूपमा कानुन पालना नगरेको ठहर गरेमा ४ करोड ९५ लाख अष्ट्रेलियाली डलरसम्म जरिवाना हुन सक्ने प्रावधान छ ।

सुरक्षा निकायले आगामी जुनसम्म कुन-कुन कम्पनीविरुद्ध मुद्दा दायर गर्ने भन्ने निर्णय गर्ने जनाएको छ । हाल भने रेडिट, एक्स, किक, थ्रेड्स र ट्विचविरुद्ध तत्काल कुनै कारबाही अघि बढाइएको छैन ।

#Australia #SocialMedia #Law #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages