

स्वास्थ्य अधिकारीहरूकाअनुसार वर्षौंको प्रतिकार्य प्रयासपछि प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को सरकारले बिहीवार एमपक्स प्रकोप राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकालका रूपमा अन्त्य भएको घोषणा गरेको छ । सरकारी अधिकारी, स्वास्थ्य विज्ञ र अन्तर्राष्ट्रिय साझेदारहरूको उपस्थितिमा आयोजित एक आधिकारिक समारोहमा यो घोषणा गरिएको हो ।

स्वास्थ्य मन्त्री रोजर काम्बाले महामारीको अन्त्य इबोला लगायतका विगतका स्वास्थ्य संकटहरूबाट सिकिएका पाठहरू र सचेत निर्णयहरूको परिणाम भएको बताउनु भयो । उहाँले देशले एमपक्स, हैजा र इबोला सहित धेरै महामारीहरूको एकैसाथ सामना गर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले भाइरस पुनः बल्झिन नदिन निरन्तर निगरानी र पूर्वतयारी आवश्यक रहेकोमा जोड दिनुभयो ।
नेशनल इन्स्टिच्युट फर बायोमेडिकल रिसर्चकाअनुसार सन् २०२४ को पहिलो हप्तादेखि २०२६ को दोस्रो हप्ताको बीचमा ८० हजार भन्दा बढी नमुना परीक्षण गरिएको थियो । जसमा प्रयोगशालाद्वारा प्रमाणित ३४ हजार भन्दा बढी संक्रमित फेला परेका थिए भने २ हजार २ सय भन्दा बढीको मृत्यु भएको थियो ।

डीआरसीले सन् २०२२ को डिसेम्बरमा एमपक्स प्रकोपको घोषणा गरेको थियो । विश्व स्वास्थ्य संगठनले सन् २०२४ अगस्टमा एमपक्सलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको थियो भने सन् २०२५ सेप्टेम्बरमा अफ्रिकाका लागि सो दर्जा हटाएको थियो ।
पहिले मङ्कीपक्स भनिने एमपक्स सन् १९५८ मा पहिलो पटक प्रयोगशालाका बाँदरहरूमा फेला परेको थियो । यो एक दुर्लभ भाइरल रोग हो जुन सामान्यतया शरीरको तरल पदार्थ, श्वासप्रश्वासका थोपाहरू र संक्रमित वस्तुहरूमार्फत सर्ने गर्दछ । यसको संक्रमणले प्रायः ज्वरो आउने, शरीरमा दागहरू देखिने र लिम्फ नोड्सहरू सुन्निने जस्ता लक्षणहरू निम्त्याउँछ ।
– एजेन्सी
#Congo #Mpox #Health #GlobalHealth #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



