आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त भएकी छन् । प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफनो कार्यभार सम्हालेकी छन् । दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्ने बताइएको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको क्षेत्रमा उहाँको पत्रकारिताको लामो अनुभवलाई सरकारको मुलधारमा जोडन यो नियुक्ति गरिएको हो । दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन विधामा २० वर्षभन्दा बढिको व्यवसायीक पत्रकारिताको अनुभव छ । उनले पछिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताको रुपमा खोज पत्रकारिता गर्दै आएकी थिइन् । त्रिभुवन विश्वविद्यालय अन्र्तगतको पद्यमकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आउनुभएकी दाहालले पत्रकारिता,सञ्चार सिप र मौलिक नेतृत्व( अथेन्टिक लिडरसिप) नेतृत्वको प्रशिक्षक समेत हुन् ।  ‘कोभिड : नसोचेको, नभोगेको संकट’ नामको अनुसन्धानमुलक पुस्तककी लेखक समेत रहनु भएकी दाहाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज पत्रकारितासम्बन्धी अवार्डहरुबाट सम्मानित भएकी छन् ।

२-  गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीहरुको अधिकार र सुविधा सुनिश्चित गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । संघका अध्यक्ष शर्मा नेतृत्वको टोली नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई सिंहदरबारमा भेटी बधाई दिनुका साथै विदेशमा बस्ने नेपालीका मुद्दामा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने ‘विदेशमा रहेका नेपालीहरु आफ्नो अनुभव, ज्ञान र पूँजी नेपालको विकासमा योगदा गर्न तयार छन् त्यका लागि वर्तमान सरकारले सहजीकरण गर्नुपर्छ ।’ सो अवसरमा अध्यक्ष शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, अध्यागमनको सुविधा, सम्पत्ति रक्षा, बैंकिङ सुविधा, राष्ट्रिय परिचयपत्र र मताधिकार सम्बन्धी अधिकारहरुको कार्यान्वयनका लागि आफूहरुले सँधै सरकारलाई खबरदारी गर्ने पनि प्रष्ट पारे । यस्तै, विदेशमा रहेका नेपालीहरुको समस्या समाधानका लागि दूतावासहरुमा जनशक्ति अभाव भएकोतर्फ ध्यानाकर्षण गराउँदै  जनशक्ति बृद्धिमा ध्यान दिन र नयाँ दूतावास स्थापनाका लागि पनि पहल गर्न आग्रह गरे । एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सुशासन, भ्रष्टाचार विरोधी र समृद्ध नेपाल निर्माणका लागि विदेशमा रहेका नेपालीहरु वर्तमान सरकारसँग सधैं साथमा रहने प्रतिवद्धता व्यक्त गरे । उनले शुसासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सरकारी स्रोतबाट हुने भए पनि समृद्ध नेपाल बनाउनका लागि ठूला लगानी, ज्ञान र सिप एवं प्रविध आवश्यक पर्ने र त्यसका लागि एनआरएनए सहयोगी हुन सक्ने प्रष्ट पारे । संस्थापक अध्यक्ष महतोले ९० देशमा रहेका नेपालीहरुको साझा आवाज र एकतालाई नेपालको विकास अभियानमा जोड्न सरकारले विशेष ध्यान दिनुपर्ने बताए । जवाफमा परराष्ट्रमन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्थागत सहकार्य गर्ने उल्लेख गरे । उनले हालै सम्पन्न निर्वाचनमा विदेशस्थित नेपालीहरूको महत्वपूर्ण भूमिका रहेको स्वीकार गर्दै एनआरएन नागरिकता सम्बन्धी विषयमा सरकार सकारात्मक भए पनि कानुनी जटिलता फुकाउन केही समय लाग्ने उल्लेख गरे । यसैगरी, युरोपियन देश पोर्चुगलमा रहेका नेपालीहरुको समस्या समाधानका लागि मन्त्रालयले पहल गरिरहेको पनि सो अवसरमा जानकारी दिए ।   त्यस अवसरमा गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय समितिले २२–२३ जुन २०२६ मा आयरल्याण्डको डब्लिनमा आयोजना गर्न लागेको १७औँ युरोप क्षेत्रीय सम्मेलनमा परराष्ट्र मन्त्री शिशिर खनाललाई प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा गरिएको छ ।

३- प्रतिनिधिसभाका नव निर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले आइतबार पद तथा गोपनियताको शपथ लिने भएका छन् । नव निर्वाचित सभामुख अर्यालले आइतबार दिउँसो २: ३० बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिने भएका हुन् । राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थले सूचना जारी गर्दै सभामुखको शपथ कार्यक्रममा उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु र संसद सचिवालयका सचिवहरुलाई आग्रह समेत गरेका छन् । अर्याल आज सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । अर्यालको एकल उम्मेदवारी परेपछि सभामुखमा निर्विरोध निर्वाचित भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् । शुक्रबार सभामुख पदका लागि अर्यालको मात्र एकल उम्मेदवारी परेको थियो । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए ।

४- निरन्तर आक्रमणका बाबजुद इरानको हतियार क्षमता अझै आधा भन्दा बढी सुरक्षित रहेको दाबि गरिएको छ । अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा इरानसँग हजारौँ ड्रोन रहेको र तीमध्ये झन्डै आधा प्रयोगका लागि तयार अवस्थामा रहेको उल्लेख छ । यो विवरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानको सैन्य क्षमता धेरै हदसम्म कमजोर भइसकेको दाबीभन्दा फरक देखिएको छ । यसअघि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि इरानका मिसाइल तथा ड्रोन आक्रमणमा उल्लेख्य कमी आएको बताएका थिए ।  रिपोर्ट अनुसार इरानसँग अझै पनि ५० प्रतिशत मिसाइल लन्चर सुरक्षित रहेको दाबि गरिएको छ । त्यस्तै अमेरिकी रक्षामन्त्री  हेगसेथले ९० प्रतिशत ड्रोन क्षमता कम भएको दाबि गरे पनि इरानसँग अझै आफ्नो क्षमताको आधा भन्दा बढी ड्रोन आक्रमण गर्ने क्षमता बाँकी रहेको बताइएको छ ।  यसैबीच इरानी सेनाले आफ्नो पूर्वाधारमाथि आक्रमण बढे कडा जवाफ दिने चेतावनी दिएको छ । सेनाका प्रवक्ताले पुल, विद्युत् गृह वा ऊर्जा संरचनामा आक्रमण भए मध्यपूर्व क्षेत्रमा रहेका विरोधीका आधारस्थल लक्षित गरिने बताएका छन् । उनले अमेरिकी सैन्य उपस्थिती भएका अन्य देशहरू पनि यसबाट प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।

५-  धुलिखेल देखि खावा खण्ड चैत्र २३ गतेसम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको बैठकको निर्णयानुसार अरनिको राजमार्गको धुलिखेल देखि खावा खण्डमा कालोपत्रे गर्ने काम शुरु हुने भएको हुँदा शनिबारदेखि चैत्र ३० गतेसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार सो सडक भएर संचालन हुने सवारी साधनहरु ठूला चारपाङ्ग्रे सवारी साधनहरु (बस समेत) साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म संचालन हुने छैनन् भने सो अवधिमा टिपर -ट्रकहरु (पास लिएका समेत) चौबिसै घण्टा संचालन नहुने भएका छन् ।

६- सुर्खेतमा शुक्रबार बिहानदेखि बन्द‌ भएको सार्वजनिक यातायात सेवा पुनः सञ्चालन भएका छन् । जिल्ला प्रशासन कार्यालय र यातायात‌ व्यवसायीबीच भएको दशबुँदे सहमतिपछि यातायात‌ व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । प्रशासन र यातायात व्यवसायीबीच तोकिएका काउन्टरबाट मात्र टिकट लिनुपर्ने, बसपार्क बाहिरबाट यात्रु चढाउन नपाइने, बसपार्क बाहिरबाट यात्रु चढाउन नपाइने, बसपार्कबाटै तोकिएको गन्तव्यतर्फ प्रस्थान गर्नुपर्ने, तोकिएको भाडादरअनुसार मात्र भाडा लिनुपर्ने, अनिवार्य रूपमा टिकट जारी गर्नुपर्ने, सीट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, अनुमति प्राप्त सिटमा कुनै किसिमको हेरफेर गर्न नपाइने, दर्ता भएको प्रयोजनअनुसार मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने र यसअघि बन्द गरिएका सार्वजनिक यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने सहमति भएको थियो । यसअघि प्रहरीले यातायात मजदुरहरूलाई धरपकड तथा पक्राउ गरेको र रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्नबाट नरोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरूले शुक्रबार बिहानैदेखि सार्वजनिक यातायात बन्द गराएका थिए ।

७-  प्रधानमन्त्री बालेन शाहले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रदेशको समग्र विकास र समस्याका बारेमा छलफल भएको बताइएको छ  । प्रधानमन्त्री बालेनले यसअघि मधेश प्रदेश, सुदूरपश्चिम, कोशी र कर्णालीका सांसदहरुसँग छलफल गरेका थिए ।

८-  म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ राष्ट्रपतिमा चयन भएका छन् । संसदमा भएको मतदानमा उनलाई बहुमत प्राप्त भएको हो, जहाँ अधिकांश सांसद सेना समर्थक रहेका थिए । संसदमा भएको मतदानमा ५८४ मत खसेकोमा ४२९ मत सेना प्रमुख मिन आङ ह्लाइङको पक्षमा परेको थियो । यससँगै सन् २०२१ मा गरिएको सैनिक कदमपछि देशमाथिको उनको नियन्त्रण अझ बलियो बनेको छ । ६९ वर्षका ह्लाइङ सन् २०११ देखि म्यानमारको सेना प्रमुखका रूपमा कार्यरत थिए । उनले सन् २०२१ मा आङ सान सूकी नेतृत्वको निर्वाचित सरकार हटाएर सत्ता आफ्नो हातमा लिएका थिए र सूकीलाई पक्राउ गरिएको थियो । त्यसपछि देशभर विरोध प्रदर्शन सुरु भई पछि सशस्त्र द्वन्द्वमा परिणत भएको थियो । हालै डिसेम्बर र जनवरीमा सम्पन्न निर्वाचनमा सेना समर्थित दल विजयी भएको थियो । तर विपक्षी दल तथा पश्चिमा देशहरूले उक्त निर्वाचन निष्पक्ष नभएको भन्दै अस्वीकार गरेका छन् । उनीहरूको भनाइमा यो प्रक्रिया सेना शासनलाई निरन्तरता दिन गरिएको हो । विशेषज्ञहरूका अनुसार ह्लाइङ लामो समयदेखि राष्ट्रपतिमा पुग्ने लक्ष्यमा थिए । राष्ट्रपतिमा चयन हुनका लागि उनले सेना नेतृत्व आफ्नो विश्वासपात्र ये विन ऊलाई सुम्पिएका छन् ।

९-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट सशस्त्र प्रहरी निरीक्षकलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । धनुषाको नक्टाझिजस्थित सशस्त्र प्रहरी सुरक्षा बेसमा कार्यरत निरीक्षक वकिल अधिकारीलाई ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो । आयोगका अनुसार कमला-ढल्केवर-बाग्मती सडक निर्माण खण्डमा प्रयोग हुने सवारीसाधन रोक्ने, माटो तथा ग्राभेल झार्न नदिने र विभिन्न बहाना बनाई दुःख दिने गरी सेवाग्राहीसँग घुस माग गरिएको भन्ने उजुरीका आधारमा कारबाही गरिएको हो । बर्दिवासस्थित आयोगको टोलीले मिथिला नगरपालिका- १० लालगढबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।

१०-  इरानमा पक्राउ परेका नेपाली अमृत झाको बारेमा परराष्ट्र मन्त्रालयले अपडेट दिएको छ ।  परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर इरानमा झा युद्ध शुरु हुनु अघि नै पक्राउ परेको जानकारी दिदै उनको विषय हाल अदालतमा रहेको जानकारी दिएको हो ।  मन्त्रालयले उनी पक्राउको विषय अदालतमा रहेकाके अहिले भन्न सकिने अवस्था नरहेको बताउदै झालाई वकिलले भेटेको र उनी सुरक्षित रहेको जनाएको छ  । साथै झाको सकुशल रिहाइका लागि नेपाली नियोग र परराष्ट्र मन्त्रालयले पहल गरिरहेको जानकारी दिएको छ । त्यस्तै मन्त्रालयले मध्यपूर्वका देशहरुमा अहिलेसम्म सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ११ जना पक्राउ परेको जानकारी दिएको हो । त्यस्तै मन्त्रालयले इरानमा हाल ११ जना नेपाली रहेको अपडेट दिएको छ ।

११- अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाएपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको छ । निर्माण कम्पनी कालीरानी फिल्म्स प्रा.लि.ले मंगलबार (चैत २० गते) एक प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लम्साललाई फिल्मबाट हटाउने र उनको ठाउँमा अर्को कलाकार लिएर पुनः छायांकन (रि-सुट) गर्ने निर्णय सार्वजनिक गरेको हो । विज्ञप्ति अनुसार गत चैत २ गतेदेखि झापा आसपासमा चलचित्रको छायांकन भइरहेको थियो । सागर लम्सालको करिब ९० प्रतिशत दृश्यहरू खिचिसकिएको अवस्थामा यो विषय बाहिर आएको हो । निर्माण पक्षले अब लमसाल संलग्न रहेका कुनै पनि दृश्य चलचित्रमा समावेश नगर्ने र ती सबै दृश्य फेरि खिच्ने (रि-सुट) स्पष्ट पारेको छ । चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार ९० प्रतिशत काम सकिएको कलाकारलाई हटाउँदा फिल्मलाई ठूलो आर्थिक क्षति हुने भएको छ ।  विज्ञप्तिमा भनिएको छ, ‘जघन्य अपराधमा आरोप लागिसकेका जो कोही व्यक्ति पनि हाम्रो फिल्मको सदस्य हुन सक्दैनन् । पाण्डव जस्तो पवित्र नाम र विषयवस्तुमा आधारित भएर समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले बनिरहेको फिल्ममा आरोपितलाई प्रश्रय दिँदा न्याय प्रक्रियामा प्रभाव पर्न सक्ने खतरालाई मध्यनजर गर्दै सागर लम्सालसँगको सम्झौता आजकै मितिबाट रद्द गरिएको छ ।’ निर्माण पक्षले घटनाको सत्यतथ्य जाँचबुझका लागि जोडदार माग गर्दै पीडितले यथाशीघ्र न्याय पाउनुपर्ने बताएको छ । आरोपित लमसालले कानुनी बाटो अपनाउने प्रक्रिया आफ्नै ठाउँमा भए पनि नैतिक रूपमा विवादित भइसकेकाले उनलाई फिल्ममा राखिराख्न उचित नहुने प्रस्तुतकर्ता श्रेष्ठको भनाइ छ । बसन्त निरौलाको निर्देशनमा बनिरहेको यस चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठी लगायतका चलेका कलाकारहरूको मुख्य भूमिका रहेको छ। लमसालको ठाउँमा अब कुन कलाकारलाई अनुबन्ध गरिन्छ भन्नेबारे निर्माण पक्षले केही खुलाएको छैन ।

१२-  सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभामुख डीपी अर्याल बन्ने निश्चित भएपछि अब उपसभामुख को बन्छ भन्ने चर्चा शुरु भएको छ । संबिधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने र फरक लिंगको हुनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ । यस अनुसार अब सभामुख रास्वपाबाट अर्याल बन्ने निश्चित भएपछि उपसभामुख अन्य दलबाट महिला बन्ने निश्चित भएको छ । रास्पवाका नेताहरुले उपसभामुख बारे आफुहरु छलफलमा प्रवेश नै नगरेको बताएका छन् । सभामुखको मनोनयन दर्तापछि प्रतिक्रिया दिदै सभापति रवि लामिछानेले उपसभामुखको विषयमा अहिले छलफल नै नभएको बताए । त्यस्तै महामन्त्री कविन्द्र बुर्लाकोटीले संसदलाई प्रभावकारी र मर्यादित रुपमा अघि बढाउनका लागि अन्य दलहरूसँग छलफल सुरु गरेको बताउदै सभामुख चयन भएपछि उपसभामुखको विषयमा छलफल गर्ने बताएका छन् । यस संसदको संबिधान संशोधन गर्ने मुख्य कार्यभार समेत रहेकाले रास्वपाले आफुलाई सहज हुने दललाई उपसभामुख दिन सक्ने विश्लेषण शुरु गरिएको छ । यसका लागि रास्वपाको प्राथमिकतामा दोस्रो ठुलो दल नेपाली काँग्रेस वा यस संसदमा पहिलो पटक पुगेको श्रम संस्कृति पार्टी हुनसक्ने विश्लेषण गरिएको छ । उपसभामुखले सभामुखको अनुपस्थितिमा कार्यभार सम्हाल्ने, संवैधानिक परिषदको सदस्यको रुपमा संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्ने, सभामुख विरुद्धको प्रस्तावमा अध्यक्षता गर्ने, पदभार ग्रहण गरेपछि उपसभामुख राजनीतिक दलको सदस्य भए पनि दलीय निष्ठाभन्दा माथि उठेर तटस्थ रूपमा भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रतिनिधि सभा नियमावली अनुसार संसदको कार्यव्यवस्था परामर्श समिति र अन्य गतिविधिमा सहयोग र सक्रिय भूमिका खेल्ने जस्ता संबिधान अनुसारका भूमिका उपसभामुखका रहेका छन् ।

१३- नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयले दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ । बैंकबाट मनिचेञ्जर कारोवार गर्न इजाजतपत्रप्राप्त गरेको दुई कम्पनि अमृत लक्ष्मी मनि चेन्जर प्रालि मोरङ र सुपर फाइन मनि चेन्जर प्रालि विराटनगर को इजाजत रद्ध गरिएको हो ।  राष्ट्र बैंकको मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

images

१४- इरानले फेरि अर्को अमेरिकी एफ–३५ लडाकु विमान खसालेको दाबी गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बन्धित फर्स समाचार संस्थाको टेलिग्राम पोस्टमा यो दाबी सार्वजनिक गरिएको हो । दाबी अनुसार उक्त लडाकु विमान इरानमाथिको आकाशमा उडान गरिरहेको बेला लक्षित गरी खसालिएको हो । विमान पूर्ण रूपमा नष्ट भएको र त्यसमा रहेका पाइलटबारे कुनै ठोस जानकारी प्राप्त नभएको पनि जनाइएको छ । मेहर समाचार संस्थाले समेत ठूलो विस्फोटपछि पाइलट सुरक्षित रूपमा बाहिर निस्किन सक्ने सम्भावना निकै कम रहेको उल्लेख गरेको छ । यस दाबीबारे अमेरिकी केन्द्रीय कमाण्डले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । इरानले यस अघि अघिल्लो साता पनि इरानले अमेरिकी एफ- ३५ विमान खसालेको दाबी गरेको थियो ।

१५- नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीको वर्तमान परिस्थितिबारे गम्भीर अपिल गर्दै संगठनलाई जोगाउन सबै नेता-कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका छन् । पोखरेलले एमाले स्थापना कालदेखि नै कठिन अवस्थासँग जुध्दै विचार, विधि र संगठनात्मक अनुशासनका आधारमा अघि बढेको पार्टी भएको बताउदै सामूहिक नेतृत्व, आन्तरिक सन्तुलन र आत्मसमीक्षाको अभ्यासले नै एमालेलाई जनताबीच स्थापित गरेको उल्लेख गरेका छन् । उनले हालै सम्पन्न महाधिवेशनलाई स्मरण गर्दै त्यतिबेला पार्टीलाई नयाँ गति दिने र सुधारका विषयमा गम्भीर छलफल भएको उल्लेख गर्दै ती निष्कर्षहरूलाई बिर्सनु नहुने र सबै पक्षलाई त्यसै आधारमा अघि बढ्न आग्रह गरेका छन् । उनले भनेका छन्- ‘हामीमाथि अहिले भइरहेका चौतर्फी षडयन्त्रपूर्ण हमलाको मुकाविला गर्दै लडेको ठाउंबाट धुलो टक्टक्याउंदै उठ्न सक्छौं  !  सिद्धान्तहीन सत्ता स्वार्थ, यसैबाट निर्देशित हुंदै प्रकट हुने सत्ता अवसरवाद , आत्मकेन्द्रीत भई प्रकट हुने अभिव्यक्तिहरू , विधि/ पद्धति विपरित गतिविधिहरू अत्यन्त हानिकारक विषय हुन् । यी कुराबाट बच्दै पार्टीलाई नेपाली जनताको प्रिय पार्टी बनाउन, यसलाई नयां स्तरमा गतिवान बनाउन एकतावद्ध भएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’ पोखरेलले सिद्धान्तभन्दा टाढा गएर व्यक्तिगत स्वार्थमा केन्द्रित हुने प्रवृत्ति, सत्ता केन्द्रित अवसरवाद र विधि-पद्धति विपरीतका गतिविधिले पार्टीलाई कमजोर बनाउने चेतावनी दिएका छन् । उनले गतिलाई बुझ्नैपर्ने बताउदै गति अनुसारको मति बनाउन अपिल गरेका छन् । उनले भनेका छन्- ‘विकसित परिस्थिति अनुसार आफ्ना चिन्तनर व्यवहारमा सुधार गरौं ! आफ्ना ( बिग्रिएका ) मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौं ! गति अनुसार मति सपार्ने काममा लागौं ! सिंगो एमाले पंक्तिले यो कुरा बुझौं !!  अहिले चुनौतीको भूंवरीमा परेको एमालेलाई यसरी मात्र बचाउन सकिन्छ- यसरी मात्र रक्षा गर्न सकिन्छ !!’ पोखरेलले एमाले अहिले चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै संगठनको रक्षा र सुदृढीकरणका लागि साझा प्रयास अपरिहार्य भएको बताएका छन् ।

१६- अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले दुई वरिष्ठ सैनिक अधिकारीलाई पदबाट हटाउने निर्णय गरेका छन् । यसअघि आर्मी प्रमुख जनरल र्‍यान्डी जर्जलाई हटाएपछि थप अधिकारीलाई पनि हटाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रिपोर्ट अनुसार आर्मीको रूपान्तरण तथा तालिम कमान्डका प्रमुख जनरल डेभिड होड्ने र आर्मीको च्याप्लिन समूहका प्रमुख मेजर जनरल विलियम ग्रीन जुनियरलाई पदमुक्त गरिएको हो ।  यसैबीच अमेरिकी नौसेनाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड पुनः समुद्रमा फर्किएको छ । अमेरिकी छैटौं बेडाको वक्तव्यअनुसार उक्त जहाज अब पूर्ण रूपमा अभियानका लागि तयार अवस्थामा रहेको छ । उक्त युद्धपोत क्रोएसियाको स्प्लिट बन्दरगाहबाट प्रस्थान गरी आवश्यक परे जुनसुकै क्षेत्रमा परिचालन हुन सक्ने बताइएको छ । गत मार्च १२ मा लाल सागर क्षेत्रमा परिचालनकै क्रममा जहाजको कपडा धुने भागमा आगलागी भएको थियो । अमेरिकी नौसेनाका वरिष्ठ अधिकारी डेरिल कडलले जहाजका कर्मचारीको प्रशंसा गर्दै छिट्टै आगो नियन्त्रणमा लिएको र दुई दिनभित्रै पुनः सञ्चालन सुरु गरिएको बताएका छन् । आगलागीपछि करिब एक सातापछि उक्त युद्धपोतलाई इरानविरुद्धको कारबाहीबाट फिर्ता बोलाएर मर्मतका लागि ग्रीस पठाइएको थियो । त्यहाँ जहाजका आवासीय भागहरूको मर्मतसम्भार गरिएको जनाइएको छ ।

१७- नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी भएका छन् । पाण्डेले ५१४ मत प्राप्त गर्दै अध्यक्षमा जित हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी आङदोर्जी लामाले ४१३ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए । यसैगरी, मंगल शाही नीतिगत उपमहासचिवमा र सन्तोष शाह आन्तरिक उपमहासचिवमा विजयी भएका छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम र सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

१८- नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार पनि सुन तोलाको २ लाख ९४ हजारमा नै कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ४८३० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४७८० मा कारोबार भएको थियो ।

images

१९- गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन नेपाली कांग्रेसले समिति बनाएको छ । कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति बनाएको हो । समितिको सदस्यमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम र युवा अभियन्ता यजश्वी राई रहेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् ।  समितिले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचवुझ आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदनको अध्ययन गरी राय सल्लाह-सुझाव सहितको प्रतिवेदन  पेस गर्ने छ । समितिलाई सात दिनको समय दिइएको छ ।

२०- सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आवासीय विद्यालय स्थापना गर्नका लागि सातै प्रदेशमा अटिजम विद्यालय कार्यान्वयन समिति गठन गरिएको जानकारी दिएका छन् ।  कार्यक्रम प्रभावकारी बनाउन अन्तर मन्त्रालय समन्वय र प्राविधिक समिति गठन गरी कार्यान्वयन तीव्र बनाएको उनले बताएका छन् ।

#आजकासमाचार #समाचारबुलेटिन #नेपालसमाचार #NepalNews #BreakingNews #DailyNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages