अर्यालको शालीनता र व्यवस्थापकीय क्षमताबाट संसद लाभान्वित हुनेछः डा. वाग्ले

 

अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सभामुख पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालको समर्थन गर्दै उहाँको अनुभव र शालीनताले संसदको गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
संसदमा बोल्दै डा. वाग्लेले रास्वपाका संस्थापक नेता एवं उपसभापति अर्याललाई ‘सह–योद्धा र मित्र’ को रूपमा चित्रण गर्दै उहाँको उम्मेदवारीले संसदमा एउटा परिपक्व राजनीतिक र व्यवस्थापकीय अनुभव भित्रिने बताउनुभएको हो । डा. वाग्लेले अर्यालसँग कार्यपालिका र व्यवस्थापिका दुवैको अनुभव रहेको स्मरण गराउनु भयो ।

अर्यालको व्यक्तिगत गुणको चर्चा गर्दै वाग्लेले उहाँमा उत्कृष्ट व्यवस्थापकीय क्षमता, शालीन समन्वयकारी भूमिका र मध्यमवर्गीय संघर्षबाट खारिएको उन्नत चेत रहेको बताउनु भयो । सभामुखको मुख्य गुण तटस्थता हुनुपर्नेमा जोड दिँदै डा. वाग्लेले अर्यालले कुनै दलीय आवद्धता नराखी जिम्मेवारी निभाउनेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले इतिहासका सफल सभामुखहरूको स्मरण गर्दै अर्याललाई ती मानकहरू पछ्याउन सुझाव समेत दिनुभयो ।

पूर्वसभामुख दमननाथ ढुंगानाले संसदलाई जीवन्त बनाउन खेल्नुभएको भुमिका र सुवास नेम्वाङको कानूनी विज्ञता एवं समन्वयकारी क्षमताबाट पनि नयाँ सभामुखले सिक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । डा. वाग्लेले रास्वपाले ‘जेन–जी’ आन्दोलनको मर्म बोकेर अगाडि बढेको उल्लेख गर्दै अर्यालले आधुनिक पुस्ताका अपेक्षा र आकांक्षाहरूलाई आफ्नै शैलीमा ढालेर मौलिकता दिने विश्वास व्यक्त गर्नुभयो ।

#Aryal #DrWagle #Parliament #NepalPolitics #NepalNews #BreakingNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages