दुई वर्ष सकारात्मक बोलौँ,सोचौँ र लेखौँः सभामुख अर्याल

 

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफ्नो कार्यकालमा पूर्ण निष्पक्ष र तटस्थ रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शपथ ग्रहणपछि सिंहदरबारस्थित कार्य कक्षमा पुगेर पदभार ग्रहण गर्दै उहाँले उक्त प्रतिवद्धता जनाउनुभएको हो । उहाँले सभामुखको पदको गरिमा, यसको तटस्थता र निष्पक्षतालाई आफूले गहिरोसँग बुझेको बताउनु भयो । सभामुख अर्यालले अहिलेको संसद २०८२ को विशेष निर्वाचनको म्याण्डेटबाट आएको उल्लेख गर्दै यस पटकको सबैभन्दा बलियो प्रतिपक्ष ‘जनता’ भएको बताउनु भयो ।

सभामुख अर्यालले सदन विशेष गरी प्रतिपक्षको हुनुपर्ने मान्यतामा आफू दृढ रहेको स्पष्ट पार्नुभयो । प्रतिपक्षमा एक जना मात्र सदस्य भएपनि उहाँहरू पावरफुल हुने भन्दै उहाँले प्रतिपक्षको आवाजलाई सम्मानजनक ढंगले उठान र बैठान गर्न आफू लागिपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस पटकको निर्वाचन विगत र भविष्यका निर्वाचनभन्दा फरक छ । म सभामुखको हैसियतमा रहँदा मलाई राम्रोसँग थाहा छ—यस पटकको बलियो प्रतिपक्ष नागरिक नै हुन् ।’
मिडिया र आम नागरिकलाई विशेष अनुरोध गर्दै सभामुखले समाजमा सकारात्मक ऊर्जा फैलाउन आग्रह गर्नुभयो । समाज निर्माणका लागि यो अनिवार्य रहेको उहाँको तर्क थियो ।

Nepal life insurance

वर्षौँदेखि हामीले मिडियामा सकारात्मक समाचार पढ्न पाएका छैनौँ ।’ उहाँले भन्नुभयो, ‘संसारभर रहेका नेपाली र मिडियाका साथीहरूलाई मेरो अनुरोध छ— कम्तीमा दुई वर्ष सकारात्मक बोलौँ, सकारात्मक सोचौँ र सकारात्मक लेखौँ ।’
प्रतिनिधि सभाको मुख्य काम कानून बनाउनु रहेको उल्लेख गर्दै उहाँले सरकारलाई नीति–नियम बनाउन सहयोग गर्ने र कानुन निर्माणमा अग्रसर हुने बताउनु भयो ।

भौतिक संरचना निर्माणलाई ठूलो विषय नबनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘विश्वमा ध्वस्त भएका संरचनाहरू छिट्टै उठेका इतिहास छन् । हामी पनि छिट्टै संरचना बनाउन सक्छौँ, तर मुख्य कुरा कानून र नीति हो ।’

विगतका दुःखद घटनाहरू (भदौ २३ जस्ता) फेरि नदोहोरिउन् र ‘जेन–जी’ पुस्ताका छोराछोरीले आहुति दिनु नपरोस् भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उहाँले बताउनु भयो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको समन्वयका साथै तीनै तहका सरकार र दुई सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बीच राष्ट्रियता र जनताको हितमा बहस चलाइने उहाँले उल्लेख गर्नुभयो ।

‘हामी राष्ट्र र जनताका लागि काम गर्दैछौँ भने त्यसमा विरोध गर्नुपर्ने कारण नै हुँदैन, त्यसैले समन्वयमा गाह्रो होला जस्तो मलाई लाग्दैन ।’ उहाँले थप्नुभयो ।

पत्रकारहरूलाई सम्मानजनक सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै सभामुख अर्यालले समस्या मात्र नथुपारी समाधानका लिखित प्रश्तावहरू लिएर आउन आग्रह गर्नुभयो । उहाँले आफ्नो अनुभव र कार्यशैलीबाट सदनमा देखिने गरी परिवर्तन ल्याउने दाबी गर्दै त्यसका लागि केही समय पर्खिदिन आग्रह गर्नुभयो ।

#Aryal #SpeakerOfParliament #PositiveThinking #NepalPolitics #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages