आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुबै सदनलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले नेपाल सकार मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ९५ बमोजिम चैत २७ गते शुक्रबार दिउँसो ३ बजे संसदका दुबै सदनलाई सम्बोधन गर्ने भएका हुन् । राष्ट्रपति कार्यालय शीतलनिवासका सचिव महादेव पन्थले एक विज्ञप्ती जारी गर्दै उक्त दिन दुबै संसदका सदस्यहरुको उपस्थितिका लागि आग्रह गरिएको छ ।

२- विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक परिदृश्य अनुसार, मध्यपूर्वमा जारी द्वन्द्व र विस २०८२ साल भदौको आन्तरिक आन्दोलनको असरका कारण नेपालको आर्थिक वृद्धिदर अघिल्लो आर्थिक वर्ष २०८१/८२ (४.६ प्रतिशत) का तुलनामा घटेर आर्थिक वर्ष २०८२/८३ मा (२.३ प्रतिशत) मा सीमित हुने प्रक्षेपण गरिएको छ । आगामी दिनलाई हेर्दा पुनर्निर्माण कार्य, जलविद्युतको निरन्तर विस्तार र २०८४ सालमा हुने प्रदेश तथा स्थानीय निर्वाचनसँग सम्बन्धित उपभोगका कारण आर्थिक वर्ष २०८४/८५ मा आर्थिक वृद्धिदर औसत ४.४ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । आज सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट  ‘आर्थिक वृद्धि दबावमा: आन्तरिक र विश्वव्यापी आघातहरूको सामना’ प्रतिवेदनले सुस्त पर्यटन गतिविधि, उच्च यातायात खर्च र आपूर्ति शृङ्खलामा आउन सक्ने सम्भावित अवरोधका कारण आर्थिक वर्ष २०८२/८३ मा सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरेको छ । आर्थिक परिदृश्य अझै पनि ज्यादै अनिश्चित छ। मध्यपूर्वमा लम्बिएको द्वन्द्वले पर्यटकको आगमन घटाउन सक्ने, विप्रेषण प्रवाहमा कमी ल्याउन सक्ने, उपभोग कमजोर बनाउने र समग्र आर्थिक गतिविधिलाई सुस्त बनाउन सक्ने देखिएको उल्लेख छ । सकारात्मक पक्षतर्फ, फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सुधारिएको राजनीतिक स्थिरता, सबल समष्टिगत आर्थिक व्यवस्थापन, पर्याप्त विदेशी विनिमय सञ्चिति र निरन्तर संरचनागत सुधारले लगानीकर्ताको मनोबल ऊँचो बनाउनुका साथै निजी लगानी र वृद्धिलाई बढावा दिन सक्ने प्रतिवेदनले औल्याएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले भने- ‘नेपालको आर्थिक उत्थानशीलतालाई सुदृढ र थप रोजगारी सिर्जना गर्न निजी क्षेत्रको नेतृत्वमा हुने आर्थिक वृद्धिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसका लागि नेपालले व्यावसायिक वातावरणमा सुधार गर्नुपर्छ, आधारभूत पूर्वाधारको विकास गर्नुपर्छ, निजी लगानी परिचालन गर्नुपर्छ र पर्यटन, सूचना प्रविधि तथा कृषि व्यवसाय जस्ता प्राथमिकताका क्षेत्रहरूलाई सहयोग प्रदान गर्नुपर्छ ।’ नेपाल डेभलपमेन्ट अपडेट विश्व बैंक समूहको दक्षिण एसियाली आर्थिक अपडेट को सहयोगी प्रतिवेदन हो, जुन दक्षिण एसियाली क्षेत्रको आर्थिक विकास र सम्भावनाहरूको विश्लेषण गर्ने अर्धवार्षिक प्रतिवेदनका रुपमा रहको छ । पछिल्लो दक्षिण एसियाली आर्थिक अध्ययन ‘औद्योगिक नीतिसँगको सहकार्य’ ले विश्वव्यापी ऊर्जा बजारमा आएको अवरोधका कारण दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२५ को ७ प्रतिशतको तुलनामा घटेर सन् २०२६ मा ६.३ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ। आर्थिक वृद्धिमा आउने यो गिरावटका बावजुद दक्षिण एसिया अन्य उदीयमान बजार र विकासोन्मुख अर्थतन्त्रहरूको तुलनामा दक्षिण एसियामा अझै पनि द्रुत गतिमा विस्तार भइरहेको छ। सन् २०२७ मा यो वृद्धिदर ६.९ मा फर्किने अपेक्षा गरिएको छ । यस क्षेत्रीय प्रतिवेदनमा औद्योगिक नीति सम्बन्धी विस्तृत विश्लेषण समेत समेटिएको छ । औद्योगिक नीति यस्तो उपकरण हो, जसलाई सरकारले बजारको भरमा मात्रै नछोडी अर्थतन्त्रले के उत्पादन गर्छ भन्नेबारे निर्धारण गर्न प्रयोग गर्दछ। विश्वभरका सरकारहरूले औद्योगिक नीतिको प्रयोग बढाउँदै लगेका छन् र दक्षिण एसियामा अन्य उदीयमान अर्थतन्त्रहरूको तुलनामा झण्डै दोब्बर दरमा औद्योगिक नीतिहरू कार्यान्वयन भइरहेका छन्। तर, दक्षिण एसियामा यी उपायहरूको नतिजा भने मिश्रित देखिएको छ । दक्षिण एसियाका लागि विश्व बैंक समूहकी प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओनसर्जले भने- ‘औद्योगिक नीतिमा दक्षिण एसियाको मिश्रित सफलताले केही देशहरूमा सीमित कार्यान्वयन क्षमता, कमजोर वित्तीय अवस्था र बजारको सानो आकारलाई प्रतिबिम्बित गरेको छ । व्यापक सुधारहरू प्राथमिकतामा रहँदा रहँदै पनि औद्योगिक पार्क, सीप विकास कार्यक्रम, बजार पहुँचमा सहयोग र निर्यात गुणस्तर मापदण्ड सुधार गर्ने जस्ता उपायहरू मार्फत थप प्रभावकारी रुपमा योजनाबद्ध गरिएका औद्योगिक नीतिहरूले विशिष्ट बजार असफलतालाई सम्बोधन गर्न सक्छन् ।’ दक्षिण एसियाली आर्थिक अपडेटले शहरी विकास, पर्यटन र डिजिटल सेवा जस्ता क्षेत्रहरूमा सावधानीपूर्वक तयार गरिएका नीतिगत उपायहरू लागू गर्न सुझाव दिएको छ। साथै, रोजगारी सिर्जनाका लागि अपरिहार्य मानिएका समग्र व्यावसायिक वातावरण, नियामक पूर्वानुमानयोग्यता र राज्यको क्षमतामा व्यापक सुधार गर्न सुझाव दिइएको छ ।

Nepal life insurance

३-  नेपाली कांग्रेसले सरकारले बनाएको संविधान संशोधन कार्यदलका विषयमा पार्टीको धारणा सार्वजनिक गरेको छ । कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउने विषयमा चार शर्तसहित पार्टीको धारणा सार्वजनिक गरेको हो । संविधान संशोधनपूर्व व्यापक छलफल र सहमति आवश्यक भएकाले सरकारले यस विषयलाई प्राथमिकतामा दिएको कुरालाई कांग्रेस स्वागत गर्ने जनाएको छ । काँग्रेसले संविधानसभामार्फत नेपालको संविधान जारी भएको १० वर्ष पुगेको जनाउँदै कांग्रेसले संविधान स्वयंले पनि आफैभित्र पुनरावलोकनको परिकल्पना गरेको उल्लेख गरेको छ । संविधान एक गतिशील र परिवर्तनशील दस्तावेज भएकाले नागरिकको भावना र आवश्यकताअनुसार यसलाई समयानुकूल संशोधन, परिमार्जन र अद्यावधिक गर्दै लैजानु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको कांग्रेसले बताएको छ ।  नेपाली कांग्रेस संविधानले अङ्गीकार गरेका लोकतन्त्र, नेपाल राज्यको विशेषताहरू, गणतन्त्र, संघीयता, नागरिक सर्वोच्चता, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुलवादमा आधारित बहुदलीय संसदीय व्यवस्था, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, समानुपातिक समावेशी सिद्धान्त, खुला समाज र मानवअधिकार लगायतका सारभूत मूल्य–मान्यतामा कुनै पनि सम्झौता नगरी र संकुचित नहुने गरी यसलाई अझ सुदृढ बनाउनु पर्छ भन्ने मान्यता राख्ने समेत बताइएको छ ।  कांग्रेसका चार शर्त : १.  हामीलाई प्राप्त पत्रमा उल्लेख भए अनुसार यस कार्यदलको काम बहसपत्र तयार गर्ने भनिएको छ । तर पत्रमा कार्यदलको क्षेत्राधिकार, सीमा र भूमिकाबारे स्पष्ट उल्लेख नगरिएको हुँदा कार्यदलको विधि र कार्यक्षेत्रका सन्दर्भमा हामी स्पष्ट हुन चाहन्छौं ।  २. सशस्त्र द्वन्द्व पश्चात संक्रमणकालको कठिन परिस्थितिबाट यो संविधान निर्माण भएको थियो । त्यसपछि पनि संविधानमाथि आम अपनत्व र स्वामित्व स्थापित गर्न विभिन्न समयमा पहिचान लगायतका अधिकारका आन्दोलन र समूहसँग राज्यले गरेका सम्झौता विषयलाई पनि स्मरणमा राख्नु पर्दछ । संविधान संशोधन आफैमा संवेदनशील विषय भएकोले नेपाल सरकारले यो पहल लिँदा सुरुवातदेखि नै यसको वहसलाई सहभागितामूलक, समावेशी र न्यायपूर्ण बनाउने सन्दर्भमा सरकारले आफ्नो धारणा स्पष्ट पार्नु पर्दछ । ३. संविधान संशोधनको बहसमा संघीय संसदमा प्रतिनिधित्व गर्ने बाहेकका राजनीतिक दलहरूसँगको सम्बन्ध एवं समन्वयका विषयमा समेत वर्तमान सरकार स्पष्ट हुनु आवश्यक देखिन्छ । यस सन्दर्भमा खासगरी संविधान निर्माणका महत्वपूर्ण सरोकारवाला पक्ष मधेशी, आदिवासी–जनजाति, थारू, दलित, अल्पसंख्यक लगायत पहिचानका लागि आन्दोलनरत समुदाय र क्षेत्रलाई प्रक्रियामा जोड्न सरकारले के आधार लिएको छ र संविधान कार्यान्यनसँग जोडिएका प्रदेश र स्थानीय सरकारको सहभागिताको विषयमा सरकारको धारणा के छ स्पष्ट हुनुपर्छ ।  ४. अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको नेतृत्वमा सरकार गठन भएको छ । वर्तमान संविधान, संविधानले अंगीकार गरेको आधारभूत मूल्य–मान्यता र संशोधन गर्ने प्रस्तावित विषयप्रति नेपाल सरकार र सरकारको नेतृत्वकर्ता दलको प्रतिबद्धता एवं धारणा प्रष्ट रूपमा आउन आवश्यक छ । सरकार र नेतृत्वकर्ता दलको प्रतिवद्धता र बहसपत्रको तयारीका निमित्त संशोधनका प्राथमिकताका विषयमा स्पष्ट धारणा आयो भने कार्यदलको भूमिका र उपस्थिति थप प्रभावकारी हुन सक्दछ ।

४-  सरकारले सार्बजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढाएको छ । बुधबारदेखि लागु हुने गरि यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढाएको हो । सुचकका रुपमा रहेका इन्धनका बजार मूल्य ५ प्रतिशत वा सा भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडा बढाइएको जनाएको छ । पछिल्लो पटक डिजेलको औसत बजार मूल्य प्रतिलिटर १५०.८३ हुँदा २०८१ पुस २२ मा भाडा समायोजन गरिएको थियो । त्यसयता विभिन्न सुचकहरुको वजारमुल्यमा आएको परिवर्तन र ईन्धनको मुल्यमा भएको वृधि समेतलाई विचार गरि आजदेखि लागु हुनेगरि दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा ) सञ्चालन हुने सार्वजनिक यातायात (विद्युतीय सवारी बाहेक) को भाडादर स्वचालित प्रणाली बमोजिम भाडादर बढाइएको विभागले उल्लेख गरेको छ । विभागले सार्वजनिक सवारीको प्रकार यात्रुवाहक सवारी भाडामा भएको स्वचालित समायोजन १६.७१ प्रतिशत बढाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक यातायातमा २१.६८ प्रतिशत भाडा दर बढाएको  छ । त्यसैगरी तराईको बाटोमा सञ्चालन हुने यातायातका साधनमा १५.७५ प्रतिशत मुल्य वृद्धि गरिएको छ ।

५- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार दाहालले विभिन्न आपूर्तिकर्ता कम्पनी र ठेकेदारको बिल भुक्तानी गर्दा घुस लिने गरेको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। सोही आधारमा टंगालस्थित आयोगको टोलीले उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने प्रक्रियामा गैरकानुनी लाभ लिन योजनाबद्ध रूपमा विभिन्न कम्पनीका प्रतिनिधिसँग मोलमोलाइ गरी घुस लिएको खुलेको छ । सेवाग्राहीबाट ९३ हजार ८५० रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर हुने भन्दै आयोगले सोही रकम बिगो कायम गरी कैद र जरिवानाको मागदाबी सहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।

६-  प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूलाई मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो सरकार उत्सुक रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित सामूहिक शिष्टाचार भेटका अवसरमा प्रधानमन्त्री शाहले नेपाल सरकार सबै देशहरुसँगको सम्बन्धलाई उच्च महत्व दिने, विश्वास गर्ने र पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने- ‘नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ। हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ । नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकोमा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’ प्रधानमन्त्री शाहले विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा जोड दिए । उनले भने- ‘चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ। यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु। यहाँ उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।’ प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताए । यस्तै, उनले राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य राखिएको समेत उल्लेख गरे । उनले भने- ‘नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन। हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ ।’  उनले विकास, व्यापार, लगानी, जलवायु कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको जानकारी दिए । यसैगरी विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको विषयमा उनले जोड दिए ।

७- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलर्य फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयले बुधबार विज्ञाप्ति जारी गर्दै देशका केही संस्थागत विद्यालयले अझै पनि कानुन विपरित शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको भन्दै गैरकानुनी रुपमा लिएको शुल्क फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको हो  । मन्त्रालयले कुनैपनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको प्राव्धान तथा अन्य प्रचलित  कानुन बमोजिम थप कारवाही प्रकृया अगाडि बढाउनुपर्ने अवस्थामा गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु र स्थानीय तहहरुबाट आवश्यक समन्वय हुन अनुरोध गरेको छ । साथै, विद्यार्थीको शुल्कासम्बन्धी सिकायत एवम् गुनासोको रिपोर्टिं तथा सहजीकरण प्रयोजनका लागि शिक्ष्ाँ तथा मानवस्रोत विकास केन्द्रमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको मन्त्रालयले जनाएको छ । कसैको सिकायत वा गुनासो भएमा सोही कक्षमा फोन गरी थप साथै, विद्यार्थीको शुल्कासम्बन्धी सिकायत एवम् गुनासोको रिपोर्टिं तथा सहजीकरणसहायता प्राप्त गर्न सकिने र सोकक्षको सम्पर्क व्यक्ति केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौर (फोनः९८५१२१४६३८ इमेल ratthour@gmail.com) सम्पर्क गर्न सकिने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । मन्त्रालयले यसअघि यही चैत २२ गते विज्ञप्ति मार्फत केही संस्थागत विद्यालयहरुmले प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरित हुनेगरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी भारी शुल्क असुली गरेको पाइएकोमा गम्भीर यानाकर्षण भएको जनाउदै नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न गराउन आग्रह गरेको थियो  । मन्त्रालयले कुनै पनि विद्यालयबाट यस्ता गैरकानुनी काम हुन नदिई अभिभावहरुबाट कानुन विपरीत ढङ्गले असुल गरिएको भर्ना शुल्क रकम सम्बन्धितलाई फिर्ता गराने कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै स्थानीय तहहरुलाई अनुरोध पनि गरेको थियो ।

८-  सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्र २७ गते शुक्रबार उपसभामुखको निर्वाचन हुने बताउदै प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई उपसभामुखको निर्वाचनको कार्यतालिका आजै सार्बजनिक गर्न निर्देशन दिएका छन् । सभामुख रास्वपाबाट निर्वाचित भइसकेको अवस्थामा संबिधान अनुसार अब उपसभामुख फरक दलबाट हुनुपर्ने र पुरुष सभामुख भएको अवस्थामा उपसभामुख महिला हुनुपर्ने व्यवस्था रहेको छ ।

९- नेप्सेमा वृद्धि भएको छ । आज बुधबार नेप्से ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार ४४१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, रिलायन्स स्पिनिग मिल्स, श्रीनगर एग्रो,सोलु हाइड्रो र होटल फोरेस्ट इनको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर खुदी, रिज लाइन र सुर्यकुण्ड हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी स्वेत गंगा हाइड्रोको शेयर ४. ०३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ४६ करोड ८१ लाख बराबर कारोबार भएको छ भने रिलाइन्स स्पिनिग मिल्सको ४२ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

१०- इरानसँगको युद्धविरामको सम्झौता लेबनानमा पनि लागु हुने भनिएको भएपनि इजरायलले लेबनानको तटीय सहर टायरमा आक्रमण गरेको छ । आक्रमणअघि नै इजरायली सेनाले स्थानीय बासिन्दालाई तत्काल घर खाली गर्न निर्देशन दिएको थियो । इजरायली सेनाले चेतावनी जारी गर्दै सुरक्षाका लागि जहरानी नदीको उत्तरतर्फ सर्न आग्रह गरेको थियो । सोही चेतावनीपछि सहरमा ठूलो विस्फोट भएको खबर सार्वजनिक भएको छ । सेनाका अनुसार उक्त क्षेत्रमा हिजबुल्लाहका ठेगानालाई लक्षित गर्दै आक्रमण गरिएको हो । अल अब्बासियाह र शिब्रीहा क्षेत्रका बासिन्दालाई विशेष रूपमा सतर्क रहन भनिएको थियो । इजरायलले हिजबुल्लाहबाट सम्भावित खतरा रहेको भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको जनाएको छ । प्रभावित क्षेत्रका मानिसहरूलाई दक्षिणी लेबनानबाट जहरानी नदीको उत्तरतर्फ जान निर्देशन दिइएको छ । इजरायलले लेबनानमा युद्धविराम नहुने स्पष्ट गर्दै आक्रमण जारी रहेको जनाएको छ ।

११- नेपाली काँग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्धाको अनुसन्धानका लागि देउवा दम्पतिविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले पुष्टि गरेको छ ।  गत भदौ २४ गते मा जेनजी अन्दोलनका क्रममा देउवाको निवासमा आगजनी र उनीहरुमाथि दुर्व्यबहार समेत भएको थियो । सो क्रममा उनको निवासमा नगद पैसा जलेको अवस्थामा भेटिएको थियो । देउवा दम्पति हाल विदेशमा रहेका छन् । उनीहरु शुरुमा उपचारको लागि सिंगापुर गएको र त्यसपछि हङकङ गएको बताइएको छ ।

१२- मधेश प्रदेशले जारी पीएम कप अन्तर्गत गण्डकी प्रदेशलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा मधेश प्रदेशले डिएल मेथड अनुसार गण्डकीलाई १८ रनले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ९९ रनको लक्ष्य पछाएको गण्डकीले निर्धारित २२ ओभरमा ५ विकेट गुमाउदै ८० रन मात्र बनाएपछि मधेश प्रदेश १८ रनले विजयी भएको हो । यसअघि मधेश प्रदेशले पहिला ब्याटिंग गर्दै ३४.५ ओभरमा १७२ रन बनाउदा खेल बर्षाले प्रभावित भएपछि खेल २२-२२ ओभर मा झारिएको थियो र गण्डकीलाई डिएल मेथड अनुसार ९९ रनको लक्ष्य दिइएको थियो ।  यो जितपछि मधेश प्रदेशको ६ खेलमा ९ अंक भएको छ र तेस्रो स्थानमा छ ।  त्यस्तै गण्डकी प्रदेशको ७ खेलमा ५ अंक रहेको छ र आठौ स्थानमा रहेको छ । त्यस्तै  बुधबार जनकपुरमा सम्पन्न खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।  कोशी प्रदेशले दिएको १०० रनको लक्ष्य पछाएको बागमतीले ९ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बागमतीका लागि बिबेक मगरले अविजित ६१ रन बनाएका थिए भने रिंगजिन लामाले १७ र प्रतिस जिसीले १७ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले २८.२ ओभरमा अल आउट हुदै ९९ रन मात्र बनाएको थियो । कोशीका लागि कप्तान सुजन थपलियाले २१, अंकित सुबेदीले १९ र रोहण शाहले १८ रन बनाएका थिए । त्यस्तै बागमती प्रदेशका सन्दीप लामिछानेले ५ विकेट लिएका थिए भने रिजन ढकालले २ विकेट लिएका थिए । यो जितपछि बागमती प्रदेशको ७ खेलमा ६ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै कोशी प्रदेशको भने ७ खेलमा यो छैटौं हार हो ।

१३- परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरुलाई प्रस्तुति दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित उक्त प्रस्तुतीकरणमा सबै मन्त्रीहरुलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुती दिएको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् । राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुती दिएका थिए । सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी गराएका थिए । नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूलाई उनले विशेष जोड दिएका थिए ।  साथै, विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य पालनाका विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुती गरिएको थियो ।

१४- अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । युद्धविरामको विषयमा बोल्दै उनले चीनको पहलले इरानलाई संवादतर्फ ल्याउन सहयोग पुगेको बताएका हुन् । एक टेलिफोन अन्तर्वार्ताका क्रममा चीनले इरानलाई युद्धविरामका लागि प्रेरित गरेको हो कि भन्ने प्रश्नमा ट्रम्पले ‘हो, मैले त्यस्तो सुनेको छु’ भन्दै प्रतिक्रिया दिएका थिए । यद्यपि, यस विषयमा चीनको परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेको छैन । यसैबीच, वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लियू पेंगयुले भने द्वन्द्व सुरु भएदेखि नै चीनले युद्ध रोक्न र युद्धविराम गराउन पहल गर्दै आएको बताएका छन् । उनका अनुसार शान्तिका लागि हुने सबै प्रयासलाई चीनले स्वागत गर्छ र सबै पक्षले संवादमार्फत मतभेद समाधान गर्नुपर्छ । चीनले अहिलेको अवस्थालाई अवसरका रूपमा लिएर सम्बन्धित सबै पक्षले चाँडै द्वन्द्व अन्त्य गर्ने विश्वास पनि व्यक्त गरेको छ । यसअघि सन् २०२३ मा इरान र साउदी अरेबियाबीच भएको सहमतिमा पनि चीनले महत्वपूर्ण भूमिका खेलेको थियो । अमेरिका-इजरायल ४० दिनदेखि जारी युद्ध दुई साता रोक्न इरानसँग सहमत भएका छन् ।यसका लागि पाकिस्तानले प्रत्यक्ष मध्यस्थता गरेको थियो । अब अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने बताइएको छ ।

१५- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । समितिका सभापतिहरुलाई राष्ट्रिय सभाका अध्यक्ष नारायाण प्रसाद दाहालले पद तथा गोपनियताको शपथ गराएका हुन् । मंगलबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा पूजा चौधरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापतिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाया निर्वाचित भएका थिए । राष्ट्रिय सभामा चार दलबीच भएको सहमति अनुसार एमालेबाट उपाध्यक्ष बनेपछि दुई समितिको सभापति नेपाली काँग्रेस तथा नेकपा र जसपा नेपालले एक एक सभापति पाउने गरी सहमति गरे अनुसार सभापति चयन भएका थिए ।

१६- बलिवुडको एक अवार्ड कार्यक्रममा कलाकार राजपाल यादवमाथि गरिएको टिप्पणीको विषय अहिले विवादमा तानिएको छ । कार्यक्रममै उनको व्यक्तिगत जीवन र ऋणसम्बन्धी कुरा उठाएर मजाक गरिएको भन्दै कलाकारहरूबाट विरोध बढ्न थालेको हो । कार्यक्रममा अभिनेता राजपाल यादवले डलरको मूल्यबारे बोलिरहेका बेला सञ्चालक सौरभ द्विवेदीले उनको चेक बाउन्स प्रकरणलाई जोडेर लिएको ऋण तिर्नुपर्ने बताउदै व्यंग्य गरेका थिए । उनले डलरको भाउ बढे वा घटे पनि लिएको ऋण तिर्नै पर्ने टिप्पणी गरेपछि विवाद सुरु भएको हो । अप्रिल ५ मा मुम्बईमा आयोजित कार्यक्रममा सौरभ द्विवेदी र जाकिर खानले सञ्चालन गरेका थिए । यस विषयमा अभिनेता सलमान खानले राजपालको समर्थन गर्दै उनलाई अहिलेको डलरकै मुल्यमा काम मिल्ने भन्दै उनीविरुद्ध गरिएको व्यंग्यप्रति लक्षित गर्दै राजपालको समर्थन गरेका थिए । त्यसपछि गायक मीका सिंहले पनि राजपालको खुलेर समर्थन जनाएका छन् । उनले सार्वजनिक रूपमा यस्तो व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै पुरस्कार समारोहजस्तो सम्मानित मञ्चमा कसैको व्यक्तिगत विषयमा टिप्पणी गर्नु अनुचित भएको बताएका छन्। मीका सिंहले भने- ‘म राजपाल यादवको साथमा छु । कुनै पनि कलाकार कठिन अवस्थामा हुँदा साथ दिनु हाम्रो कर्तव्य हो । सार्वजनिक मञ्चमा सम्मान र मर्यादा पहिलो प्राथमिकता हुनुपर्छ ।’ यसैबीच, अखिल भारतीय चलचित्रकर्मी संघले पनि घटनाको निन्दा गरेको छ । संघले राजपाल यादव सम्मानित कलाकार भएको उल्लेख गर्दै यस्तो व्यवहार स्वीकार्य नभएको जनाएको छ ।  संघले उदाहरण दिँदै हरेक कलाकारको जीवनमा उतारचढाव आउने भए पनि सम्मान कहिल्यै घट्नु नहुने बताएको छ । राजपाल यादवले वर्षौंदेखि दर्शकलाई हँसाउँदै आएको स्मरण गर्दै कठिन समयमा साथ दिनुपर्नेमा जोड दिइएको छ । राजपाल यादव पछिल्लो समय आर्थिक तथा कानुनी समस्यामा परेका छन् । पुरानो चलचित्र निर्माणका लागि लिएको ऋण नतिरेको आरोप र चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनी जेल बसेर केहि समय अघि बाहिर आएका थिए ।

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७२ सयले बढेर तोलाको २ लाख ९९ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले बढेर ५०२५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८२० मा कारोबार भएको थियो ।

१८- युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई पराजित गरेको छ । रियल म्याड्रिडको घरेलु मैदानमा गएराती भएको क्वाटरफाइनलको पहिलो लिगमा बायर्न म्युनिखले २-१ गोल अन्तरको जित हासिल गरेको हो । बायर्न म्युनिखको जितमा लुइस डियाज र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पेले एक गोल फर्काएका थिए । पहिलो लिगमा २-१ को अग्रता बनाएसँगै अब दोस्रो लिग अप्रिल १५ मा बायर्नको घरेलु मैदानमा हुने छ । त्यस्तै आर्सनलले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा स्पोर्टिंग सिपिमाथि अग्रता हासिल गरेको छ । स्पोर्टिंग सिपिको घरेलु मैदानमा गएराती सम्पन्न क्वाटरफाइनलको पहिलो लिगको खेलमा आर्सनलले १-० को जित हासिल अग्रेको हो । खेलको ९० मिनेटपछिको इन्जुरी समयमा काइ हाभेर्टले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १५ मा आर्सनलको घरेलु मैदानमा हुने छ ।

१९- अमेरिका-इजरायल र इरानबीच दुई साताका लागि युद्धविरामको खबर सार्वजनिक हुनासाथ इरानमा खुशीको माहोल देखिएको छ । राजधानी तेहरानमा हजारौँ नागरिक सडकमा उत्रिएर उत्सव मनाएका छन् । बुधबार बिहानैदेखि ठूलो सङ्ख्यामा मानिसहरू सडकमा भेला भएर खुसी साटासाट गरेका छन । उनीहरूले इरानका झण्डा फहराउँदै युद्धविरामप्रति स्वागत जनाएका छन् । उत्सवका क्रममा धेरैले हातमा विभिन्न पोस्टर र तस्वीर बोकेका थिए । केहीले इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका तस्वीरसमेत प्रदर्शन गरेका थिए । खामेनीको युद्ध सुरु भएकै पहिलो दिन फेब्रुअरी २८ मा अमेरिका-इजरायलको आक्रमणमा मृत्यु भएको थियो । करिब ४० दिनसम्म निरन्तर चलेको तनाव र आक्रमणपछि आएको युद्धविरामको खबरले सर्वसाधारणमा राहत र उत्साह दुवै देखिएको छ ।

images

२०-  अमेरिका र इरानबीच करिब ४० दिनदेखि जारी युद्धपछि अन्ततः दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र त्यहाँका सेना प्रमुखको आग्रहपछि यस्तो निर्णय गरिएको बताएका छन् । युद्धविरामअघि उनले इरानलाई कडा चेतावनी दिँदै होर्मुज जलडमरूबाट जहाजको सुरक्षित आवागमन नभए गम्भीर परिणाम भोग्नुपर्ने बताएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको मध्यस्थता र अन्तिम समयमा चीनको पहलपछि यो सहमति सम्भव भएको हो । पाकिस्तानले अघि सारेको दुई साताको युद्धविराम प्रस्ताव इरानले स्वीकार गरेको जनाइएको छ । सम्झौताअनुसार अमेरिका र उसका सहयोगी इजरायलले आक्रमण रोक्नेछन् भने इरानले पनि आफ्ना सैन्य गतिविधि स्थगित गर्नेछ । यस अवधिमा होर्मुज जलडमरू हुँदै तेल, ग्यास तथा अन्य जहाजको सुरक्षित आवागमन इरानी सेनाको सहयोगमा सुनिश्चित गरिनेछ । यो युद्धविराम लेबनान लगायतका क्षेत्रमा पनि लागू हुने बताइएको छ । साथै, आगामी अप्रिल १० मा पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच औपचारिक वार्ता सुरु हुने तय भएको छ । युद्धविराम घोषणा भएको करिब दुई घण्टापछि इरानका सर्वोच्च नेताले सबै सैन्य इकाइलाई तत्काल गोलीबारी रोक्न निर्देशन दिएका छन् । सरकारी सञ्चारमाध्यममार्फत जारी वक्तव्यमा सबै सुरक्षा निकायलाई आदेश कडाइका साथ पालना गर्न भनिएको छ । यद्यपि, इरानले यो युद्धको पूर्ण अन्त्य नभई अस्थायी व्यवस्था मात्र भएको स्पष्ट पारेको छ । उता, अमेरिकी पक्षले पनि इरानविरुद्धका आफ्ना सबै आक्रामक सैन्य कारबाही रोकिएको जनाएको छ । तर सुरक्षा र प्रतिरक्षासम्बन्धी गतिविधि भने जारी रहने बताइएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि युद्धविरामको पुष्टि गर्दै पाकिस्तानको भूमिकाको प्रशंसा गरेका छन् । उनले आक्रमण रोकिएमा इरानले पनि आफ्नो प्रतिरक्षात्मक कदम स्थगित गर्ने बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अप्रिल १० मा इस्लामाबादमा दुवै पक्षलाई आमनेसामने वार्ताका लागि निमन्त्रणा गरिएको जानकारी दिएका छन् । उनका अनुसार उक्त वार्ताको उद्देश्य दीर्घकालीन समाधान खोज्नु हो । पाकिस्तानले यस पहलबाट क्षेत्रीय शान्ति र स्थायित्वमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

#आजकासमाचार #प्रमुखसमाचार #२०समाचार #नेपालसमाचार #दैनिकअपडेट #समाचारबुलेटिन #BreakingNews #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages