

इजरायलले लेबनानको मध्य बेरुतस्थित तल्लेट एल खयात क्षेत्रको एउटा भवनलाई लक्षित गरी नयाँ हवाई आक्रमण गरेको छ । इजरायली सेनाले बेरुतमा एक हिजबुल्लाह कमाण्डर लाई निशाना बनाएको बताएको छ । सेनाकाअनुसार दक्षिणी लेबनानमा भएको भिडन्तमा एक इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

यससँगै मार्च २ देखि लेबनानमा मारिने इजरायली सैनिकहरूको कुल संख्या १२ पुगेको छ । इजरायलको कान टिभी न्युजले जनाएअनुसार मंगलवार लेबनानी गाउँ अत–तायबाहमा इजरायली छापा मार्ने क्रममा हिजबुल्लाह सदस्यहरूले गोली चलाउँदा एक सैनिकको मृत्यु भएको र पाँच जना घाइते भएका थिए ।
यसअघि बुधवार इजरायली सेनाले क्षेत्रीय द्वन्द्व शुरु भएयताकै लेबनानभरको सबैभन्दा ठूलो समन्वित आक्रमण सम्पन्न गरेको बताएको थियो । यो आक्रमण अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम लागू भएको केही घण्टापछि भएको हो । इजरायलले आफूले सो युद्धविरामको पालना गर्ने बताएको छ ।

यद्यपि इजरायल र संयुक्त राज्य अमेरिकाले उक्त युद्धविराम लेबनानको हकमा लागू नहुने बताएका छन् । जबकि सम्झौताको मध्यस्थता गरेको पाकिस्तान र इरानले भने यो लेबनानमा पनि लागू हुने दाबी गरेका छन् । लेबनानी नागरिक रक्षा (सिभिल डिफेन्स) द्वारा उपलब्ध पछिल्लो तथ्याङ्कअनुसार बुधवार लेबनानभर भएका इजरायली आक्रमणहरूमा कम्तीमा २ सय ५४ जनाको मृत्यु भएको छ र १ हजार १ सय ६५ जना घाइते भएका छन् । राजधानी बेरुतका घना बस्ती भएका क्षेत्रहरू यस आक्रमणबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।
#बेरुत #इजरायल #लेबनान #हवाईआक्रमण #मध्यपूर्व #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



