आर्थिक गतिविधि चलायमान बनाउन र लगानीमैत्री वातावरण निर्माण गर्ने कार्यमा सफल भएँः ढकाल

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै सुधारका लागि धेरै प्रयत्न गरेको बताउनुभएको छ ।

कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा र बारम्बारको सरकार परिवर्तनका कारण नीतिगत अन्योलले अर्थतन्त्रलाई कमजोर बनाएको बताउँदै उहाँले त्यस्तो जटिल अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउने, आर्थिक गतिविधि चलायमान बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने कार्यमा आफ्नो नेतृत्व सफल भएको बताउनु भयो ।

Nepal life insurance

राजधानीमा भएको एक कार्यक्रममा उहाँले तीन वर्षको कार्यकालमा  आर्थिक संकट समाधान, स्वदेशी तथा विदेशी लगानीको वातावरण निर्माण, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जना र व्यवसायीहरूको सम्मान तथा सुरक्षाको मुद्दालाई अघि बढाउन सफल भएको बताउनु भयो । महासंघको पहलमा राष्ट्रिय आर्थिक बहस आयोजना गरी उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भएको, निजी क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा घोषणा गरिएको र हालैको सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति स्वीकृत गरेको उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी, द्विपक्षीय लगानी सम्झौता (बीआईए) मस्यौदा तयार भई विभिन्न मुलुकसँग अघि बढाइएको छ । राज्य र निजी क्षेत्रबीचको टकरावको संस्कृतिबाट बाहिर निस्केर सहकार्य र साझेदारीमा आधारित सम्बन्ध निर्माण भएको, डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन महसुल विवादमा मध्यस्थता गरिएको र १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको पनि अध्यक्ष ढकालले बताउनुभयो । भारत, चीन, यूएई, कतार, बेलायतलगायत मुलुकमा द्विपक्षीय लगानी सम्मेलन आयोजना गरिएको उहाँको भनाइ छ ।

उहाँले आफ्नो कार्यकालमा धेरै कानूनहरु परिर्वतन गराउन सफल भएको समेत बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो– ‘धेरै कानूनहरु परिर्वतन भएका छन् र धेरै परिवर्तन हुने क्रममा छ । उच्चस्तरीय सुधार अयोगले दिएको सुझाव अनुसार वर्तमान दुई तिहाइ नजिकको सरकारले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय भएको छ । त्यो पनि निजी क्षेत्रले दिएको सुझाव समेटिएको आयोगको सिफारिसका आधारमा निर्णय भएको हो । हामी पुरानो तवरबाट सरकारसँग निजी क्षेत्रका माग पुरा गराउन सक्ने अवस्था थिएन । तर हामीले तरिका बदलेर आफ्ना मागहरु पुरा गर्न सफल भयौँ ।’

संस्थागत रूपान्तरणतर्फ महासंघको विधान सर्वसम्मत संशोधन गरी नेतृत्व चयन प्रक्रियालाई समावेशी, पारदर्शी र प्रतिस्पर्धी बनाइएको तथा पहिलो पटक निजी क्षेत्रको योगदानबारे अनुसन्धान गरी रिपोर्ट प्रकाशित गरिएको उहाँले जानकारी दिनुभयो ।

 

Nepal life insuranceimagesimagesimages