भारतको निजी विमान सेवा स्पाइसजेट गम्भीर आर्थिक संकटमा, २० प्रतिशत कर्मचारी हटाउदै

 

काठमाडौँ । भारतको निजी विमान सेवा स्पाइसजेट गम्भीर आर्थिक संकटमा परेको छ । सञ्चालन क्षमता घटेपछि कम्पनीले करिब २० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको छ, जसअन्तर्गत ५०० भन्दा बढी कर्मचारीलाई तलब बिना बिदामा पठाउन सकिने भएको छ ।

हाल कम्पनीमा करिब ६ हजार ८०० कर्मचारी छन् । स्पाइसजेटसँग अहिले केवल १३ वटा जहाज सञ्चालनमा रहेका छन्, जसमा १० वटा बोइङ र ३ वटा क्यू ४०० रहेका छन् । थप १४ वटा जहाज भाडामा लिएर सञ्चालन गरिँदै आएको छ ।

कम्पनीका उच्च अधिकारीहरूले गत जनवरीदेखि तलब पाएका छैनन् भने अन्य कर्मचारीले पनि २-३ महिनासम्म ढिलो गरी तलब पाइरहेका छन् । जीएसटी, टीडीएस र प्राविधिक कोषतर्फ १०० करोड भारु भन्दा बढी बक्यौता रहेको छ ।

घरेलु हवाई बजारमा स्पाइसजेटको हिस्सा घट्दै ३.९ प्रतिशतमा झरेको छ । नयाँ विमान सेवा अकासाको हिस्सा भने ४.९ प्रतिशत पुगेको छ । कम्पनीले राजीनामा दिएका दर्जनौँ इन्जिनियरको नोटिस अवधि समाप्त गरी तत्कालै काम छाड्न निर्देशन दिएको छ । बक्यौता नपाएको भन्दै पुराना कर्मचारीहरू असन्तुष्ट छन् ।

पाइलटहरूको तलब पनि घटाइएको छ । नयाँ व्यवस्थाअनुसार उनीहरूले महिनामा २१ दिन काम र ९ दिन बिदा लिनुपर्नेछ, जसका कारण कप्तानहरूको मासिक तलब ७.५ लाख रुपैयाँबाट घटेर ६ लाख रुपैयाँमा झर्नेछ ।

कम्पनीको घाटा पनि बढ्दो अवस्थामा छ । जुलाई-सेप्टेम्बर त्रैमासिकमा कम्पनीको खुद घाटा बढेर ६२१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४५८ करोड रुपैयाँ थियो । सञ्चालन आम्दानी पनि घटेर ७९२ करोड रुपैयाँमा झरेको छ ।

घाटा बढ्नुका मुख्य कारण सञ्चालन खर्च बढ्नु, वर्षायाममा यात्रु संख्या घट्नु र आपूर्ति शृङ्खलामा समस्या देखिनु रहेका छन् । विमान मर्मत, नयाँ सेवा विस्तार र आवश्यक पार्टपुर्जाको अभावका कारण कम्पनीको खर्च बढेको जनाइएको छ ।

स्पाइसजेट भारतको कम लागतमा सेवा दिने विमान सेवा हो, जसले देशभित्र र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ । कम्पनीको स्थापना सन् २००४ मा भएको हो भने पहिलो उडान सन् २००५ मा सञ्चालन गरिएको थियो ।

#भारत #SpiceJet #आर्थिकसंकट #एयरलाइन्स #कर्मचारीकटौती #बिजनेस #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages