

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नवौँ हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै नेपालका लागि हिमाल र महासागरको सम्बन्ध अविभाज्य रहेको बताएका छन् ।
मौरिससमा इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले विश्व शान्ति र क्षेत्रीय स्थायित्व बिना हिन्द महासागरको स्थायित्व सम्भव नहुने बताएका हुन् ।

मध्यपूर्वमा भइरहेको द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै उनले त्यहाँ रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखिएको बताए । एक नेपालीको मृत्यु भइसकेको र केही घाइते भएको जानकारी दिँदै यसको असर इन्धन मूल्य, आपूर्ति प्रणाली र जनजीवनमा परेको उल्लेख गरेका थिए ।

उनले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती र असमानताजस्ता समस्याले साझा जिम्मेवारी आवश्यक बनाएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय कानुनमा आधारित, पारदर्शी र समावेशी सहकार्यमार्फत मात्रै समाधान सम्भव हुने उल्लेख गरेका थिए ।

नेपाल भूपरिवेष्ठित देश भए पनि हिन्द महासागरसँग ऐतिहासिक र प्राकृतिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले हिमालबाट बग्ने नदीहरूले अन्ततः महासागरमा मिसिने भएकाले दुवैको स्वास्थ्य एकअर्कासँग जोडिएको बताए ।
जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने र समुद्री सतह बढ्ने खतरा बढेको उल्लेख गर्दै उनले नेपालले ‘सगरमाथा संवाद’मार्फत यस विषयमा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउँदै आएको सो अवसरमा बताएका थिए ।
समुद्री कानुनअन्तर्गत स्थलरुद्ध देशलाई पनि समुद्रमा पहुँचको अधिकार रहेको उल्लेख गर्दै उनले समुद्री आतंकवाद, डकैती र अवैध तस्करीजस्ता चुनौतीप्रति चिन्ता व्यक्त गरे ।
सम्बोधनमा उनले साझा जिम्मेवारी, सहकार्य र करुणाको भावनासहित अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेपाल संवाद र सहकार्यका लागि सधैँ तयार रहेको बताएका थिए ।
#मन्त्रीखनाल #हिमाल #महासागर #जलवायु #पर्यावरण #ClimateChange #Environment #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



