

काठमाडौँ । अमेरिका र ईरानबीच हुन लागेको शान्ति वार्ताअघि विश्वभर अनलाइन सट्टा बजारमा ठूलो रकमको कारोबार बढेको छ । वार्ताको नतिजालाई लिएर करोडौँ डलर बराबरको बाजी लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पोली मार्केट र कालशी जस्ता प्लेटफर्ममा सहभागीहरूले युद्धविराम कायम रहन्छ वा रहँदैन, वार्ता सफल हुन्छ वा हुँदैन भन्ने विषयमा वास्तविक पैसासहित पूर्वानुमान गरेका छन् । उपलब्ध तथ्यांकअनुसार इरानसँग सम्बन्धित बजारमा मात्रै ३० करोड डलरभन्दा बढी कारोबार भएको छ ।

विशेषगरी युद्धविरामको समय र स्वरूपसँग जोडिएको एउटै बजारमा २५ करोड डलरभन्दा बढी रकम केन्द्रित भएको देखिन्छ । सहभागीहरूले सम्भावनाको आधारमा मूल्य निर्धारण गरिरहेका छन्— वार्ताबाट ठोस सहमति हुन्छ वा तनाव फेरि बढ्छ भन्नेबारे अनुमान भइरहेको छ ।

बजारको संकेत भने सावधानीपूर्ण देखिएको छ । दीर्घकालीन र पूर्ण शान्ति सम्झौताको सम्भावना २० देखि ४० प्रतिशतसम्म मात्र आँकलन गरिएको छ । तर अस्थायी सहमति वा युद्धविराम लम्बिने सम्भावना भने ५० प्रतिशतभन्दा बढी रहेको देखिन्छ ।
यसैबीच युद्धविराम भंग हुने वा पुनः तनाव बढ्ने सम्भावना पनि ३० देखि ५० प्रतिशतबीच रहेको आँकलन गरिएको छ । यसले दीर्घकालीन स्थायित्वप्रति विश्वास कम रहेको संकेत गरेको छ ।
केही सहभागीले ठूलो नाफासमेत कमाएका छन् । बजार रिपोर्टअनुसार युद्धविराम घोषणा हुनुअघि नै सही अनुमान गर्नेहरूले ६ लाख डलरभन्दा बढी कमाएको उल्लेख छ । यसले भित्री सूचना प्रयोग भएको हो कि भन्ने प्रश्नसमेत उठाएको छ ।
विश्लेषकहरूका अनुसार यस्ता पूर्वानुमान बजार अहिले विश्व राजनीति बुझ्ने महत्वपूर्ण माध्यम बन्दै गएका छन्, जहाँ सूचना, विश्लेषण र जोखिमसँगै आर्थिक लगानी जोडिएको हुन्छ ।

यसैबीच इस्लामाबादमा हुने वार्तालाई अन्तर्राष्ट्रिय रूपमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ । तर मूल विवादहरू अझै समाधान नभएकाले युद्धविराम कमजोर अवस्थामा रहेको बताइएको छ । इरानको आणविक कार्यक्रम, होर्मुज जलडमरूमध्यको नियन्त्रण र लेबनान क्षेत्रको तनाव अझै चुनौतीकै रूपमा रहेका छन् ।

पाकिस्तानका लागि पनि यो वार्ता महत्वपूर्ण मानिएको छ । मध्यस्थकर्ताको भूमिका सफल भए कूटनीतिक प्रभाव बढ्नेछ भने असफल भए आर्थिक र सुरक्षासम्बन्धी असर देखिन सक्ने विश्लेषण गरिएको छ ।
विशेषज्ञहरूका अनुसार आधुनिक द्वन्द्व अब केवल युद्धभूमिमा सीमित छैनन् । यसको प्रभाव वित्तीय बजार, डिजिटल प्लेटफर्म र विश्व जनमतसम्म फैलिने गरेको छ। इस्लामाबादमा वार्ता सुरु हुनै लाग्दा विश्वको ध्यान त्यतैतर्फ केन्द्रित भएको छ।



