

काठमाडौँ । इस्लामाबादमा अमेरिका र इरानबीचको वार्ता निष्कर्षमा पुग्न नसकेपछि अब के हुन्छ भन्ने कौतुहलता बढेको छ ।
अमेरिकी वार्ता टोलीको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्सले इरानले अमेरिकाले राखेका शर्त मान्न अस्वीकार गरेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको बताउदै अमेरिकातर्फ लागेका छन् ।

त्यस्तै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले वार्तामा दुवै पक्षबीच पटक-पटक सन्देश र लिखित कागजात आदानप्रदान भएको बताउदै वार्तामा होर्मुज जलडमरु, परमाणु कार्यक्रम, युद्ध क्षतिपूर्ति, इरानमाथि लगाइएका प्रतिबन्ध हटाउने विषय र क्षेत्रभर जारी द्वन्द्व अन्त्य गर्ने विषयमा विस्तृत छलफल भएको बताएका छन् ।

यसैबीच वार्तामा सबैभन्दा ठूलो अड्चन होर्मुज जलडमरु बनेको बताइएको छ । यस विषयमा अमेरिकाको स्पष्ट धारणा नआउँदा वार्ता झन् जटिल बनेको उल्लेख गरिएको छ । पछिल्ला दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा फरक–फरक अभिव्यक्ति दिएका छन् । सुरुमा उनले अमेरिकालाई उक्त क्षेत्रप्रति खास चासो नभएको बताएका थिए भने केही दिनमै त्यसलाई वार्ताको सबैभन्दा महत्वपूर्ण अंश भएको भन्दै खुला नराखिए कुनै सहमति सम्भव नहुने बताएका थिए । यी दुई धारणा आपसमा नमिल्दा अमेरिकाको वास्तविक अडानबारे अन्योल कायम भएको देखिन्छ । उता इरानले भने होर्मुज जलडमरुमाथिको नियन्त्रणलाई आफ्नो प्रमुख शक्ति मानेको छ र पर्याप्त लाभबिना त्यसमा सम्झौता नगर्ने संकेत दिएको छ ।

यसैबीच पाकिस्तानका विदेशमन्त्री इशाक डारले आइतबार पत्रकार सम्मेलन गर्दै सबै पक्षले युद्धविरामको पालना गर्नुपर्नेमा जोड दिएका छन् । उनले पाकिस्तानले आगामी दिनमा पनि वार्तालाई अघि बढाउन सहजीकरण गर्ने बताएका छन् ।
#इरान #अमेरिका #होर्मुज #वार्ता #कूटनीति #MiddleEast #InternationalNews #IranUSA #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



