

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राप्रपाको असन्तुष्ट पक्षले राजेन्द्र लिङदेन नेतृत्वको केन्द्रीय समिति भंग गर्दै एक साता भित्र महाधिवेशनको मिति तोक्न माग गरेको छ । महामन्त्री धवलशमशेर राणा र कुन्ती शाही लगायतको आइतबार बसेको भेलाले सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेको छ । त्यस्तै भेलाले केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्ने र व्यापक सुधारको उद्देश्य लिएर, एकता महाधिवेशनपश्चात राप्रपाको आदर्श, विधान र अनुशासन विपरित भएका काम कारवाहीको न्यायसंगत छानबिन गरी आगामी महाधिवेशनमा निष्कर्ष पेश गर्न एक छानविन समिति गठन गर्न समेत माग गरको छ ।

उनीहरुले अध्यक्ष लिङदेनलाई सम्बोधन गर्दै दिएको पत्रमा २०७८ को एकता महाधिवेशनवाट नयाँ उमंग र नयाँ संभावना बोकेर अघि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टी हालै सम्पन्न संसदीय निर्वाचनसम्म आइपुग्दा नराम्रोसँग खुम्चिन पुगेको उल्लेख गरिएको छ । साथै निर्वाचन पूर्वको केन्द्रीय कार्यसमितिको वैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले मलाई खेल्न दिनुहोस्, राप्रपालाई देशको पहिलो पार्टी बनाउछु भनेकोमा अकल्पनीय नजिता प्राप्त भएको बताइएको छ । साथै उनीहरुले शर्मनाक हारको डेढ महिनासम्म पनि चुनावी असफलताको कुनै लेखाजोखा र नैतिक जिम्मेदारी वहन नगरिएको बताउदै शून्यताबीच लाखौं कार्यकर्ता र पार्टीकै भविष्यलाई लिएर गम्भीर प्रश्न कायम रहेको र नेता, कार्यकर्ताहरुबाट पार्टी जिम्मेवारी र पार्टी सदस्यता परित्याग गर्ने क्रम जारी रहेको उल्लेख छ । त्यस्तै पत्रमा मध्यावधि निर्वाचनको आलो घाउमा उपसभामुखको निर्वाचन त झन् नूनचूक दलेसरह भएको बताउदै उपसभामुख पदमा उम्मेद्वारी दिएबाट राप्रपामाथि निष्ठा र सैद्धान्तिक आधारमा प्रश्न मात्र उठेको दाबि गरिएको छ । उनीहरुले सच्चिने कि सकिने भन्ने गम्भीर अवस्थाबीच, केन्द्रीय महाधिवेशनबाट ताजा जनादेश प्राप्त गर्नुबाहेक उत्तम विकल्प राप्रपासँग नभएको जिकिर गरिएको छ ।

२- होर्मुज जलडमरूमध्यलाई लिएर अमेरिका र इरानबीच बयानबाजी तीव्र बनेको छ । ईरानका उपसभामुख हाजी बाबाईले उक्त समुद्री मार्ग इरानको नियन्त्रणमा रहेको दाबी गर्दै यसलाई तेहरानको ‘रेड लाइन’ भएको बताएका छन् । उनले होर्मुज भएर आवतजावत गर्ने जहाजहरूले ईरानी मुद्रा रियालमा शुल्क तिर्नुपर्ने समेत बताएका छन् । यस अभिव्यक्तिले क्षेत्रीय तनाव अझ बढाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज क्षेत्रमा राखिएका बारुदी सुरुङ हटाउने काम भइरहेको दाबी गरेका थिए । उनले उक्त समुद्री मार्ग छिट्टै खुल्ने र अमेरिकी जहाजहरू सो मार्ग हुँदै पार भइसकेको बताएका थिए । तर केही समयमै ईरानले अमेरिकी दाबी अस्वीकार गर्दै त्यसलाई गलत जानकारी भनेको थियो । ईरानको रिभोल्युसनरी गार्ड्सले कुनै पनि सैन्य जहाजले उक्त क्षेत्र पार गर्ने प्रयास गरे कडा कारबाही गरिने चेतावनी दिएको थियो । यसैबीच, पाकिस्तानमा भएको अमेरिका-इरानबीचको २१ घण्टा लामो शान्ति वार्ता निष्कर्षविहीन बनेको छ । रिपोर्टअनुसार होर्मुज जलडमरूमध्य खोल्ने विषय र आणविक कार्यक्रमका मुद्दामा दुवै पक्षबीच सहमति जुट्न नसकेको जनाइएको छ ।
३- नेपाली कराते खेलाडी एरिका गुरुङ चीनको सिचुवान प्रान्तस्थित लेसनमा भएको डब्लूकेएफ कराते वान प्रिमियर लिगको फाइनलमा पराजित भएकी छन् । महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा एरिका पहिलो वरीयताप्राप्त काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग प्रतिस्पर्धात्मक खेलमा २- १ अंकले पराजित भएपछि रजत पदकमा चित्त बुझाएकी छन् । फाइनल पुग्ने क्रममा एरिकाले शनिबार सेमिफाइनलमा १२औं वरीयताकी इटालीकी फेराकुटी क्लिओलाई ८- ३ अंकले पराजित गर्दै फाइनलमा पुगेकी थिइन् । यो तौल समुहमा स्लोभेनियाकी मारिया जिब्रेट जालाले कांस्य पदक जितेकी छन् ।

४- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा जडान गरिएका महँगा मेडिकल उपकरणहरूको प्रयोग र सुरक्षासम्बन्धी विस्तृत अध्ययन तथा अनुगमन गर्न निर्देशन दिएको छ । मन्त्रालयले एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब र पेट सिटी स्क्यान जस्ता उपकरणहरूको अवस्था, प्रयोग विधि र गुणस्तरबारे अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न विज्ञ टोली गठन गरेको छ । उक्त टोलीमा वीर अस्पतालका मेडिकल फिजिसिस्ट डा. कञ्चन प्रसाद अधिकारी र रेडियोलोजिस्ट डा. हरिओम जोशी रहेका छन् । मन्त्रालयको निर्णयअनुसार टोलीले आवश्यक परे स्थलगत अनुगमनसमेत गर्नेछ । अध्ययनको मुख्य उद्देश्य उपकरणहरूको सही प्रयोग भइरहेको छ वा छैन भन्नेबारे यथार्थ अवस्था बुझ्नु हो । मन्त्रालयले अध्ययनका क्रममा विशेष गरी चार विषयमा ध्यान दिन निर्देशन दिएको छ । तीमध्ये एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब र पेट सिटी स्क्यान जस्ता उपकरणहरूको प्रयोग र गुणस्तर अवस्था पहिलो प्राथमिकतामा रहनेछ । त्यस्तै, विकिरणसम्बन्धी काम गर्ने प्राविधिकहरूले व्यक्तिगत विकिरण मापन उपकरण प्रयोग गरे नगरेको तथा ती उपकरण नियमित रूपमा परीक्षण गरिएको छ कि छैन भन्ने पनि जाँच गरिनेछ । यसैगरी, एक्स-रे र सिटी स्क्यान जस्ता विकिरण उत्सर्जन गर्ने कोठा वरिपरि मापदण्डअनुसार विकिरण सर्भेक्षण गरिएको छ कि छैन भन्ने विषय पनि अनुगमनको दायरामा रहनेछ । मन्त्रालयले बिरामी तथा स्वास्थ्यकर्मीलाई विकिरणबाट सुरक्षित राख्न अपनाइएका सुरक्षा उपायहरूको प्रभावकारिताबारे पनि मूल्यांकन गर्न निर्देशन दिएको छ । स्वास्थ्य सेवामा प्रयोग हुने संवेदनशील उपकरणहरूको उचित प्रयोग सुनिश्चित गर्न यो अध्ययन महत्वपूर्ण हुने मन्त्रालयले जनाएको छ।
५- नेपाली कांग्रेसले संसदीय दलको नेताको चयन वैशाख ४ गते गर्ने भएको छ । काँग्रेसले सर्वसम्मत नभएमा निर्वाचन प्रकियाबाट दलको नेता चयन गर्न लागेको हो । काँग्रेसले संसदीय दलको नेता चयनका लागि सहमहामन्त्री प्रकाश रसाइलीको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वचन समितिले वैशाख २ गते निर्वाचन तालिका सार्वजनिक गर्ने र बैशाख ४ गते नेता चयन गर्ने तयारी गरेको छ । संसदीय दलका नेताका लागि अर्जुननरसिंह केसी, भीष्म आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्का र बासना थापालगायतको दाबी छ । काँग्रेसमा विशेष महाधिवेशन पक्षधर र देउवा पक्षबीच विवाद जारी रहेकाले संसदीय दलको नेता चयनमा ढिलाई भएको छ ।
६- गण्डकी प्रदेशले जारी पीएम कप अन्तर्गत लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको २०८ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ४४.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । गण्डकीको जितमा अर्जुन कुमालले १०३ रनको शतकीय पारी खेलेका थिए । यो यस पीएम कपमा अर्जुनको दोस्रो सतक हो । त्यस्तै क्रिबिन श्रेष्ठले ४३ रन बनाएका थिए भने दीपक डुम्रेले २५ र मुस्कान थापाले २३ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको लुम्बिनीले ४५ ओभरमा अल आउट हुदै २०७ रन बनाएको थियो ।लुम्बिनीका लागि सन्तोष यादवले ८२ र सालाउद्धीन खानले ६० रन बनाएका थिए ।त्यस्तै गण्डकीका बलर विपिन खत्रीले ४, अपराजित पौडेलले ३ र किब्रिन श्रेष्ठले २ विकेट लिएका थिए । यो जितपछि गण्डकीको ८ खेलमा ७ अंक भएको छ र आठौ स्थानमा छ । त्यस्तै लुम्बिनीको भने ७ खेलमा ७ अंक रहेको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै आज सम्पन्न खेलमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई ५६ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लब ३५.१ ओभरमा आल आउट हुदै १३५ रन बनाएको थियो । नेपाल पुलिस क्लबका लागि गुलशन झाले सर्बाधिक ५० रन बनाए भने दिलसाद आली र आरिफ सेखले १९-१९ रन बनायेअका थिए । त्यस्तै सुदूरपश्चिमका बलर हेमन्त धामी र शेर मल्लले ३-३ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले ४०.४ ओभरमा अल आउट हुदै १९१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि नारायण जोशीले ८२ रन बनाएका थिए भने खडक बोहोराले २२ रन बनाएका थिए । त्यसैगरी पुलिस क्लबका बलर दिनेश खरेलले ४ र सागर ढकालले ३ तथा कुशल भुर्तेलले २ विकेट लिएका थिए । यो जितपछि समुह चरणमा सुदूरपश्चिमको ९ खेलमा १२ अंक भएको छ र हाल दोस्रो स्थानमा छ । सुदूरपश्चिम अर्को बर्ष हुने जय ट्रफीका लागि छनौट भए पनि पीएमको फाइनलमा पुग्ने नपुग्ने अब अन्य खेलको नतिजाबाट स्पष्ट हुने छ । त्यस्तै पुलिस क्लबको भने ८ खेलमा ९ अंक रहेको छ र हाल तेस्रो स्थानमा छ ।

७- डा. गोविन्द केसीले चिकित्सा शिक्षा ऐनविपरीत जेनजी आन्दोलनका घाइतेलाई एमबीबीएसमा भर्ना गराउने निर्णय फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् । आइतबार विज्ञप्ति जारी गरेर डा. केसीले निर्णय फिर्ता नलिए सत्याग्रहसहितको आन्दोलन थाल्ने चेतावनी दिएका हुन् । सरकारले जेनजी आन्दोलनका घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस पढाउने निर्णय मेरिटको आधारमा मात्र चिकित्सा शिक्षामा भर्ना पाउने कानुनी व्यवस्था उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ । यसैबीच शनिबार शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर शाहलाई एमबीबीएसमा भर्ना गराउने निर्णय नियमविपरीत नभएको दाबी गरेको थियो । उक्त अभिव्यक्तिपछि डा. केसीले विज्ञप्ति जारी गरेर सरकारले कानुन पढेको कि पेलेरै जाने खोजेको हो भनेर प्रश्नसमेत गरेका छन् । डा. केसीले एकता शाहलाई भर्ना लिने गैरकानुनी निर्णय र शिक्षा मन्त्रालयको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन् । शिक्षा मन्त्रालयले भने शाहलाई निःशुल्क छात्रवृत्ति कोटाबाहेक अतिरिक्त कोटाको रुपमा विशेष छात्रवृत्ति कोटामा मनोनयन गरी बजेटको समेत व्यवस्था गरिएको जनाएको छ । उक्त निर्णयले अरु कसैले पाउने अवसरलाई संकुचन एवं बाधा समेत नपरेको मन्त्रालयको दाबी छ । शाहले एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ५७.७ अंक प्राप्त गरेकी थिइन् । उनी मेरिटमा पछाडि रहेकाले ऐनको व्यवस्थाअनुसार भर्ना हुन नपाउने देखिन्छ ।
८- होर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी युद्धपोतसँग सम्बन्धित घटनाले फेरि तनाव बढाएको छ । रिपोर्टअनुसार ईरानी नौसेनाले एक अमेरिकी जहाजलाई होर्मुज जलडमरूमध्य पार गर्नबाट रोकेको दाबी गरिएको छ । फार्स समाचार संस्थाका अनुसार अमेरिकी युद्धपोत संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाहबाट होर्मुज तर्फ अघि बढिरहेको थियो । सो गतिविधि देखेपछि ईरानी सेनाले निगरानी बढाएको र यसबारे पाकिस्तानमा रहेको मध्यस्थ टोलीलाई जानकारी गराएको जनाइएको छ । त्यसपछि पाकिस्तानी मध्यस्थमार्फत तत्काल अमेरिकी पक्षलाई सन्देश पठाइएको बताइएको छ । ईरानले पठाएको सन्देशमा यदि जहाज होर्मुज नजिक पुगेमा कारबाही गरिने चेतावनी दिइएको उल्लेख छ । चेतावनीमा जहाज अघि बढे ३० मिनेटभित्र निशाना बनाउन सकिने भनिएको थियो । यसैबीच, कडा सैन्य प्रतिक्रिया र कूटनीतिक चेतावनीपछि अमेरिकी युद्धपोतलाई अघि बढ्नबाट रोकिएको दाबी गरिएको छ । यसअघि एक अमेरिकी मिडिया रिपोर्टमा ईरानी नौसेनाको चेतावनीका बाबजुद दुई अमेरिकी युद्धपोतले होर्मुज जलमार्ग पार गरेको दाबी गरिएको थियो । युद्ध सुरु भएपछि यो पहिलो घटना भएको पनि उक्त रिपोर्टमा उल्लेख थियो । त्यसैगरी ईरानले आफ्नो तेल प्रशोधन र ऊर्जा पूर्वाधारमा भएको क्षतिलाई एकदेखि दुई महिनाभित्र ठूलो हदसम्म पुनः सञ्चालनमा ल्याउने दाबी गरेको छ । रिपोर्टअनुसार ईरानका उप तेलमन्त्रीले क्षतिग्रस्त संरचनाको मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। लावान रिफाइनरीको केही भाग करिब १० दिनभित्र पुनः सञ्चालनमा ल्याउन सकिने योजना रहेको पनि जनाइएको छ । उनका अनुसार अन्य संरचनाहरू क्रमशः सञ्चालनमा ल्याइनेछ र लक्ष्य छिटोभन्दा छिटो अधिकांश तेल प्रशोधन केन्द्रलाई पुरानो अवस्थाको करिब ७० देखि ८० प्रतिशत क्षमतामा फर्काउने रहेको छ ।
९- बलिवुडकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय उनी आइतबार संसारबाट बिदा भएकी हुन् । अस्वस्थ भएपछि शनिबार उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारका क्रममा उनको निधन भएको भारतीय समाचार एजेन्सी पिटीआईले उल्लेख गरेको छ । उनको अन्त्येष्टि सोमबार गरिने जनाइएको छ । बिहान ११ बजे उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि निवासमा राखिनेछ भने साँझ ४ बजे शिवाजी पार्क मा अन्त्येष्टि गरिने बताइएको छ । सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसले संगीत परिवारमा हुर्किएकी थिइन् । उनका पिता दीनानाथ मंगेशकर शास्त्रीय गायक तथा कलाकार थिए । सानै उमेरदेखि संगीतमा लागेकी उनले पहिलो गीत मराठी चलचित्र माझा बालमा गाएकी थिइन् । पछि उनले हिन्दी चलचित्रमा पनि प्रवेश गर्दै लामो समयसम्म हजारौं गीतमा स्वर दिइन् । पाँच दशकभन्दा बढी समयसम्म सक्रिय रहँदै उनी भारतीय संगीत जगतकी अग्रणी गायिकामध्ये एकका रूपमा स्थापित भएकी थिइन् ।
१०- टर्कीमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । यो मुद्दा गाजा क्षेत्रमा जाँदै गरेको राहत अभियानमाथि भएको कथित आक्रमणसँग सम्बन्धित रहेको जनाइएको छ । इस्तानबुलका प्रमुख सरकारी वकिलको कार्यालयले आरोपपत्र दायर गर्दै सबै आरोपितलाई कडा सजायको माग गरेको छ । आरोपपत्रमा जन्मकैदसँगै ११ सय २ वर्षदेखि ४५ सय ९६ वर्षसम्म कैद सजायको माग गरिएको उल्लेख छ । आरोपितहरूविरुद्ध मानवताविरुद्धका अपराध, नरसंहार, गैरकानुनी थुनछेक, यातना तथा लुटपाटजस्ता गम्भीर अभियोग लगाइएको छ । यो घटना गत वर्ष सेप्टेम्बरमा भएको थियो, जतिबेला ‘सुमुद फ्लोटिला’ नामको राहत अभियान गाजातर्फ अघि बढिरहेको थियो । उक्त जहाजहरूमा खाद्यान्न, औषधि तथा अन्य आवश्यक राहत सामग्री बोकेर पठाइएको थियो । अनुसन्धानका अनुसार अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा पुगेका बेला इजरायली नौसेनाले ती जहाज रोकेको आरोप छ । सैनिकहरू जहाजमा चढेर कार्यकर्तालाई नियन्त्रणमा लिएको र जहाजलाई अगाडि बढ्न नदिएको बताइएको छ । टर्कीले उक्त कारबाही अन्तर्राष्ट्रिय कानुनविपरीत भएको दाबी गरेको छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमै राहत सामग्री बोकेका जहाज रोकिनु गम्भीर अपराध भएको ठहर गर्दै यो मुद्दा दर्ता गरिएको जनाइएको छ ।

११- नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर करण केसीलाई जारी पीएम कपको एक खेलमा प्रतिबन्ध लगाएको छ । करणले सामाजिक सञ्जालमा अम्पायर बारे गरेको टिप्पणीपछि क्यानले उनलाई कारवाही गरेको हो । क्यानले नेपाल पुलिस क्लबबाट खेलिरहेका करणले अम्पायरहरुप्रति सामाजिक सञ्जालको एक पोष्टमा गरेको कमेन्टप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनलाई कारवाही गरेको हो । साथै उनको एक खेलको शतप्रतिशत म्याच शुल्क बराबर जरिवाना समेत गरेको क्यानले जनाएको छ । पीएम कप अन्तर्गत सन्दीप लामिछानेको अम्पायरसँग भएको झगडाको तस्बीर शेयर भएको पोष्टमा करण केसीले खेलका क्रममा खेलाडीले अम्पायरलाई पिटेमा के सजाय हुन्छ भन्दै कमेन्ट गरेका थिए । उनले भनेका थिए- यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति खेल ब्यान हो ? जानकारी को लागि ।’ करणको सो टिप्पणीप्रति अम्पायर संघले आपत्ति जनाएको थियो ।
१२- दक्षिण भारतीय सुपरस्टार थलापति विजय अभिनित फिल्म ‘जन नायगन’ अनलाइनमा लिक भएको छ । फिल्मकी मुख्य अभिनेत्री पूजा हेगडेले घटनालाई दुःखद भन्दै दर्शकलाई हलमै गएर हेर्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत चलचित्र केवल मनोरञ्जन नभई हजारौं व्यक्तिको मेहनत, सिर्जनशीलता र त्यागको परिणाम हुने बताएकी छन् । लिक जस्ता घटनाले प्राविधिक र कलाकारको सम्मानमा ठेस पुग्ने उनको भनाइ छ । पूजाले दर्शकलाई पाइरेसीलाई प्रोत्साहन नगर्न र ठूलो पर्दामै फिल्मको मजा लिन अपिल गरेकी छन् । यसअघि पनि रजनीकान्त, चिरञ्जीवी, सूर्या र सिवकार्तिकेयन लगायत कलाकारहरूले लिकप्रति असन्तुष्टि जनाइसकेका छन् । फिल्म निर्माताहरूले कडा विज्ञप्ति जारी गर्दै यो गम्भीर डिजिटल पाइरेसीको घटना भएको बताएका छन् । दोषीमाथि कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ । विवाद बढिरहेका बेला फिल्मको आधिकारिक प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन । यद्यपि ठूलो स्तरमा हलहरूमा प्रदर्शन गर्ने तयारी भइरहेको बताइएको छ । यो चलचित्रलाई थलापति विजयको अन्तिम फिल्मका रूपमा समेत हेरिएको छ । अनौपचारिक रूपमा भने सन् २०२६ जुन २२ मा, उनको ५२औँ जन्मदिनको अवसरमा प्रदर्शन हुन सक्ने चर्चा छ ।
१३- नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको कडा आलोचना गरेका छन् । विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको कडा आलोचना गर्दै विद्यार्थी संगठनको घाटी निमोठ्न खोजे सरकारकै जरो उखेल्ने चेतावनी दिएका हुन् । उनले सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति भएको बताउदै विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, बिद्रोह र अग्रगमनका वहाक भएको उल्लेख गरेका छन् । उनले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरूद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति आफुहरुको पूर्ण समर्थन रहेको बताउदै आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढन सुझाव दिएका छन् । उनले नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको उल्लेख गर्दै जुन संस्था र शक्तिको योगदानले यी परिवर्तन भएका छन् र सरकार खडा भएकाछन् तिनकै घाटी निमोठ्न खोजे सरकारकै जरो उखेलिने चेतावनी दिएका छन् ।
१४- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेनको भारत भ्रमणको समाचार बाहिरिएको भन्दै भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्न आग्रह गरेका हुन् ।

१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २ सयले बढेर तोलाको २ लाख ९७ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ४९७५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९६० मा कारोबार भएको थियो ।
१६- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहले पदभार ग्रहण गरे लगत्तै मोदीले बधाई सन्देशमार्फत भारत भ्रमणको निम्तो दिएको बताएका हुन् । मोरिससमा मन्त्री खनालले भारतीय सञ्चारमाध्यम वीअनसँगको कुराकानीमा मोदीले दिएको भ्रमणको निमन्त्रणा प्रधानमन्त्री बालेन्द्रले स्वीकार गरिसकेको बताएका हुन् । यद्यपी प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन । आन्तरिक गृहकार्य भइरहेको परराष्ट्र स्रोतले बताए पनि भ्रमणको मिति अहिले नै भन्न नसकिने बताइएको छ । मन्त्री खनाल भारतको विदेश मन्त्रालय, मोरिसस सरकार र इन्डिया फाउन्डेसनद्वारा आयोजित नवौं हिन्द महासागर सम्मेलन (आईओसी) मा सहभागी हुन मौरिसस पुगेका थिए । उनले शनिबार सो सम्मेलनलाई सम्बोधन गरिसकेका छन् । सो क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग समेत भेटवार्ता गरेका थिए ।
१७- अल नासरले साउदी प्रो लिग अन्तर्गत अल अखडोउडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई २-० गो अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । यो जितपछि अल नासरको २८ खेलमा ७३ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । अल नासर दोस्रो स्थानमा रहेको अल हिलाल भन्दा ५ अंकले अगाडी रहेको छ । त्यस्तै अल अखडोउडको २८ खेलमा १६ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।
१८- बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा इस्पेनियोललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले इस्पेनियोललाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फेरान टोरेजले २ गोल गरेका थिए भने लामीन यमल र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए । त्यस्तै इस्पेनियोलका लागि पोल लोजानोले एक गोल गरेका थिए । यो जितपछि बार्सिलोनाको ३१ खेलमा ७९ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा स्पष्ट ९ अंकले अगाडी भएको छ । त्यस्तै इस्पोनियलको ३१ खेलमा ३८ अंक रहेको छ र हाल १०औं स्थानमा रहेको छ ।
१९- चेन्नई सुपर किंग्सले जारी आइपिएलमा पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो । चेन्नईले दिएको २१३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो । दिल्लीका लागि ट्रीटन स्टब्सले सर्बाधिक ६० रन बनाएका थिए भने पाथुम निसान्काले ४१ रन बनाएका थिए । त्यस्तै चेन्नईका बलर जामी ओभरटनले ४ विकेट लिए भने अन्शुल कामबोजले ३ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनाएको थियो । चेन्नईका लागि सन्जु सामसनले अविजित ११५ को शतकीय पारी खेलेका थिए भने आयुश महात्रेले ५९ रन बनाएका थिए । यो चौथो खेलमा चेन्नईको पहिलो जित हो । त्यस्तै दिल्लीको भने चौथो खेलमा दोस्रो हार भएको छ ।

२०- पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबीचको वार्ता असफल भएको छ । पाकिस्तानको इस्लामावादमा भएको २१ भन्दा बढी लामो वार्ता निष्कर्षमा नपुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जानकारी दिएका छन् । भान्सले इरानले अमेरिकाको प्रस्ताव अस्वीकार गरेको र आफु अब स्वदेश फर्किने बताएका छन् । उनले भने- ‘हामी २१ घण्टादेखि यसमा लागिरहेका छौं, र हामीले इरानीहरूसँग धेरै ठोस छलफल गरेका छौं । त्यो राम्रो खबर हो । नराम्रो खबर यो हो कि हामी सम्झौतामा पुगेका छैनौं । र मलाई लाग्छ कि यो संयुक्त राज्य अमेरिकाको लागि नराम्रो खबर भन्दा धेरै इरानको लागि नराम्रो खबर हो । त्यसैले हामी सम्झौतामा नपुगेर संयुक्त राज्य अमेरिका फर्कन्छौं ।’ उनले आफुहरु निकै लचक भएर प्रस्तुत भएपनि इरानले अमेरिकाका प्रस्ताव अस्वीकार गरेकोले आफुहरु फर्किन लागेको छ । उनले यो आफुहरुले इरानलाई अन्तिम अवसर दिएर इस्लामावादबाट निस्किन लागेको बताएका छन् । बैठकमा सुरक्षा, राजनीति, सेना, अर्थतन्त्र र कानुनी विषयमा विशेषज्ञस्तरमा छलफल भएको बताइएको छ । अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए भने इरानी टोलीको नेतृत्व संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले गरेका थिए । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ताबारे प्रतिक्रिया दिँदै सम्झौता भए पनि नभए पनि अमेरिका विजयी हुने दाबी गरेका छन् । उनले दुवै देशबीच गहिरो स्तरमा वार्ता भइरहेको र चाँडै नतिजा आउने बताएका छन्। ट्रम्पले अमेरिकाले इरानलाई सैनिक रूपमा कमजोर बनाएको दाबी गर्दै होर्मुज जलडमरु क्षेत्रमा सफाइ अभियान सञ्चालन भइरहेको र त्यहाँ राखिएका बारुदी सामग्री हटाइँदै गरेको जानकारी दिएका छन् । साथै उनले चीनलाई पनि चेतावनी दिँदै इरानलाई हतियार आपूर्ति गरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् । यस अभिव्यक्तिले क्षेत्रीय तनाव थप बढ्ने संकेत देखिएको छ ।



