


काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक वैशाख २ गते बुधबारका बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बोलाइएको हो । काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सोमबार पुन: कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि अनुशासन समितिको बैठक बोलाइएको बताइएको छ । यसअघि खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाले पछि अनुशासन समितिले सचेत गराएको थियो ।

२- दिवंगत बलिवुड गायिका आशा भोसलेको मुम्बईस्थित शिवाजी पार्क शवदाह गृहमा पूर्ण राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ । उनलाई महाराष्ट्र प्रहरीले गार्ड अफ अनर दिएको थियो । बलिउड गायकहरूले उनको गीत ‘अभी ना जाओ छोडकर…’ गाएर उनलाई बिदाइ दिएका थिए । सोमबार बिहान उनको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागि उनको मुम्बईस्थित निवास कासा ग्रान्डेमा राखिएको थियो । उनलाई राष्ट्रिय झण्डाले बेरिएको थियो र सलामी दिइएको थियो । उनको आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको थियो । उनी ९२ वर्षकी थिइन् । आशा भोसले आफ्नो ८२ वर्षको गायन करियरमा नौ फिल्मफेयर पुरस्कारसहित १०० भन्दा बढी पुरस्कार जितेकी थिइन् । उनलाई देशको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्म विभूषणबाट सम्मानित गरिएको थियो ।

३- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबारे सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार समायोजन गर्दै आएको स्पष्ट पारेको छ । निगमका अनुसार मार्च ३१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको प्रति लिटर २२१.३२ , डिजेलको २९४.९९, मट्टितेलको २४३.७० र हवाई इन्धनको आन्तरिक तर्फ प्रतिलिटर २५७८२ र एलपी ग्यासको प्रति सिलिन्डर २३४१.२५ लागत रहेको छ । निगमले पछिल्लो पटक मुल्य समायोजन गर्दा पेट्रोलमा प्रति लिटर २. ३२ डिजेलमा ८७.९९ र मट्टितेलमा ३६.७० घाटा रहेको छ । त्यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर ३३१.२५ घाटा रहेको निगमले जनाएको छ । निगमले यस अनुसार १५ दिन (पाक्षिक) मा ७ अर्ब ८१ करोड ६१ लाख घाटा हुने अवस्था रहेको जानकारी दिएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि ढुवानी लागत, कर तथा विनिमय दरका कारण उपभोक्ता मूल्यमा तुरुन्तै समान अनुपातमा कमी गर्न कठिन हुने गरेको छ । आपूर्ति व्यवस्थापनलाई सहज बनाउन विभिन्न वैकल्पिक उपाय अपनाइएको जनाउँदै निगमले चाडपर्व नजिकिँदै गर्दा आपूर्तिमा कुनै समस्या नआउने दाबी गरेको छ । साथै अन्तर्राष्ट्रिय बजारअनुसार आगामी दिनमा मूल्य समायोजन गरिने पनि जनाएको छ ।
४- पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । नव वर्षको पूर्वसन्ध्यामा सोमबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले देशलाई प्रगतिपथमा अघि बढाउन स्थिरता,निरन्तरता र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् । विगतका कमजोरी र त्रुटिहरूलाई सच्याउँदै उच्चतम गन्तव्यतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले पछिल्ला वर्षहरूमा अपेक्षित विकास हुन नसकेको भन्दै राजनीतिक तथा प्रशासनिक परिवर्तनहरू प्रभावकारी बन्न नसकेको धारणा व्यक्त गरेका छन् । देशमा बारम्बार प्रयोग र अभ्यास हुने प्रवृत्तिले स्थायित्व कमजोर बनेको उनको भनाइ छ । सन्देशमा राजनीति र राज्य सञ्चालनमा युवा पुस्ताको बढ्दो सहभागितालाई सकारात्मक रूपमा लिँदै शिक्षित र प्रविधिमैत्री युवाहरूको आगमनले राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्- ‘वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरुको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै हेरफेर हेयौ तर त्यो कोरा परिवर्तन मात्र भयो । दल दलको खल्बलमा त हामी धेरै दगुन्यौ तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछाडी पन्य। सधैं प्रयोग, सधै अभ्यास र सधै विकल्पको खोजीमा मात्र हामी लाग्यो । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्र रह्यो । स्थिरता, निरन्तरता र दृढता कता कता हराएर गयो। विधि,पद्धति,व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ ,’शुभकामना सन्देशमा भनेका छन्,’राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनमा मद्दत पुग्छ भन्ने हामीलाई लाग्दछ ।’ पूर्वराजा शाहले हाल देश विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै आर्थिक अवस्था सुदृढ बनाउन,छिमेकी राष्ट्र तथा अन्तर्राष्ट्रिय मित्रहरूसँग सहकार्य बढाउन आवश्यक रहेको बताएका छन् । साथै आन्तरिक सुरक्षालाई सुदृढ बनाउँदै नागरिकको जीउधनको सुरक्षा,अत्यावश्यक वस्तुको आपूर्ति तथा मानवीय सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन् । पूर्वराजा शाहले सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान आवश्यक रहेको बताउदै नेपाललाई शान्ति, उन्नति र मौलिक पहिचानसहितको समृद्ध राष्ट्रका रूपमा स्थापित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

५- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज सङ्घीय मामिलातथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरे-नगरेको सम्बन्धमा अनुगमन र सहजिकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको हो । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ मा उल्लेख भए अनुसार निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालनमा रहेका विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिए बमोजिमका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नुपर्ने भन्ने व्यवस्था छ । यस्तै, शिक्षा नियमावली, २०५९ मा संस्थागत विद्यालयले कुल विद्यार्थी संख्याको कम्तिमा दश प्रतिशतमा नघटाई गरीब, आङ्ग, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ भन्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुरुप सम्पूर्ण विद्यालयहरुले तोकिए बमोजिम छात्रवृत्ति प्रदान गर्न निर्धारण गरिएको छनौट विधिबाट छनौट भई छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नमावली आईएमआईएसमा तत्काल अध्यावधिक गर्न मन्त्रालयले आग्रह गरेको छ । साथै छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण सम्पूर्ण अभिभावकले देख्ने सुनिश्चित हुने गरी विद्यालयहरुले सार्वजनिक गर्ने तथा विद्यालयले प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरे-नगरेको अनुगमन गरी नगर्ने विद्यालयलाई तत्काल अद्यावधिक गर्न लगाउने पत्रमा भनिएको छ ।

६- जारी पीएम कपमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । सोमबार सम्पन्न खेलमा एपीएफ क्लबले मधेश प्रदेशलाई ७४ रनले पराजित गरेको हो । एपीएफले दिएको ३९१ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ५० ओभरमा ८ विकेट गुमाउदै ३१६ रन बनाएको थियो । मधेशका लागि मोहमद आदील आलमले ८७ र अरनिको यादवले ८६ रन बनाएका थिए । त्यस्तै एपीएफका बलर अभिषेक गौतमले ३ र कमल सिंह ऐरीले २ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले ५० ओभरमा ५ विकेट गुमाएर ३९० रन बनाएको थियो । एपीएफका लागि आसिफ सेखले दोहोरो शतक बनाउदै २०८ रन बनाएका थिए भने सन्दीप जोराले ५६ र कप्तान रोहित पौडेलले ५५ रन बनाएका थिए । मधेश प्रदेसविरुद्ध असिफले १४२ बलमा १५ चौका र १७ छक्का प्रहार गर्दै २०८ रन बनाएर रिटायर्ड हर्ट भएका थिए । यो घरेलु राष्ट्रिय प्रतियोगितामा बनेको पहिलो दोहोरो शतक हो । यससँगै आसिफ घरेलु प्रतियोगितामा दोहोरो शतक बनाउने पहिलो खेलाडी बनेका छन् । आसिफको जारी पीएम कपमा दोस्रो शतक हो । यसअघि उनले बागमतीविरुद्ध ११४ रनको शतकीय पारी खेलेका थिए । यो जितपछि एपीएफको ९ खेलमा ११ अंक भएको छ र तेस्रो स्थानमा रहेको छ । योसंगै एपीएफ फाइनलको दौडबाट बाहिरिएको छ । एपीएफ अर्को बर्ष हुने जय ट्रफीका लागि भने छनौट भएको छ । त्यस्तै मधेश प्रदेशको ८ खेलमा ९ अंक रहेको छ र हाल पाँचौं स्थानमा रहेको छ । त्यस्तै आज सम्पन्न अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेसलाई १८५ रन अन्तरले पराजित गरेको छ । आर्मीले दिएको ३६३ रनको लक्ष्य पछाएको कोशीले ३६ ओभरमा अल आउट हुदै १७७ रन बनाएको थियो । यस अघि आर्मीले कप्तान विनोद भण्डारीको १८९ रनको शतकीय पारी र भीम सार्कीको ८० रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै ३६२ रन बनाएको थियो । यो जितपछि आर्मीको ८ खेलमा १५ अंक भएको छ र हाल शिर्ष स्थानमा पुगेको छ । आर्मी पीएम कपको फाइनल खेल्ने निश्चित भएको छ ।
७- सभामुख डीपी अर्यालले संसद भवन निर्माण कार्यप्रति चासो व्यक्त गरेका छन् । सोमबार शहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै उहाँले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् । छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभा उपसभामुख रूबी कुमारी र राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको समेत उपस्थिति रहेको थियो । संसद भवन निर्माणका लागि २०७६ साल असोज १८ गते तुन्डी शेख जेभीसँग ७ अर्ब ९४ करोड रुपैयाँमा सम्झौता भएको थियो। प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म छ पटक समय थप भइसकेको छ। पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गर्ने भनिएको छ । हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ । भवनको इन्टेरियर ठेक्का केसी श्यामसुन्दर बाँनिया जेभीले २ अर्ब ३४ करोड रुपैयाँमा लिएको छ भने छाना निर्माणका लागि चेनलिंक इन्जिनियरिङले ३ करोड ८० लाख रुपैयाँमा ठेक्का प्राप्त गरेको छ ।

८- परराष्ट्रमन्त्री शिशिर खनालले मौरिससबाट स्वदेश फर्किएका छन् । इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा नेपालको तर्फबाट भाग लिएर मन्त्री खनाल सोमबार स्वदेश फर्किएका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस स्थलमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण सरकारले तयारी पुआ गरेपछि हुने जानकारी दिएका छन् । उनी गत विहिबार मौरिसस प्रस्थान गरेका थिए । मन्त्री खनालले नवौँ हिन्द महासागर सम्मेलनलाई शनिबार सम्बोधन गरेका थिए भने भारत, बंगलादेश, भुटान, सिंगापुर, मौरिससका समकक्षीसँग भेटवार्ता गरेका थिए ।
९- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकामा भएको घरजग्गा तथा निर्माण सामग्री उत्खनन ठेक्कामा अनियमितता भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्य र आर.के. कन्स्ट्रक्सन, सुर्खेतका सञ्चालक सुवास कार्कीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले अनुसन्धानबाट कर्णाली नदी र लोहरेखोला क्षेत्रबाट गिट्टी, बालुवा, ढुंगा तथा ग्राभेल उत्खननका लागि आर्थिक वर्ष २०७८/७९ मा ठेक्का प्रक्रिया अगाडि बढाइएको देखिएको छ। न्यूनतम १६ लाख ६० हजार रुपैयाँ तोकिएको ठेक्कामा आर.के. कन्स्ट्रक्सनले ३० लाख ५० हजार रुपैयाँ कबोल गरी ठेक्का पाएको थियो । तर सम्झौता अनुसार तिर्नुपर्ने मूल्य अभिवृद्धि करसहित कुल ३४ लाख ४६ हजार ५ सय रुपैयाँमध्ये जम्मा १२ लाख २ हजार रुपैयाँ मात्रै दाखिला गरिएको पाइएको छ । बाँकी २२ लाख ४४ हजार ५ सय रुपैयाँ हालसम्म पनि नबुझाइएको आयोगले जनाएको छ । त्यसैगरी, नियमविपरीत बैंक जमानत नलिई किस्ताबन्दीमा रकम बुझाउने शर्त राखी सम्झौता गरिएको र यसबाट गाउँपालिका तथा नेपाल सरकारलाई नोक्सानी पुर्याइएको पुष्टि भएको छ । उक्त प्रकरणमा संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कारबाही तथा सजायको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
१०- नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से ४.१८ अंकले घटेर २८३३. ६० विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, लगानी, उत्पादन, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सुपर खुदी, होटल फोरेस्ट इन, सुर्यकुण्ड हाइड्रो र पाल्पा सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, रिज लाइन इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको शेयर ३.६० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ९३ करोड १९ लाख बराबर कारोबार भएको छ भने रिडी पावरको ४९ करोड १९ लाख बराबरको कारोबार भएको छ ।

११- जेनजी अभियन्ता रक्षा बमले गृहमन्त्री सुदन गुरुङको आलोचना गर्दै समयमै सच्चिन चेतावनी दिएकी छन् । आइतबार सार्बजनिक सम्पत्ति विवरण बारे चौतर्फी भइरहेको चर्चामा गृहमन्त्री गुरुङले गरेको टिप्पणी प्रति आपत्ति जनाउदै रक्षाले गरिब भएर मर्नु गल्ति हो भन्ने अभिव्यक्ति पदीय मर्यादा विपरित भएको बताएकी छन् । गुरुङले आफुले गृहमन्त्री हुनुअघि भ्रष्टाचार नगरी सम्पत्ति कमाएको उल्लेख गर्दै मर्दा गरिब भएर मर्नु तपाइको गल्ति हो भन्ने पोष्ट सामाजिक सञ्जालमा राखेका थिए । रक्षाले फिल्मी लाइनमा लेखेको भन्दै गृहमन्त्री गुरुङले गरेको टिप्पणीको आलोचना गरेकी छन् । उनले भनेकी छन्: फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै संघर्ष हो। आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न मिल्दैन । आज हाम्रो देशका २०% भन्दा बढी जनता गरिबीको रेखामुनि छन्, र तपाईंको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको हुन्छ। गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ। जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ । जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो। आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र? आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’ को संज्ञा दिनु तपाईंको पदीय मर्यादाविपरीत हो। बेलैमा सचिनुस् ।
१२- प्रधानमन्त्री बालेन शाहले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री बालेनले सोमबार बागमती प्रदेशका सबै दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग सरकारको प्राथमिकता र प्रदेशको विकास गर्ने एजेण्डाका बारेमा छलफल गरेका हुन् । यसअघि उनले लुम्बिनी, मधेश, सुदूरपश्चिम, कोशी र कर्णालीका सांसदहरुसँग छलफल गरेका थिए ।
१३- नेपालमा सबैभन्दा बढी घरजग्गा कारोबार मधेश प्रदेशमा देखिएको छ । राष्ट्र बैंकले घर जग्गा कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मान्दै बैंकले त्रैमासिक रूपमा सार्बजनिक गरेको विवरणमा मधेश प्रदेशमा बढी कारोबार देखिएको हो । प्रदेशगत रूपमा कारोबार संख्या सबैभन्दा बढी मधेश प्रदेशमा रहेको छ । त्यसपछि लुम्बिनी र कोशी प्रदेश छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सबैभन्दा कम कारोबार हुने गरेको छ । कारोबार भएको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशकै हिस्सा उच्च देखिएको छ । जग्गाको क्षेत्रफल अनुसार अधिकांश प्रदेशमा २.५ देखि १० आना सम्मका घडेरी बढी किनबेच हुने गरेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । तर मधेश प्रदेशमा भने २० आनाभन्दा माथिका ठूला प्लटको कारोबार बढी भएको देखिएको छ । मूल्यका आधारमा भने बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर र उपमहानगर क्षेत्रमा ५ देखि १० आना क्षेत्रफलका घडेरीको कारोबार बढी देखिएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशतले बढेको छ भने आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ । सरकारी राजस्व पनि उतारचढावपछि सुधारतर्फ देखिएको छ । २०७८/७९ को पहिलो त्रैमासमा २३ अर्ब ७० करोड रुपैयाँ पुगेको राजस्व २०७९/८० को पहिलो त्रैमासमा घटेर ८ अर्ब २० करोडमा झरेको थियो। पछिल्लो अवधिमा भने सुधार हुँदै करिब १५ अर्ब रुपैयाँ पुगेको रिपोर्टमा उल्लेख छ । राष्ट्र बैंकले यस्तो तथ्याङ्कले घरजग्गा क्षेत्रको गतिविधि बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, आगामी चरणमा घरजग्गा मूल्य सूचकाङ्क तयार गरी सार्वजनिक गर्ने तयारी पनि भइरहेको जनाएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र राष्ट्र बैंकबाट सङ्कलित विवरणका आधारमा घरजग्गा कारोबारको विश्लेषण गरेको जनाएको छ । लिखत पारितअन्तर्गत राजिनामा कारोबारलाई मुख्य आधार मानेर कारोबार संख्या, मूल्य, क्षेत्रफल, राजस्व संकलन र बैंक कर्जाको अवस्थालाई समेटिएको छ । राष्ट्र बैंकका अनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ ।

१४- अमेरिका र इरानबीचको वार्ता निष्कर्षविहीन बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि प्रति ब्यारेल १०० डलर नाघेको छ । ऊर्जा बजारमा तनाव बढेसँगै मूल्यमा तीव्र उछाल देखिएको हो । वैश्विक मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य ७.३ प्रतिशतले बढेर प्रति ब्यारेल १०२.३० डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियट ८.७ प्रतिशतले बढेर १०४.९४ डलरमा कारोबार भइरहेको छ । अमेरिका र इरानबीचको वार्ता कुनै नयाँ सहमति बिना टुंगिएपछि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा कडाइ गर्ने संकेत दिएपछि बजारमा अनिश्चितता बढेको हो । यसअघि गत बुधबार वासिङ्टन र तेहरानबीच दुई साताको सर्तसहित युद्धविराम सहमति भएपछि तेलको मूल्य १०० डलरभन्दा निकै तल झरेको थियो । त्यस क्रममा ऊर्जा आपूर्तिको मुख्य मार्ग मानिने होर्मुज जलडमरूमध्य खुला राख्ने कुरा पनि गरिएको थियो । तर फागुन २८ देखि सुरु भएको द्वन्द्वका कारण आपूर्ति झन्डै अवरुद्ध अवस्थामा रहेको छ । केही देशका जहाजहरू सीमित रूपमा सञ्चालनमा रहे पनि समग्र आपूर्तिमा अवरोध हुँदा विश्वभर ऊर्जा मूल्यमा तीव्र वृद्धि देखिएको छ ।
१५- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया भएको छ । ओलीको सचिवालयले महाराजगन्जस्थित शिक्षण अस्पतालमा ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको जानकारी दिएको छ । ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको र त्यसलाई निकाल्न डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्याक्रिया गरेको थियो । ओली चैत्र १४ गते कार्की आयोगको सिफारिसका आधारमा पक्राउ परेदेखि नै अस्पतालमा उपचारत रहेका छन् । ओली सर्वोच्चको परमादेशपछि चैत्र २६ गते रिहा भइसकेका छन् ।

१६- नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले पार्टीको क्रियाशील खारेज गर्न लागेको नभई अध्यावधिक गर्न लागेको बताएका छन् । काँग्रेसले बैशाख १ गतेदेखि एक महिनासम्म देशभर क्रियाशील सदस्यता सम्बन्धि वडा कार्यालयमा गएर क्रियाशील सदस्यता पुन लिनुपर्ने व्यवस्था गरेपछि अहिले नेता कार्यकर्ता तरंगित बनेका छन् । यसैप्रसंगमा काँग्रेस महामन्त्री पौडेलले नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गरिरहेको बताउदै क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्न लागेको स्पष्ट गरेका छन् । उनले अब अद्यावधिक हुने क्रियाशीलले पार्टीलाई गाउँगाउँमा जोड्ने बताउदै महामन्त्री पौडेलले कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरुको नवीकरणले थप जिम्मेवार र मजबुत बनाउने उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘विगतमा देखिएका त्रुटी हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौं । विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ ।’ उनले भोलिबाटै नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील साथीहरुलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरुलाई क्रियाशील सदस्यता लिन अनुरोध समेत गरेका छन् ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९७ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ४९०० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४९७५ मा कारोबार भएको थियो ।
१८- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा जाने जहाजमाथि अमेरिकी नौसेनाले नाकाबन्दी गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सो मार्ग प्रयोग गर्ने जहाजलाई रोकेर जाँच गरिने बताएका हुन् । ट्रम्पका अनुसार विशेषगरी इरानलाई शुल्क तिरेका जहाजहरू कडाइका साथ निगरानीमा राखिने बताएका छन् । उनले इरानलाई गैरकानुनी शुल्क तिर्ने जहाजलाई सुरक्षित मार्ग नदिइने चेतावनी दिँदै यसबाट इरानको आर्थिक शक्ति कमजोर पार्ने उद्देश्य रहेको उल्लेख गरेका छन् । यसअघि इरानका उपसभामुख हाजी बाबाएईले होर्मुज जलडमरूमध्य इरानको नियन्त्रणमा रहेको दाबी गरेका थिए । उनले यसलाई तेहरानको ‘रेड लाइन’ भन्दै सो मार्ग प्रयोग गर्ने जहाजले इरानी मुद्रा रियालमा शुल्क तिर्नुपर्ने बताएका थिए । यसैबीच, अमेरिका र इरानबीच पाकिस्तानमा करिब २१ घण्टा चलेको वार्ता निष्कर्षविहीन बनेको छ । रिपोर्टअनुसार होर्मुज मार्ग सञ्चालन र आणविक कार्यक्रमको विषयमा दुवै पक्षबीच सहमति हुन सकेन । अमेरिकाको नाकाबन्दी घोषणापछि यसको प्रभाव तत्काल देखिएको छ । सो समुद्री मार्ग हुँदै हुने जहाज आवतजावत झन्डै ठप्प भएको छ । समुद्री सूचना कम्पनीहरूले जनाएअनुसार धेरै जहाजले बाटो परिवर्तन गरेका वा फर्किएका छन् । इरानले भने अमेरिकी कदमप्रति कडा चेतावनी दिएको छ । इरानी नेता मोहसेन रेजाइले नाकाबन्दी असफल हुने दाबी गर्दै अमेरिकाले पराजय भोग्नुपर्ने बताएका छन् । उनले इरानी सेनाले यस्तो कदम सफल हुन नदिने चेतावनी पनि दिएका छन् । रेजाईले इरानसँग जवाफ दिनका लागि अझै प्रयोग नगरिएका विभिन्न विकल्प रहेको दाबी गर्दै सामाजिक सञ्जालका धम्कीबाट इरानलाई दबाउन नसकिने स्पष्ट पारेका छन् ।

१९- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका मन्त्रीहरुले सार्बजनिक गरेको सम्पत्तिको स्रोत पनि खुलाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने त आयो तर अब त्यसको स्रोत पनि खुलाईदिए राम्रो हुने बताएका हुन् । उनले स्रोत बिनाको सम्पत्ति फेरी घुमाई फिराई भ्रष्टाचार गरेको भन्ने बुझिन्छ भन्दै स्रोत खुलाउन माग गरेका हुन् । उनले भनेका छन्- ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो ! अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो ! स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ! स्रोत प्रष्टाइदिनु पर्छ ! जय देश !’
२०- रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले मुम्बईलाई १८ रनले पराजित गरेको हो । बैंगलुरुले दिएको २४१ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो । मुम्बईका लागि शेरफान रथरफोर्डले अविजित ७१ रन बनाएका थिए भने कप्तान हार्दिक पाण्डेयले ४०, रयान रिकलटनले ३७ र सुर्यकुमार यादवले ३३ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ४ विकेट गुमाउदै २४० रन बनाएको थियो । बैंगलुरुका लागि फिल साल्टले ७८ रन बनाएका थिए भने कप्तान रजत पाटीदारले ५३ र विराट कोहलीले ५० रन बनाएका थिए । यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ४ खेलमा ६ अंक भएको छ भने मुम्बई इण्डियन्सले ४ खेलमा तेस्रो हार बेहोरेको छ ।
#आजकासमाचार #मुख्यसमाचार #समाचारबुलेटिन #TodayNews #TopNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 📰



