


-धम्रेन्द्र चौधरी , कपिलवस्तु
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६ खडैचामा अवस्थित सामुदायिक रेडियो विजयनगर एफएम १००.७ मेगाहर्ज आजदेखि आठौँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७५ सालमा स्थापना भएको उक्त रेडियो विजयनगर गाउँपालिका र विजयनगर समाजद्वारा सञ्चालन सञ्चालित छ ।

.दैनिक १८ घण्टा प्रसारण गर्दै आएको रेडियोले स्थानीय समाचार, कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा युवा लक्षित कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आम नागरिकलाई सुसूचित गर्दै आएको छ । साथै विभिन्न चेतनामूलक कार्यक्रममार्फत सूचना, विज्ञापन तथा मनोरञ्जन प्रदान गर्दै समाजमा सकारात्मक योगदान पुर्याउँदै आएको रेडियोले जनाएको छ ।

आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले केक काटेर मनाइएको छ । सो अवसरमा बोल्दै अध्यक्ष थापाले स्थानीय सञ्चार माध्यमको भूमिकालाई महत्वपूर्ण बताएका छन् । रेडियो विजयनगरले गाउँघरसम्म हरेक गतिविधिकाे वास्तविक आवाज बाहिर ल्याउने काम गरेको उनलेे बताए । यसको निरन्तरता र गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने अध्यक्ष थापाले प्रतिबद्धतासमेत जनाए ।

त्यसैगरी रेडियो प्रमुख राम प्रघट कोरीले रेडियोको स्थापना कालदेखि हालसम्मको यात्राबारे जानकारी गराउँदै सीमित स्रोत-साधनका बाबजुद पनि स्थानीय स्तरका समस्या, सम्भावना र गतिविधिहरूलाई प्राथमिकतामा राख्दै प्रसारण गर्दै आएका बताए । आगामी दिनमा अझ प्रभावकारी र जनमुखी कार्यक्रम सहित बढ्ने उनलेे बताए ।
कार्यक्रममा रेडियोलाई यहाँसम्म ल्याउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने शेयर सदस्य, विज्ञापनदाता, व्यापारी, श्रोता, समाजसेवी तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद तथा आभार व्यक्त गरिएको थियो । साथै सहभागीहरूले रेडियोको दिगो विकास र प्रभावकारी सञ्चालनका लागि सुझावसमेत दिएका थिए ।



