आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- सरकारले कार्की आयोगको प्रतिवेदनमा सुरक्षा निकायका विषयमा उल्लेख भएका विषय कार्यान्वयनका लागि अर्को समिति गठन गरेको छ ।  बुधबार मन्त्रिपरिषद्को बैठकले गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको प्रतिवेदनमा सुरक्षा निकायका सम्बन्धमा गरिएका सिफारिस कार्यान्वयनबारे अध्ययन गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरलेका उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई सदस्य रहेको समिति गठन गरिएको छ । सरकारले मन्त्रिपरिषद्को पहिलो बैठक चैत १३ मा राजनीतिक नेतृत्वका हकमा प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने र सुरक्षा निकायका हकमा प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

२-  युनाइटेड अरब इमिरेट्स (युएई) ले रमजानको अवसरमा १२८ नेपालीलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले  रमजानको शुभ अवसरमा युएईले १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा जानकारी दिएको छ । आममाफी पाएका नेपालीको पहिचान भने खुलाइएको छैन । मन्त्रालयले भनेको छ- ‘पवित्र रमजानको शुभ अवसरमा १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकार युनाइटेड अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ ।’

३- सरकारले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकल प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् । आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

४- नेपाली कांग्रेसले प्रतिनिधिसभामा र बाहिर रहेका दलहरूसँग वार्ता गर्न टोली गठन गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसद अर्जुननरसिंह केसीको संयोजकत्वमा वार्ता टोली गठन गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन् । बैठकपछि निर्णय बारे जानकारी दिदै प्रवक्ता चालिसेले राजनीतिक दलहरूसँग संवाद, समन्वय गर्न पार्टीका तर्फबाट वार्ताको लागि पहल गर्न वरिष्ठ नेता अर्जुननरसिंह केसीको संयोजकत्वमा वार्ता सम्वाद समिति बनाएको बताएका हुन् । समितिलाई संसद भित्र वा बाहिर रहेका राष्ट्रिय मुद्दामा एकाकार गर्न सक्ने विविध क्षेत्रमा संवाद, छलफल गर्ने जिम्मेवारी दिइएको उनले बताए । काँग्रेसको कार्यसम्पादन समितिको बैठक विहिबार पनि बस्दैछ ।

५- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-जापान सम्बन्ध र सहयोगका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । साथै यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाउने विषयमा पनि कुराकानी भएको मन्त्रालयले उल्लेख अग्रेको छ ।

६-  चीनले इरानलाई कुनै पनि सैन्य सहयोग नगरेको स्पष्ट पार्दै अमेरिकाका आरोपहरू पूर्ण रूपमा असत्य भएको जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता जिन जियानले सञ्चारमाध्यममा आएका समाचारहरू मनगढन्ते रहेको बताएका छन् । चीनले हतियार निर्यातका विषयमा कडा नियम पालना गर्ने र कुनै पनि द्वन्द्वलाई प्रोत्साहन नगर्ने दाबी गरेको छ । अमेरिकाले चीनले इरानलाई क्षेप्यास्त्र वा हवाई सुरक्षा प्रणाली उपलब्ध गराउन सक्ने आशंका व्यक्त गरिरहेका बेला चीनको यस्तो प्रतिक्रिया आएको हो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै देश, विशेषगरी चीन, इरानलाई सैन्य सहयोग गरेको पाइएमा त्यस्ता देशमाथि ५० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दिएका छन् । चीनले पनि यसमा कडा प्रतिक्रिया दिदै अमेरिकाले यस्ता आरोपका आधारमा शुल्क बढाएमा आफूले पनि प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ ।

७- ख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जना र एक परामर्शदात्री कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ स्थित सिद्धनाथमा निर्माणाधीन शीतभण्डार परियोजनामा अनियमितता भएको उजुरीपछि गरिएको अनुसन्धानमा यस्तो तथ्य खुलेको आयोगले जनाएको छ। आर्थिक वर्ष २०७६/७७ को बजेटअन्तर्गत शीतभण्डार निर्माणका लागि मन्त्रालय र स्थानीय सहकारीबीच करिब ५ करोड ४३ लाख रुपैयाँ लागतको सम्झौता भएको थियो। जसअनुसार ७५ प्रतिशत रकम मन्त्रालयले र २५ प्रतिशत रकम सहकारीले व्यहोर्ने व्यवस्था थियो। अनुसन्धानका क्रममा परामर्शदाता कम्पनी मेगा माइन्ड आर्किटेक्टस एण्ड स्ट्रकचर्स प्रालिले नै परियोजनाको विस्तृत प्रतिवेदन तयार पार्ने र मूल्याङ्कन गर्ने दुवै काम गरी अस्वाभाविक लागत अनुमान तयार पारेको पाइएको छ । उक्त प्रक्रिया सार्वजनिक खरिद ऐनविपरीत खुला प्रतिस्पर्धाबिनै गरिएको पनि आरोप लगाइएको छ । त्यसैगरी गलत नापजाँच प्रतिवेदन र झुट्टा बिलका आधारमा करिब ७१ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिएको पाइएको आयोगले जनाएको छ । तर हाल उक्त शीतभण्डार अपूर्ण, जिर्ण र प्रयोगविहीन अवस्थामा रहेको छ । आयोगले परियोजनामा संलग्न व्यक्तिहरूले बदनियतपूर्वक आर्थिक हिनामिना गरेको ठहर गर्दै उनीहरूविरुद्ध कानुनी कारबाहीको मागसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।

८- बिस्का जात्राको अवसरमा प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन् । भक्तपुरको बोडेमा २९ बर्षिय सुजनले जिब्रो छेडेका हुन्  । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका थिए । विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेडाए । जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने बताएपछि पुनः बुद्धकृष्णले २०७९ सम्म जिब्रो छेडाएका थिए । जात्राको हालसम्मको प्रमाणअनुसार १३ जनाले १०९ वर्ष जिब्रो छेडाएको इतिहास रहेको छ ।  बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । चौथोपटक जिब्रो छेड्न लागेका श्रेष्ठलाई मंगलबार बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेशका तर्फबाट नगद दुई लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।

images

९-  सर्वोच्च अदालतले नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामा राख्नुको कारण सोधेको छ । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले खड्कालाई थुनामा राख्नुको कारणसहित लिखित जवाफ समेत पेश गर्न भोलीसम्मको समय दिएको हो । सर्वोच्चले खड्कालाई राजश्व अनुसन्धान विभागको अनुरोधमा ललितपुर जिल्ला अदालतले म्याद थप गरेको भन्ने कागज अप्रमाणित देखिएको र अदालतमा महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गरिएको उक्त पत्र आधिकारिक पुष्टि नभएकोले सो सम्बन्धी सम्पू्र्ण कागज विहिबार पेश गर्न आदेश दिएको हो । राजश्व अनुसन्धान विभागको अनुरोधमा ललितपुर जिल्ला अदालतले थुनामा राख्न म्याद थप गरेको हो भने त्यससम्बन्धी सबै मिसिल म्याद थप गर्दा तयार गरिएको पर्चासहितका कागजात पेश गर्न आदेश दिएको छ । खड्काको रिहाइका लागि उनकी पत्नी बिनिता थापाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

१०- सरकारले थप चार देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले इजरायल, कुवेत, वहराइन र लेवनानको पुनः श्रम स्वीकृति खुलाएको जानकारी दिएको हो । मन्त्रालयको फागुन १७ गतेको निर्णय वमोजिम मध्य पूर्व तथा खाडी क्षेत्रमा देखिएको विष परिस्थितिलाई मध्यनजर गर्दै यी देशको श्रम स्वीकृति रोकिएको थियो । यस्तै नेपालीको अर्को श्रम गन्तव्य देश इराकको हकमा भने नेपाल सरकार मन्त्रिपरिषदको २०८२ पुस ११ गतेको निर्णय वमोजिम श्रम स्वीकृति प्रदान हुने पनि विभागले जनाएको छ । यसअघि साउदी अरेबिया, युएइ, कतार, ओमान, यम, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति सुचारु गरिसकिएको विभागले जनाएको छ ।

११- नेप्से आज बढेको छ । आज बुधबार नेप्से ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४४ कम्पनिका २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर १० अर्ब ५३ करोड ७०  लाख ८ हजार ७९६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, रिज लाइन इनर्जी, सुर्यकुण्ड हाइड्रो,  होटल फोरेस्ट इन, सिन्धु विकास बैंक र पाल्पा सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर खुदीको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको शेयर ५.६१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ५८ करोड ९ लाख बराबर कारोबार भएको छ भने रिनेशनल हाइड्रोको ५७ करोड ११ लाख बराबरको कारोबार भएको छ ।

images

१२- नेपाली काँग्रेसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेका खड्कालाई सात दिने भित्र जवाफ दिन स्पष्टीकरण सोधेको हो । समितिका सभापति तारामान गुरुङका अनुसार  कार्यवाहक सभापतिको हैसियतमा प्रेस विज्ञप्ति जारी गर्नु विधान विपरीत भएको भन्दै अनुसशासन समितिले सातदिने स्पष्टीकरण सोधेको छ ।  काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सोमबार पुन: कार्यवाहक सभापतिको हैसियतमा पार्टीले क्रियाशील सदस्यता अध्यावधिक गर्ने निर्णय गरेको विरोधमा विज्ञप्ति जारी गरेका थिए । यसअघि खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाले पछि अनुशासन समितिले सचेत गराएको थियो ।

१३-  इरानले हालैको युद्धमा करिब २७० अर्ब डलर बराबरको क्षतिको दाबी गर्दै क्षतिपूर्ति माग गरेको छ । संयुक्त राष्ट्रसंघमा इरानका प्रतिनिधिले आक्रमणमा क्षेत्रीय देशहरूको समेत भूमिका रहेको आरोप लगाउँदै उनीहरूले पनि यसको मूल्य तिर्नुपर्ने बताएका छन् । इरान सरकारकी प्रवक्ता फातमेह मोहाजेरानीका अनुसार फागुन २८ देखि सुरु भएको युद्धपछि देशलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब २७० अर्ब डलरको क्षति पुगेको छ। उनले एक अन्तर्वार्तामा यस्तो जानकारी दिएकी हुन् । संयुक्त राष्ट्रसंघस्थित इरानी दूतले पाँच वटा क्षेत्रीय देशको भूमिबाट इरानमाथि आक्रमण भएको आरोप लगाएका छन् । त्यसैले ती देशहरूले पनि क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ । यसैबीच इरानले क्षतिपूर्ति उठाउन होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजमा कर लगाउने प्रस्तावसमेत अघि सारेको छ । उता अमेरिकासँग सम्भावित वार्ताको तयारी पनि भइरहेको जनाइएको छ । तर क्षेत्रीय देशहरूको मध्यस्थताबीच पनि इरान आफ्नो अडानमा कडा देखिएको छ ।

१४- गण्डकी प्रदेशमा नेपाली कांग्रेस सांसद द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन्त्री बन्ने दौडमा रहेका कुँवर मन्त्री बन्न नपाएपछि सांसद पदबाट नै राजीनामा दिएका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद पुनर्गठन गर्दै पुराना सबै मन्त्रीलाई हटाएर नयाँ आठ मन्त्रीलाई नियुक्त गरेका थिए । कुँवरले आजै गण्डकी प्रदेशका समामुखलाई राजीनामा बुझाएका हुन् । कुँवर २०७९ मंसिर ४ को निर्वाचनमा बागलुङ-२ बाट प्रदेश सभा सांसदमा निर्वाचित भएका थिए ।

१५- अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले इरानसँग सम्बन्धित युद्धका कारण विश्व अर्थतन्त्रमा मन्दी आउन सक्ने चेतावनी दिएको छ । द्वन्द्व थप चर्किएर तेल आपूर्तिमा अवरोध भएमा विश्व अर्थतन्त्र गम्भीर जोखिममा पर्न सक्ने जनाएको छ । आइएमएफका अनुसार सबैभन्दा खराब अवस्थामा विश्व आर्थिक वृद्धिदर हालको ३. १ प्रतिशतबाट घटेर करिब २ प्रतिशतमा झर्न सक्नेछ । त्यस्तै कच्चा तेलको मूल्य सन् २०२६ मा औसत ११० डलर प्रति ब्यारेल र २०२७ मा १२५ डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले तीनवटा सम्भावित अवस्था सार्वजनिक गरेको छ । सकारात्मक अवस्थामा युद्ध छिट्टै अन्त्य भई सन् २०२६ को दोस्रो भागदेखि तेलको मूल्य सामान्य भई करिब ८२ डलर प्रति ब्यारेलमा झर्न सक्नेछ । मध्यम अवस्थामा युद्ध लम्बिँदा यस वर्ष तेलको मूल्य करिब १०० डलर प्रति ब्यारेल र २०२७ मा ७५ डलर हाराहारी रहन सक्नेछ । यस अवस्थामा विश्व आर्थिक वृद्धि २ दशमलव ५ प्रतिशतसम्म घट्न सक्ने जनाइएको छ । आइएमएफका मुख्य अर्थशास्त्री पियरे ओलिभियर गोरिन्शाले हालको अवस्थालाई हेर्दा प्रतिकूल अवस्था बढी सम्भावित देखिएको बताएका छन् ।

images

१६- गण्डकी प्रदेशको मन्त्रिपरिषद्को पुनर्गठन गरिएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद्को पुनर्गठन गर्दै पुराना सबै मन्त्रीलाई हटाएर नयाँ आठ मन्त्री बनाएका हुन् ।  गण्डकीको नयाँ मन्त्रिमण्डलमा नेकपा एमाले र नेपाली कांग्रेसका ४-४ जना मन्त्री बनेका छन् । नयाँ मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको शपथ गराएका हुन् ।  मन्त्री बन्नेमा एमालेबाट गोविन्दबहादुर नेपाली, भीम कार्की, यशोदा रिमाल र लक्ष्मणबहादुर पाण्डे रहेका छन् भने कांग्रेसबाट नन्दु न्यौपाने, जित शेरचन, नम्डु गुरुङ र रेखा गुरुङ मन्त्री बनेका छन् ।  गण्डकीमा नेपाली काँग्रेस र एमालेको सरकार रहेको छ ।

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको २९ सयले बढेर तोलाको ३ लाख २ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९९ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५५ रुपैयाँले बढेर ५२२० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५०६५ मा कारोबार भएको थियो ।

१८- पिएसजी यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा लिभरपुललाई २-० गोल अन्तरले पराजित गर्दै पिएसजी समग्रमा ४-० को जित हासिल गर्दै सेमिफाइनलमा पुगेको हो । यसअघि पहिलो लिगमा पनि पिएसजीले लिभरपुललाई २-० गोल अन्तरले नै अपराजित गरेको थियो । यस खेलमा पिएसजीका लागि दुवै गोल ओसमान डेम्बेलेले गरेका थिए ।  त्यस्तै अर्को क्वाटरफाइनलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई समग्रमा ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । त्यस्तै अर्को क्वाटरफाइनलको दोस्रो लिगमा एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेपनि समग्रमा ३-२ गोल अन्तरले पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यस खेलमा बार्सिलोनाका लागि लामीन यमल र फेरान टोरेजले एक एक गोल गरेका थिए भने एटलेटिको म्याड्रिडका एडेमोला लुकम्यानले एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ७९औं मिनेटमा एरिक ग्रासियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । यसअघि क्वाटरफाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको थियो । योसँगै एटलेटिको म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

१९- चेन्नई सुपर किंग्सले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ३२ रनले पराजित गरेको हो । चेन्नईले दिएको १९३ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनाएको थियो । कोलकोताका लागि रमनदीप सिंहले सर्बाधिक ३५ रन बनाए भने कप्तान आजिख्य रहानेले २८, अंगक्रिश रघुबंशीले २७ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको थियो । चेन्नईका लागि सन्जु सामसनले सर्बाधिक ४८ रन बनाएका थिए भने डेवाल्ड ब्रेभिसले ४१  र आयुष मात्रेले ३८ रन बनाएका थिए । यो जितपछि चेन्नईको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक भएको छ । त्यस्तै कोलकोताले भने ५ खेलमा चौथो हार बेहोरेको छ ।

२०- ओमानको खाडीमा अमेरिकी युद्धपोतले इरानबाट निस्किरहेका दुई वटा तेल ट्यांकरलाई रोकेर फर्किन निर्देशन दिएको छ । ती ट्यांकरहरू इरानको चाबहार बन्दरगाहबाट बाहिरिएका थिए । समुद्रमै रहेको अमेरिकी युद्धपोतले रेडियोमार्फत सम्पर्क गरी दिशा परिवर्तन गर्न आदेश दिएको बताइएको छ । ती दुई ट्यांकर अमेरिकाको केन्द्रीय कमाण्डले यसअघि फर्किन भनेका ६ वटा व्यापारिक जहाजमध्येका थिए । त्यसपछि सबै जहाज ओमानको खाडीस्थित इरानी बन्दरगाहतर्फ फर्किएका छन् । अमेरिकी सेनाले हर्मुजको जलडमरूमलाई नाकाबन्दी गर्न १० हजारभन्दा बढी सेना र लगभग १२ नौसेना जहाजहरू तैनाथ गरेको छ । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार, नाकाबन्दीको पहिलो २४ घण्टामा कुनै पनि जहाज जलडमरूम पार गर्न सकेका छैनन् । अमेरिकी सैन्य आदेशमा अगाडि बढिरहेका छ वटा व्यापारिक जहाजहरू फर्किएका थिए । यो कार्य इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने वा बाहिर निस्कने सबै जहाजहरू जुनसुकै भए पनि सबैमा लागु हुने अमेरिकाले स्पष्ट गरेको छ । यद्यपि, केही मिडिया रिपोर्टहरूले इरानका चार जहाजहरू मंगलबार जलडमरूमबाट पार गर्न सक्षम भएको दाबी गरेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यतिर पुगेको दाबी गरेका छन् । एक अन्तर्वार्तामा उनले युद्ध लगभग सकिन लागेको संकेत दिएका हुन् । उनको भनाइले छिट्टै युद्धविराम वा शान्ति सम्झौताको सम्भावना बढेको संकेत गरेको छ । तर क्षेत्रीय तनाव भने अझै पूर्ण रूपमा कम भइसकेको छैन र आगामी वार्ता महत्वपूर्ण मानिएको छ । ट्रम्पले इरानमाथिको आक्रमणलाई उचित ठहर गर्दै अमेरिका कारबाही नगरेको भए इरानले परमाणु हतियार बनाइसक्ने दाबी पनि गरेका छन् । साथै, अमेरिका र इजरायलका आक्रमणले इरानलाई ठूलो क्षति पुगेको र पुनः उभिन करिब २० वर्ष लाग्न सक्ने उनको भनाइ छ ।

 

 

May be an image of textNepal life insuranceimagesimagesimages