



चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपालको भौगोलिक र मौसमी अवस्थितिका कारण विपद् व्यवस्थापनमा चुस्त र स्मार्ट कार्य नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

उहाँले नेपाल जस्तो सिमित स्रोत साधन भएको देशले पूर्व तयारीमा ठूलो लगानी गर्न नसक्ने यथार्थलाई स्वीकार्दै उद्धार र राहतमा व्यवस्थापकीय चुस्तता अपनाउनु नै बुद्धिमतापूर्ण विकल्प भएको बताउनु भयो । विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले पु¥याएको योगदानको कदर गर्दै उहाँले सुरक्षाकर्मीहरूले गरिरहेको कार्यलाई ‘उत्कृष्ट र स्मार्ट’ को संज्ञा दिनुभयो ।

अर्यालले विपद्को समयमा एपिएफ संस्थाप्रति आम नागरिकको निकै ठूलो अपेक्षा रहने तर यथार्थमा स्रोत साधनको अभावका बीच काम गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

प्रजिअ अर्यालले भन्नुभयो, ‘वर्षा होस् वा हिउँद, हिमालदेखि तराईसम्म नेपाल प्रकोपको दृष्टिकोणले अत्यन्तै संवेदनशील स्थानमा छ । यस्तो लाग्छ, प्रकोप नेपालको डीएनएमा छ । देशका विभिन्न स्थानमा खटिनुहुने सशस्त्र प्रहरीका साथीहरूले जुन उत्साहका साथ कार्य गर्नुभएको छ, त्यो साँच्चै प्रशंसनीय र उदाहरणीय छ ।’
शिक्षालयलाई आगामी दिनमा अझ परिष्कृत र सुविधा सम्पन्न बनाउनुपर्नेमा अर्यालले जोड दिनुभयो । उहाँले संगठन प्रमुखलाई यस शिक्षालयलाई साधन स्रोत र जनशक्तिले युक्त बनाएर विपद् व्यवस्थापनको क्षेत्रमा ‘सेन्टर अफ एक्सिलेन्स’ र ‘स्मार्ट अर्गनाइजेसन’को रूपमा विकास गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह समेत गर्नुभयो ।
#नेपाल #प्रकोपव्यवस्थापन #प्रजिअ #विपद् #विपद्व्यवस्थापन #प्रशासन #सुरक्षा #नेपालसमाचार #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



