


काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली टिचिङ अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया चैत्र ३० गते भएको थियो । ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको र त्यसलाई निकाल्न डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्याक्रिया गरेको थियो । ओली चैत्र १४ गते कार्की आयोगको सिफारिसका आधारमा पक्राउ परेदेखि नै अस्पतालमा उपचारत रहेका छन् । ओली सर्वोच्चको परमादेशपछि चैत्र २६ गते रिहा भएका थिए ।

२- दिल्ली क्यापिटल्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गरेको छ । बैंगलुरुले दिएको १७६ रनको लक्ष्य पछाएको दिल्लीले १९.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । दिल्लीका लागि ट्रीसटान स्टब्सले अविजित ६० रन बनाएका थिए भने केएल राहुलले ५७ रनको योगदान दिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । बैंगलुरुका लागिफिल साल्टले ६३, टिम डेविडले २६ रन बनाएका थिए । त्यस्तै दिल्लीका बलर लुंगी एन्गीडी, कुलदीप यादव र अक्सर पटेलले २-२ विकेट लिएका थिए । यो जितपछि दिल्लीको ५ खेलमा ६ अंक भएको छ भने बैंगलुरुको ६ खेलमा ८ अंक रहको छ ।

३- वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । आज रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई दिउँसो पुल्चोकबाट तानेर गाबहालमा पुर्याइनेछ । यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगलमा निमार्णाधीन रथमा रथारोहण गरिएको हो । त्यसपछि मीननाथको रथलाई टंगलबाट तानेर पुल्चोक पुर्याइएपछि मात्र रातो मच्छिन्द्रनाथको रथलाई मीननाथको रथको पछि लगाएर पुल्चोकबाट तानिनेछ । आज मात्र मीननाथको रथलाई अघि लगाएर तानिन्छ । भोलिदेखि मीननाथको रथलाई मच्छिन्द्रनाथको रथको पछि लगाएर तानिने चलन छ । आज गाबहालका बासिन्दाहरुले छवयालाभू मनाइरहेका छन् भने अहिले मच्छिन्द्रनाथको दर्शनका लागि पुल्चोकमा भक्तजनको घुइँचो लागेको छ । आज रथ तानिने भएकोले मच्छिन्द्रनाथको रथमा हरियो धूपी लगायतले सिँगारपटार गर्ने काम हुनेछ । रथलाई जात्रा अवधिभर ललितपुरको विभिन्न टोलमा घुमाउने प्रचलन रहेको छ । रथ तान्नुअघि र गन्तव्यमा पुगेपछि गुरुज्यूको पल्टनबाट सलामी दिने चलन छ । मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्याएर भोटो देखाइन्छ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगिएपछि जात्रा समापन हुन्छ । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव, काठमाण्डौका तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका किसान ललितचक्रले रातो मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट ल्याएको किंवदन्ती छ ।

४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भोलि बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले बैठक आह्वान गरेका हुन् । पार्टीका अनुसार बैठक वैशाख ६ गते दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् लगायतका संरचनामा मनोनयनका विषयमा छलफल हुने जनाइएको छ । त्यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञ तथा योजना प्रस्ताव आह्वानसम्बन्धी विषय पनि कार्यसूचीमा समावेश गरिएको छ । यससँगै प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक तथा संसदीय दलका लागि प्राविधिक सहयोग लगायत विषयमा समेत छलफल हुने बताइएको छ ।
५- काठमाडौँ । सरकारले स्थानीय तहको संख्या, सीमाना हेरफेर र वर्गीकरणको बारे सुझाव मागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव माग गरेको हो । त्यस्तै मन्त्रालयले जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघलाई बोधार्थ दिदै सहजिकरणको लागि आग्रह गरेको छ । मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ को व्यवस्था बमोजिम गाउँपालिका तथा नगरपालिका, वडाको संख्या तथा सिमाना हेरफेर, गाउँपालिका र नगरपालिका एक आपसमा गाभिने र नगरपालिकाको विद्यमान बर्गीकरणमा पुनराबलोकन गर्न प्ररम्भिक मस्यौदा तयार भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले तोकिएको मापदण्डका आधारमा स्थानीय तहले प्रस्ताव पेश गर्ने, प्रदेशले सिफारिस गर्ने र मन्त्रालयले सिफारिसको अध्ययन गरेर मन्त्रिपरिषदको बैठकमा पेश गर्न बताएको छ । सरकारले स्थानीय तहलाई कानुनी अभिलेखको अध्ययन, स्थलगत अध्ययन र अवलोकन, उपलब्ध तथ्य तथ्यांकको विश्लेषण, स्थानीयसँगको छलफल, राजनीतिक दल र नागरिक समाजसँग अन्तरक्रिया, विज्ञसँग परामर्श गरेर निर्णय लिन आग्रह गरेको छ । त्यस्तै सीमान हेरफेर वडाको संख्या हेरफेर, स्थानीय तह गाभिने विषयमा अध्ययन गर्न हरेक जिल्लामा जिल्ला समन्वय समितीका प्रमुख संयोजक रहेको समिति बनाइएको छ । जसमा सम्बन्धित स्थानीय तहका उपप्रमुख, सहायक जिल्ला प्रमुख अधिकारी, नापी प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ । सो सम्बन्धमा कुनै राय सुझाव भए मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराईदिन मन्त्रालयले आग्रह गरेको हो ।

६- बलिवुडका चर्चित फिल्म निर्माता सञ्जय लीला भन्सालीको नयाँ चलचित्र ‘लभ एण्ड वार’ सन् २०२७ जनवरी २१ मा विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई वर्षकै ठूला रिलिजमध्ये एक मानिएको छ । चलचित्रमा रणबीर कपुर, विक्की कौशल र आलिया भट्ट मुख्य भूमिकामा रहेका छन् । यी तीन कलाकार पहिलो पटक भन्सालीको निर्देशनमा एउटै चलचित्रमा देखिन लागेका कारण दर्शकमाझ उत्साह बढेको छ । यसअघि यो चलचित्र सन् २०२६ जुनमा प्रदर्शन हुने अपेक्षा गरिएको थियो । तर, हालै रणबीर कपुरले सामाजिक सञ्जालमार्फत प्रदर्शन मिति सारिएको जानकारी दिएका थिए । निर्माताहरूले अन्य ठूला चलचित्रसँग प्रत्यक्ष प्रतिस्पर्धा नहोस् भन्ने उद्देश्यले प्रदर्शन मिति सारिएको जनाइएको छ । ठूलो लगानीमा निर्माण भइरहेको ‘लभ एण्ड वार’ भावनात्मक पक्षलाई केन्द्रमा राखेर बनाइएको प्रेमकथामा आधारित चलचित्र हो । भन्सालीको विशिष्ट प्रस्तुति शैली र भव्य दृश्य संरचना यसमा देखिने अपेक्षा गरिएको छ । यो चलचित्र हिन्दी, तमिल र तेलुगु भाषामा प्रदर्शन गरिनेछ, जसले भारतसहित अन्तर्राष्ट्रिय बजारमा व्यापक रूपमा प्रदर्शन हुने संकेत दिएको छ ।
७- फ्र्याङ्क लामपार्डको प्रशिक्षणमा कोभेन्ट्री सिटी प्रिमियर लिगमा उक्लिएको छ । ब्ल्याकबर्न रोभर्ससँग १–१ को बराबरी खेलेपछि कोभेन्ट्रीले २५ वर्षपछि शीर्ष डिभिजनमा पुनरागमन गरेको हो । यस नतिजासँगै कोभेन्ट्रीलाई अंक तालिकामा समात्न अन्य टोली असमर्थ बनेका छन् । लामो समयपछि शीर्ष लिगमा फर्किनु क्लब र प्रशिक्षक लाम्पार्ड दुवैका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । पछिल्लो पटक २०००-०१ सिजनमा खेल्दै रेलिगेशनमा परेको थियो ।

८- इरानले होर्मुज जलडमरू हुँदै हुने जहाज आवतजावतमा पुन: रोक लगाएको छ । उक्त महत्वपूर्ण समुद्री मार्गमा कडा नियन्त्रण लागू गर्दै इरानले यो निर्णय गरेको हो । इरानले अमेरिकाले आफ्ना बन्दरगाहमाथि लगाएको नाकाबन्दी नहटाएसम्म यो प्रतिबन्ध जारी रहने स्पष्ट पारेको छ । संयुक्त सैन्य कमानले जारी गरेको वक्तव्यमा होर्मुज जलडमरू पूर्ण रूपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र कडाइका साथ व्यवस्थापन भइरहेको जनाइएको छ । यसअघि इरानले मार्ग खुला गर्न सकिने संकेत दिएको थियो । तर अमेरिकाले आफ्नो अडान नबदलेपछि इरानले निर्णय परिवर्तन गर्दै आवतजावत रोक्ने कदम चालेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सहमति नभएसम्म, जसमा परमाणु कार्यक्रमसमेत समावेश छ, नाकाबन्दी जारी रहने बताएका थिए । त्यसपछि इरानले कडा प्रतिक्रिया दिँदै समुद्री मार्गमा आवतजावत रोक्ने निर्णय गरेको हो ।
९- म्यानमारमा नयाँ वर्षको अवसर पारेर हजारौँ कैदीलाई आममाफी दिइएको छ । सो क्रममा पूर्व राष्ट्रपति विन म्यिन्टलाई पनि रिहा गरिएको छ । सरकारी घोषणाअनुसार करिब ४५ सय कैदीलाई आममाफी दिइएको हो । वर्तमान शासक मिन आङ ह्लाइङद्वारा सार्वजनिक गरिएको यस निर्णयअन्तर्गत विन म्यिन्ट जेलमुक्त भएका हुन् । सरकारी सञ्चारमाध्यमका अनुसार यो आममाफीमा सैनिक शासनको विरोधमा पक्राउ परेका व्यक्तिहरू समेटिएका छन् वा छैनन् भन्ने स्पष्ट भएको छैन । पूर्व नेतृ आङ सान सू कीको रिहाइबारे पनि कुनै संकेत देखिएको छैन । विन म्यिन्ट सू कीका नजिकका सहयोगीका रूपमा चिनिन्छन् । उनी सन् २०१८ मा राष्ट्रपति बनेका थिए । सन् २०२१ फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि सोही दिन उनलाई पक्राउ गरिएको थियो । यसबीच, आङ सान सू कीलाई आममाफीअन्तर्गत नजरबन्दमा राखिने तयारी गरिएको छ । उनका कानुन व्यवसायीले सू कीको सजायको ६ भागको एक भाग कटौती गरिएको जानकारी दिएका छन् । यस अनुसार उनलाई दिइएको २७ बर्षको जेल सजायमा साढे ४ बर्ष घेटेको बताइएको छ ।
१०- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्ष आन्तरिक छलफलमा जुटेको छ । पुर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले आफु निकट नेताहरुसँग छलफल थालेका हुन् । देउवा पक्षले गगन नेतृत्वको कांग्रेसलाई नै मान्यता दिएपछि अब नयाँ पार्टी खोलेर जाने या काँग्रेसमै संघर्ष गर्ने भन्ने विकल्पमा छलफल गरिरहेको छ । गगन थापाले अदालतको निर्णयपछि अब पार्टीका सबै नेता कार्यकर्ता महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले कसैलाई भेदभाव नगर्ने बताउदै एक भएर पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गरेका छन् । अर्कोतर्फ नेता खड्काले भने आफुले विशेष अधिवेशन नमान्ने स्पष्ट अडान कायमै राखेका छन् । आफु निकट नेताहरुसँग कुनै पनि अवस्थामा विशेष अधिवेशनलाई नमान्ने बताउने गरेका छन् । विशेष अधिवेशनपछि समानन्तर गतिबिधि गरिरहेकै कारणले काँग्रेसले खड्कालाई स्पष्टिकरण समेत सोधेको अवस्था रहेको छ । खड्काले आफूनिकट नेताहरूसँगको छलफलपछि वर्तमान अवस्थामा आफु पक्षको रणनीति बारे विज्ञप्ति मार्फत नै जानकारी गराउने तयारी गरेको बताइएको छ ।
११- शिक्षा क्षेत्रका चार संस्थाले निजी विद्यालयहरूको शुल्क सम्बन्धी विषयलाई लिएर भ्रामक, अतिरञ्जित तथा निराधार सामग्रीहरू सार्वजनिक भइरहेको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । एपेन, एन प्याब्सन, हिसान र प्याब्सनले एक विज्ञप्ति जारी गर्दै निजी विद्यालयहरू नेपाल सरकारबाट विधिवत् अनुमति प्राप्त संस्था भएको र शिक्षा ऐन, नियमावली, सम्बन्धित निर्देशिका तथा स्थानीय तहद्वारा जारी कानुनहरूको दायराभित्र रही सञ्चालन हुँदै आएको उल्लेख गरेका छन् । साथै उनीहरुले शुल्क निर्धारणसम्बन्धी व्यवस्था समेत प्रचलित कानुनअनुसार नै तय हुने भएकाले कुनै पनि विद्यालय कानुनी सीमाभन्दा बाहिर रहेर शुल्क निर्धारण वा असुल गर्ने अवस्थालाई स्वीकार गर्न नसकिने बताएका छन् । विज्ञप्तिमा यदि कुनै विद्यालयले अनाधिकृत रूपमा शुल्क लिएको पाइएमा त्यस सम्बन्धमा सम्बन्धित निकाय वा समितिहरूमा औपचारिक रूपमा गुनासो राख्न सकिने बताएका छन् । यसै सन्दर्भमा, विद्यालयलाई एकपक्षीय र नकारात्मक ढंगले प्रस्तुत गर्ने प्रवृत्तिले अभिभावक तथा विद्यार्थीहरूमा भ्रम सिर्जना गर्ने मात्र होइन, सिकाइ वातावरणमा समेत प्रतिकूल असर पार्ने बताउदै उनीहरुले जुन विद्यालयमा विद्यार्थी अध्ययनरत छन्, सोही संस्थाप्रति नकारात्मक धारणा निर्माण हुँदा उनीहरूको मनोबल तथा सिकाइ उपलब्धिमा प्रत्यक्ष प्रभाव पर्न सक्ने भएकाले यसतर्फ सबै सरोकारवाला सजग रहन आवश्यक रहेको बताएका छन् । त्यस्तै विद्यालय सञ्चालनका क्रममा भर्ना शुल्क (एक महिनाको पढाइ शुल्क बराबर) मासिक पढाइ शुल्क (१२ महिना), वार्षिक शुल्क (दुई महिना बराबर) तथा प्रचलित कानुनले तोकेका अन्य शुल्कहरूका साथै अतिरिक्त सेवा जस्तै भोजन, यातायात, विशेष प्रशिक्षण र विस्तारित सिकाई जस्ता विषय उपभोग गरेबापत शुल्क अभिभावकले व्यहोर्नुपर्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा यस्ता भ्रामक तथा अपुष्ट सूचनामा नअल्झी अभिभावकहरूले आफ्ना नानीबाबु अध्ययनरत विद्यालयसँग प्रत्यक्ष संवाद गरी, जिज्ञासा वा असहमति रहेका विषयमा विद्यालय प्रमुखसँग छलफल गरेर समाधान खोज्नु नै उपयुक्त र व्यवहारिक उपाय बताएका छन् । साथै निजी विद्यालयमा कुनै दान दातव्य, सरकारी लगानी वा अनुदान प्राप्त नहुने र विद्यालय एक सङ्गठित संस्था भएको हुँदा संस्थासँग जोडिने शिक्षक-कर्मचारी, भौतिक पूर्वाधार आदिको दायित्वहरू निरन्तर सिर्जना हुने र दायित्व भुक्तानका लागि उपभोक्तासँग शुल्क लिनुपर्ने व्यवहारिक परिस्थिति रहेको हुँदा वैशाख महिनामा लाग्ने शुल्कहरू यथावत रहने र कुनै शुल्क तिर्नु पर्दैन, निःशुल्क हुन्छ भन्ने जस्ता भ्रामक प्रचारको भ्रममा नरहन अभिभावकहरूमा आग्रह गरेका छन् । विद्यालय समुदायको साझा सम्पत्ति भएको र सबैका लागि शिक्षाको ढोका खुला रहेको भन्दै अभिभावकलाई आफ्नो क्षमता र आवश्यकताअनुसार विद्यालय छनोट गर्ने तथा आफ्ना सन्तानलाई शिक्षा दिलाउने अधिकार नेपालको संविधानले सुनिश्चित गरेको बताएका छन् । उनीहरुले सामुदायिक तथा संस्थागत दुवै प्रकारका विद्यालयहरूले देशको भावी जनशक्ति निर्माणमा योगदान पुयाइरहेको सन्दर्भमा सम्पूर्ण पक्षले जिम्मेवार, सकारात्मक र सहयोगात्मक भूमिका निर्वाह गर्नु अत्यन्त आवश्यक देखिएको विज्ञप्तिमा उल्लेख छ ।

१२- नेपाली काँग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीलाई एकताबद्ध बनाउँदै फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् । सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाउदै यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले काँग्रेसको देउवा पक्षले दायर गरेको रिट खारेज गर्दै थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेपछि सभापति थापाको प्रतिक्रिया आएको हो । उनले पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुने विश्वास व्यक्त गर्दै पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी आफ्नो भएको र आफु त्यसअनुसार सक्रिय रूपमा लाग्ने बताएका छन् । सभापति थापाले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको बताउदै महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न समेत आव्हान गरेका छन् । अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब सबै एक ढिक्का भएर अघि बढ्न समेत आव्हान गरेका छन् ।
१३- इरानी संसदका सभामुख मोहम्मद बगर गालिबाफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिप्रति कडा प्रतिक्रिया दिएका छन् । उनले ट्रम्पले एक घण्टामा गरेका सातवटै दाबी झुटा रहेको आरोप लगाएका छन् । प्रतिक्रिया दिँदै गालिबाफले इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी जारी रहे होर्मुज जलडमरू खुला नरहने चेतावनी दिएका छन् । यो प्रतिक्रिया ट्रम्पले शान्ति सहमति नभएसम्म इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी जारी रहने बताएपछि आएको हो । गालिबाफले होर्मुज जलडमरू खुला वा बन्द रहने विषय सामाजिक सञ्जालले होइन, स्थलको वास्तविक अवस्थाले निर्धारण गर्ने बताएका छन् । उनले उक्त जलडमरूबाट आवतजावत तोकिएको मार्ग र इरानको अनुमतिमा मात्र हुने स्पष्ट पारेका छन् । उनले झुटका आधारमा युद्ध जित्न नसकिने र वार्ताबाट पनि परिणाम नआउने टिप्पणी गरेका छन् । गालिबाफले अमेरिकासँगको वार्ताका लागि इस्लामाबाद पुगेको इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
१४- नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ बोर्ड सञ्चालक समितिको बैठक बोलाएका अध्यक्ष श्रेष्ठले बैठकमै राजीनामा दिने निर्णय सुनाएका थिए । त्यसपछि उनले शुक्रबार राति नै अर्थ मन्त्रालयमा राजीनामा बुझाएका थिए । अर्थ मन्त्रालय स्रोतका अनुसार श्रेष्ठले आफ्नो राजीनामा स्वेच्छिक रहेको बताएका छन् । समितिको बैठकमा श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिन लागेको जानकारी गराएका थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई २०८१ मंसिर १० गते बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो ।

१५- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युरेनियम जसरी पनि हासिल गर्ने बताएका छन् । उनले इरानसँग रहेको उच्च स्तरमा समृद्ध युरेनियम जुनसुकै अवस्थामा पनि अमेरिकाले आफ्नो नियन्त्रणमा लिने बताएका हुन् । एयरफोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले वार्ताबाट सहमति नभए अझ कडा उपाय अपनाउन सकिने चेतावनी दिए । उनले सहमति भए दुवै देश मिलेर युरेनियम हटाइने र पूर्ण रूपमा अमेरिका लैजाने दाबी गरेका छन्, तर यसको समयसीमा भने खुलाएका छैनन् । ट्रम्पले बुधबारसम्म इरानसँग ठोस सहमति नभए हाल कायम युद्धविराम अन्त्य हुन सक्ने चेतावनी पनि दिए । उनले नाकाबन्दी जारी रहने र आवश्यक परे फेरि आक्रमण सुरु हुन सक्ने संकेत गरेका छन् । यो भनाइ यस्तो समयमा आएको हो, जब अमेरिका र इरानबीचको वार्ता अघि बढ्नुको सट्टा अड्किएको देखिएको छ । पाकिस्तानमा भएको अप्रत्यक्ष संवादबाट पनि ठोस निष्कर्ष निस्कन सकेको छैन । पछिल्लो समय गोप्य वार्ताले केही आशा देखाए पनि मुख्य विषयमा अझै सहमति हुन सकेको छैन । दुवै पक्षबीच मुख्य विवाद तीन विषयमा केन्द्रित रहेको छ—इरानमाथिका प्रतिबन्ध हटाउने कि नहटाउने, इरानले आफ्नो परमाणु कार्यक्रम कति सीमित गर्ने र समुद्री मार्गमा जहाजको सुरक्षा तथा आवतजावत कसरी सुनिश्चित गर्ने । यसबीच केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ट्रम्पका केही दाबी पूर्ण रूपमा पुष्टि नभएको वा बढाइचढाइ गरिएको हुन सक्ने उल्लेख गरेका छन् । ट्रम्पले इरानले युरेनियम समृद्धीकरण पूर्ण रूपमा बन्द गर्नुपर्ने दोहोर्याउँदै आएका छन् भने इरानले भने अस्थायी रूपमा रोक्न सकिने तर पूर्ण रूपमा त्याग्न नसकिने अडान लिएको छ । विशेषज्ञहरूका अनुसार इरानसँग रहेको करिब ४४० किलोग्राम समृद्ध युरेनियम हटाउने प्रक्रिया जटिल र समय लाग्ने खालको विश्लेषण गरिएको छ । त्यसैले ६० दिनभित्र सहमति गर्ने प्रयास भइरहे पनि सो अवधिमा यो काम पूरा हुन कठिन देखिएको छ ।
१६- परराष्ट्र मन्त्रालयले दक्षिण एशिया, उत्तर–पूर्व एशिया, दक्षिण–पूर्व एशिया तथा प्रशान्त क्षेत्रमा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै परराष्ट्र सचिव अमृत बहादुर राईले सरकारले प्राथमिकतामा राखेका दुई मुख्य विषय—सुशासन र आर्थिक कूटनीति—मा जोड दिएका छन् । उनले प्रविधिमा आधारित सेवा प्रवाहमार्फत सुशासन सुदृढ गर्नुपर्ने र प्रभावकारी आर्थिक कूटनीतिमार्फत मुलुकको हित प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । अन्तरक्रियामा सहभागी राजदूत, वाणिज्यदूत तथा कार्यवाहक प्रमुखहरूले सम्बन्धित देश र निकायसँग नेपालको संलग्नता, सहकार्यका सम्भावना तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले गुणस्तरीय सेवा प्रवाहमार्फत सुशासन सुनिश्चित गर्ने र आर्थिक कूटनीतिलाई सशक्त बनाउँदै देशको समृद्धिमा योगदान गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारेका थिए । उनले नियोगहरूलाई सोहीअनुसार काम अघि बढाउन निर्देशन दिँदै नवीनता र डिजिटलीकरणमार्फत सेवा प्रवाह अझ प्रभावकारी बनाउन आग्रह गरेको मन्त्रालयले जानकारी दिएको छ ।
१७- विश्वका ठुला टेक कम्पनिहरुमा जागिर कटौतीको अभियान नै चलेको छ । यसैबीचमा स्न्यापच्याटको अभिभावक कम्पनी स्न्याप अब यो सूचीमा सामेल भएको छ । रिपोर्ट अनुसार, कम्पनीले आफ्नो १६ प्रतिशत कार्यबल, वा लगभग एक हजार कर्मचारीहरूलाई हटाउने तयारी गरिरहेको छ । यसले भविष्यमा सयौं पदहरू रद्द गर्ने बारेमा पनि विचार गरिरहेको रिपोर्टमा उल्लेख छ । यी कटौतीहरूको पछाडिको मुख्य कारण द्रुत गतिमा बढ्दै गएको कृत्रिम बुद्धिमत्ता उपकरणहरूलाई श्रेय दिइएको छ । यो २०२२ देखि कम्पनीको निरन्तर छटनी प्रयासहरूमा अर्को प्रमुख कदम हो। लागत कटौती र एआई (कृत्रिम बुद्धिमत्ता) को बढ्दो प्रयोग कर्मचारीको कटौतीका छमुख्य कारणहरू भएको बताइएको छ । स्न्यापच्याटको अभिभावक कम्पनी स्न्यापले अब ठूलाहरूको सट्टा साना, बढी केन्द्रित टोलीहरूसँग काम गर्न चाहेको छ । कम्पनी भित्र धेरै महत्त्वपूर्ण कार्यहरू मानिसहरूको सट्टा एआई उपकरणहरूद्वारा बढ्दो रूपमा गरिँदैछन् । यसैले, नयाँ कर्मचारीहरू भर्ना गर्नुको सट्टा, कम्पनीले आफ्नो काम गर्ने सम्पूर्ण तरिका परिवर्तन गर्दैछ र सयौं खाली पदहरू स्थायी रूपमा बन्द गर्दैछ । सरल भाषामा भन्नुपर्दा, यसको अर्थ पहिले धेरै व्यक्तिहरूले सम्हालेको काम अब एआईको सहयोगमा केही व्यक्तिहरूको टोलीले सजिलै पूरा गर्न सक्ने भएको छ । यद्यपी एआई यी कटौतीहरूको एक मात्र कारण भने नभएको बताइएको छ । लगानीकर्ताहरू कम्पनीको कार्यसम्पादनको बारेमा पनि उल्लेखनीय दबाबमा छन् । लगानीकर्ताहरूले कम्पनीलाई अनावश्यक खर्च रोक्न र नाफा बढाउनमा ध्यान केन्द्रित गर्न निरन्तर माग गरिरहेका छन् । यसबाहेक, स्न्यापले आफ्नो एआर (अग्मेन्टेड रियालिटी) स्मार्ट चश्मा जस्ता महत्वाकांक्षी परियोजनाहरूमा ठूलो लगानी गरेको थियो, तर उनीहरूले आशा गरेअनुसार बजार सफलता हासिल गरेका छैनन् । उल्लेखनीय लगानी र लगानीकर्ताको दबाबको बावजुद प्रतिफलको अभावले कम्पनीलाई आफ्नो सञ्चालन कडा बनाउन बाध्य पारिरहेको छ । यो पूर्ण कटौती र पुनर्संरचना मार्फत, कम्पनीले आफ्नो भविष्यको लागि तयारी गरिरहेको छ । स्न्यापले यी कठोर परिवर्तनहरू पूर्ण रूपमा लागू भएपछि, तिनीहरूले वार्षिक ५ सय मिलियन डलरभन्दा बढीको महत्त्वपूर्ण खर्च बचाउने योजना बनाएको बताइएको छ । यसका साथै, कम्पनी द्रुत रूपमा नयाँ कार्य मोडेलतर्फ अघि बढिरहेको छ। स्न्यापको ध्यान अब छिटो र बढी कुशल प्रणाली सिर्जना गर्ने कुरामा छ जहाँ साना टोलीहरूले पहिलेभन्दा बढी र राम्रोसँग काम गर्न एआई उपकरणहरूको शक्ति प्रयोग गर्न सक्छन्। कम्पनी आफैंले एकैचोटि धेरै मानिसहरूलाई निकालेपछि यो सञ्चालन परिवर्तन सजिलो नहुने स्वीकार गरेको छ । यद्यपि, यस दौडमा स्न्यापच्याट एक्लो छैन। प्राविधिक उद्योगमा हालको प्रवृत्ति कर्मचारी संख्या घटाउने र एआईमा लगानी बढाउने हो । स्न्यापच्याटको यो कदम टेक उद्योगमा ठूलो प्रवृत्तिको अंश हो । यस वर्ष, अमेजन, मेटा, ब्लकचेन, पिन्टरेस्ट र एटलासियन जस्ता धेरै प्रमुख कम्पनीहरूले सामूहिक रूपमा हजारौं कर्मचारीहरूलाई निकालेका छन् । एक रिपोर्टका अनुसार २०२५ देखि अहिलेसम्म ८० भन्दा बढी टेक कम्पनिले ७० हजार भन्दाबढी कर्मचारी कटौती गरेका छन् । यसबाहेक, एआई प्रविधिको विकास र यसमा अरबौं डलरको ठूलो लगानीले कम्पनीहरूलाई अन्य विभागहरूमा खर्च कटौती गर्न बाध्य पारिरहेको छ, जसले कर्मचारीहरूको जागिरमा प्रत्यक्ष असर गरिरहेको छ ।

१८- चीनले आफ्नो शेनझोउ- २१ अन्तरिक्ष अभियानअन्तर्गत अन्तरिक्षमा रहेका तीन अन्तरिक्षयात्रीको बसाइ अवधि करिब एक महिना थप गरेको छ । दीर्घकालीन अन्तरिक्ष बसाइसँग सम्बन्धित प्रविधिको परीक्षणका लागि यस्तो निर्णय गरिएको जनाइएको छ । यो अभियान ३१ अक्टोबरमा जिउक्वान प्रक्षेपण केन्द्रबाट लङ मार्च–२ एफ रकेटमार्फत प्रक्षेपण गरिएको थियो । सामान्यतया यस्ता अभियानमा अन्तरिक्षयात्रीहरू करिब ६ महिनासम्म अन्तरिक्ष केन्द्रमा बस्ने गर्छन् । यस अभियानमा झाङ होङझाङ, वु फेई र कमाण्डर झाङ लु सहभागी छन् । उनीहरू पाँच महिनाभन्दा बढी समयदेखि पृथ्वीको कक्षमा रहेका छन् र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसअघि उनीहरूको फिर्ता अप्रिल आसपास हुने तय गरिएको थियो । तर अहिले अभियान अवधि बढाइएकाले नयाँ फिर्ता मिति सार्वजनिक गरिएको छैन । चीनका अन्तरिक्ष अधिकारीहरूका अनुसार यो विस्तारको मुख्य उद्देश्य लामो समयसम्म अन्तरिक्षमा बस्दा प्रयोग हुने प्रविधिको परीक्षण गर्नु हो । यस अवधिमा अन्तरिक्षयात्रीहरूले आफ्ना वैज्ञानिक तथा प्राविधिक अनुसन्धानलाई निरन्तरता दिनेछन् ।
१९- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ विपरीत काम गराइएको भन्दै विभिन्न स्वास्थ्य संस्था तथा प्रतिष्ठानहरूबारे गुनासा आएपछि ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका अनुसार केही अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ्ग स्टाफ लगायतलाई नियमअनुसार श्रम सम्झौता नगरी काममा लगाइएको र तोकिएको समयभन्दा बढी काम गराइएको भन्ने उजुरी प्राप्त भएको र प्रशिक्षार्थीहरूबाट समेत यस्ता गुनासा आएको जनाउदै श्रम ऐनअनुसार रोजगारदाता र श्रमिकबीच रोजगार सम्झौता अनिवार्य गर्न निर्देशन दिएको छ । साथै मन्त्रालयले दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काम लगाउन नपाइने, आवश्यक परे सीमित अतिरिक्त समय मात्र काम लगाउन पाइने कानुनी प्रावधान रहेको उल्लेख गर्दै सोहि अनुसार गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै रोजगारदातालाई प्रचलित कानूनको पूर्ण पालना गर्न आग्रह गर्दै साथै, नियमविपरीत कार्य गरेको पाइएमा श्रम ऐन २०७४ अनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ ।

२०- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले इन्धनको मूल्य फिर्ता लिन माग गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाअभियानका संयोजक दुर्गा प्रसाईंले एक हप्ताको अल्टिमेटम दिदै सो समय भित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन थाल्ने चेतावनी दिएका हुन् । उनले महाअभियानको विद्यार्थी संगठनको नेतृत्वमा आन्दोलन हुने बताउदै सरकारको गलत कदमको विरोध गर्न विद्यार्थी संगठन आवश्यक रहेको बताएका छन् । प्रसाईले विगतमा दुई रुपैयाँ मूल्यवृद्धि हुँदासमेत आन्दोलन भएको उल्लेख गर्दै अहिले सय रुपैयाँ बढ्दासमेत कुनै विद्यार्थी संगठन नबोलेको बताए । उनले सरकारले तत्काल इन्धनको मुल्यबृद्धि फिर्ता लिनुपर्ने बताउदै चुपचाप घन्टीमा छाप हाल्ने जनताका दुखका दिन शुरु भएको जिकिर गरे । प्रसाईले दुई तिहाइ नजिक रहेको सरकारले संबिधान संशोधन गर्न लागेको प्रति खुशी व्यक्त गर्दै आफुहरुका माग हिन्दु अधिराज्य र राजसंस्थाको बारेमा पनि निर्णय लिन सरकारलाई आग्रह गरे । उनले बहुमत रहेकाले सरकारले राजसंस्था फिर्ता ल्याए आफुले सहयोग गर्ने समेत स्पष्ट गरे ।
#आजकाप्रमुख२०समाचार #समाचारबुलेटिन #दिनभरकासमाचार #नेपालसमाचार #विश्वसमाचार #ब्रेकिङन्युज #मुख्यसमाचार #समाचारअपडेट #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



