एक खर्बको डायस्पोरा बण्ड भन्दा सामूहिक लगानी कोषमार्फत समाधान खोज्न सुझाव

 

काठमाडौँ । गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठले सरकारले अघि सारेको एक खर्ब रुपैयाँ बराबरको ‘डायस्पोरा बण्ड’ सफल हुनेमा आशङ्का व्यक्त गरेका छन् ।

Nepal life insurance

नयाँ सरकारले एनआरएनलाई लक्षित गर्दै पूर्वाधार विकास र निर्यातमुखी उद्योगमा लगानी आकर्षित गर्न वार्षिक १ खर्ब रुपैयाँ बराबरको डायस्पोरा बण्ड जारी गर्ने महत्त्वाकाङ्क्षी योजना राष्ट्रिय प्रतिविद्धतामार्फत सार्वजनिक गरेको थियो ।

निवर्तमान अध्यक्ष श्रेष्ठले विना अध्ययन सरकारले ल्याएको यस्तो महत्त्वाकाङ्क्षी योजनाभन्दा ‘सामूहिक लगानी कोष’ बढी व्यवहारिक हुने उल्लेख गरेका हुन् ।

संघको १२औँ महाधिवेशनबाट सर्वसम्मत कार्यसमिति चयन भई गैरआवासीय नेपालीहरू उत्साहित भएको वर्तमान सन्दर्भमा श्रेष्ठले सरकारको लगानी रणनीतिको छिद्र पनि केलाएका छन् । “सरकारले प्रस्ताव गरेको १ खर्बको डायस्पोरा बण्ड सफल हुने सम्भावना अत्यन्तै न्यून देखिन्छ। यो प्रस्ताव सरकारले विना अध्ययन हचुवाको भरमा ल्याएको देखिन्छ,” उनले फेसबुकमा लेखेका छन् ।  विगतमा राष्ट्र बैङ्कले जारी गरेका बण्डहरू सफल नहुनुको मुख्य कारण गैरआवासीय नेपालीहरूको रुचि सरकारी बण्डभन्दा ‘इक्विटी’ मा आधारित लगानीमा हुनु रहेको उनको विश्लेषण छ ।

निवर्तमान अध्यक्ष श्रेष्ठले तीन प्रकारका सामूहिक लगानी कोषको प्रस्ताव पनि गरेका छन् । विदेशमा रहेका करिब ८० लाख नेपालीको १०० खर्बभन्दा बढीको सम्पत्तिलाई नेपालको विकासमा लगाउन ‘डायस्पोरा सामूहिक लगानी कोष’ को मोडेल अघि सारेका हुन् ।

उनले ५० अर्बको साना लगानीकर्ता कोषमा  ५ लाख प्रवासी नेपालीले ३ महिनामा २५ हजारका दरले लगानी गर्दा दुई वर्षमा १ खर्बको कोष बन्ने विकल्प अघि सारे । यसलाई श्रमिक र विद्यार्थी लक्षित बनाउनु पर्नेमा जोड दिएका छन् ।

यसैगरी १० अर्बको नेपाली पासपोर्ट बाहक कोषमा लगानी र मुनाफा नेपालमै परिचालन गर्ने गरी नेपाली नागरिक सरह लगानीको व्यवस्था हुनु पर्नेमा जोड दिएका छन् । त्यस्तै १० अर्बको विदेशी पासपोर्ट बाहक कोषमा ८५ प्रतिशतसम्म आइपिओ जारी गर्न पाइने र लगानी तथा मुनाफा विदेश लैजान पाउने  व्यवस्था गर्नु पर्ने सुझाएका छन् ।

कोषहरू सञ्चालनका लागि धितो पत्र सम्बन्धी ऐन र वैकल्पिक विकास वित्त परिचालन ऐनमा आवश्यक सुधार गर्नुपर्ने श्रेष्ठको सुझाव छ । यसरी जुटाएको पुँजीलाई जलविद्युत, डेटा सेन्टर, हरित हाइड्रोजन, रासायनिक मल उद्योग र पर्यटन जस्ता ठूला पूर्वाधारमा लगाउन सकिने उनको प्रस्ताव छ ।

यसैगरी निवर्तमान अध्यक्ष श्रेष्ठले १२औँ महाधिवेशनबाट डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएकोमा बधाई ज्ञापन गर्दै संस्थामा एकता कायम गर्न भूमिका खेल्ने सम्पूर्ण व्यक्तित्वहरूलाई धन्यवाद पनि दिएका छन् ।

 

Nepal life insuranceimagesimagesimages