


-अर्घाखाँची डट्कम सम्बाददाता।
अर्घाखाँची — जिल्लामा लामो समयदेखि सञ्चालनमा रहेको डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले आधुनिक प्रविधिअनुसार यातायात सेवा विस्तार गर्दै ईभी हाईस सञ्चालनमा ल्याएको छ।


सहकारीले डोलेश्वर पश्चिम नेपाल यातायात प्रा.लि. मार्फत हाल ४ वटा ईभी हाईस सञ्चालनमा ल्याएको हो। सहकारीका कोषाध्यक्ष दिपक केसीका अनुसार अस्वस्थ प्रतिस्पर्धा रहेको यातायात क्षेत्रमा गुणस्तरीय, सुरक्षित र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।

संस्थाले यात्रुहरूका लागि विभिन्न विशेष सुविधाहरू पनि घोषणा गरेको छ। जसअनुसार ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, मिर्गौला तथा क्यान्सर पीडित बिरामीलाई निःशुल्क टिकटको व्यवस्था गरिएको छ। शेयर सदस्यहरूलाई ७ प्रतिशत छुट, अर्घाखाँची–काठमाडौं यात्रामा सबै यात्रुलाई निःशुल्क पानी, तथा सवारी साधनमा वाइफाइ, सीसीटीभी र जीपीएस प्रणाली जडान गरिएको छ।

त्यसैगरी प्रत्येक महिना लक्की ड्रमार्फत एक यात्रुलाई उपहार प्रदान गरिनेछ भने लक्की ड्रमा सहभागी हुन टिकट अनिवार्य गरिएको छ। सहकारीका सदस्यहरूका लागि आवश्यक कागजात ढुवानी सेवा निःशुल्क गरिएको पनि जनाइएको छ।

सहकारीले अब बुटवल, काठमाडौं लगायतका प्रमुख शहरहरूमा दैनिक रूपमा ईभी हाईस सेवा सञ्चालन गर्ने जनाएको छ। यस सेवाले जिल्लावासीलाई आवतजावतमा सहजता प्रदान गर्नुका साथै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

कार्यक्रम संस्थाका अध्यक्ष मोतिराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने वरिष्ठ पत्रकार सहयोगी बिसी लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा शेयर सदस्य तथा पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


#Arghakhanchi #EV #Hiace #Transport #Cooperative #Butwal #Kathmandu #Service #Nepal #Travel #Education #Health #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



