कोही पनि नागरिक घरबारविहीन हुँदैनन्, जोखिमपूर्ण बस्तीको व्यवस्थापन गरिन्छः सभापति लामिछाने

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासी समस्या समाधानका क्रममा कुनैपनि वास्तविक नागरिकलाई घरबारविहीन नबनाइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
खोला किनारका जोखिमपूर्ण र गैरकानूनी रूपमा हडपिएका क्षेत्रहरू खाली गराउने कदम चालिएको स्पष्ट पार्दै उहाँले राज्यको यो कदम नागरिकको सुरक्षा र कानूनी प्रणाली स्थापित गर्नका लागि भएको बताउनुभएको हो । बस्ती व्यवस्थापनका क्रममा केही नागरिकलाई केही दिन असहजता भएको स्वीकार गर्नुभयो । उहाँले वास्तविक सुकुम्बासी र घरबारविहीनहरूको पहिचानका लागि लगत सङ्कलन कार्य भइरहेको र उनीहरूको गाँस, बास र कपासको ग्यारेन्टी राज्यले गर्ने बताउनु भयो ।

पछिल्लो समय भइरहेका कदमहरूको राजनीतिक अपव्याख्या भइरहेको प्रति सङ्केत गर्दै लामिछानेले प्रतिपक्षी र अन्य दलहरूले नागरिकमा डर पैदा गराउन खोजेको आरोप लगाउनु भयो । स्थानीय सरकारको क्षेत्राधिकारको सम्मान गर्दै उहाँले स्थानीय तहले पनि नागरिकलाई घरबारविहीन नबनाई प्रणालीभित्र ल्याउने विश्वास व्यक्त गर्नुभयो । खोला किनारमा वर्षौँदेखि बाढीको त्रास र असुरक्षित अवस्थामा बसिरहेका नागरिकका लागि यो कदम दीर्घकालीन समाधान भएको उहाँको तर्क छ ।

सभापति लामिछानेले भन्नुभयो, ‘राज्यको स्रोत र पहुँचको ससमितताका कारण प्रक्रियागत रूपमा केही दिन दुःख भएको हुनसक्छ । तर एकजना पनि नागरिकलाई घरबारविहीन बनाउने सरकारको उद्देश्य छैन । घण्टीमा भोट हालेका कारण बस्ती भत्काउन लागिएको भनी फैलाइएको भ्रम गलत हो । प्रधानमन्त्रीज्यूले नै यी क्षेत्रहरू जोखिमपूर्ण भएकाले प्राथमिकतामा राखेर व्यवस्थित गर्ने भन्नुभएको छ । अहिलेको केही दिनको दुःखले भविष्यको पुस्ताका लागि सुनिश्चितता प्रदान गर्छ। यो भन्दा उत्तम विकल्प भए हामी सिक्न र सुधार गर्न तयार छौँ ।’

सभापति लामिछानेले सरकारले नीतिगत रूपमै यो समस्याको सदाका लागि समाधान गर्ने र कोही पनि लावारिस हुनु नपर्ने आश्वासन दिनुभयो । आफूहरूले चुनावी वाचा पत्रमार्फत नै यस्ता समस्या समाधान गर्ने प्रतिबद्धता गरेको स्मरण गराउँदै उहाँले प्रक्रियाभन्दा पनि नतिजा महत्वपूर्ण हुने र सरकारले छिट्टै सकारात्मक नतिजा दिने दाबी गर्नुभयो । कुनैपनि भड्काउमा नलाग्न आग्रह गर्दै उहाँले नागरिकको जिउधन र अधिकारको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

 

Nepal life insuranceimagesimagesimages