


मध्य सुडानको गेजिरा राज्यमा बिहीबार भएको भीषण सडक दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । सुडानी प्रहरीकाअनुसार दुईवटा यात्रुवाहक बसहरू एकआपसमा ठोक्किँदा उक्त मानवीय क्षति भएको हो ।

सुडानी ट्राफिक प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार अबु उशेर र वाड अल–मजदी सहर जोड्ने सडकखण्डको अल–हिलालिया क्षेत्र नजिकै सो दुर्घटना भएको हो । दुई अन्तरनगर यात्रुवाहक बसहरू विपरीत दिशाबाट आउँदै गर्दा एकापसमा जुधेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले सवारी साधनमा आएको प्राविधिक त्रुटीका कारण दुर्घटना भएको हुनसक्ने सङ्केत गरेको छ । घटनाको सम्बन्धमा सम्बन्धित अभियोजन निकायको सुपरीवेक्षणमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


सुडानमा लापरवाहीपूर्ण चालक, तीव्र गति, सडकको कमजोर अवस्था र पुराना सार्वजनिक सवारी साधनका कारण सडक दुर्घटनाको दर उच्च रहने गरेको छ । यसका साथै, सन् २०२३ को अप्रिलदेखि जारी सैन्य द्वन्द्वका कारण विभिन्न राज्यहरूलाई जोड्ने मुख्य सडकहरू प्रभावित भएका छन् भने सन् २०२५ को भारी वर्षाले पनि मुलुकको सडक सञ्जालमा ठूलो क्षति पु¥याएको छ ।



