


दक्षिण कोरियाको उइवाङस्थित एक अपार्टमेन्टमा बिहीबार भीषण आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । योन्हाप न्युज एजेन्सीकाअनुसार आगलागी भवनको १४ औँ तलामा रहेको एक फ्ल्याटबाट शुरु भएको थियो ।
सोही फ्ल्याटमा बस्ने ६० वर्षका एक पुरुष भवनबाट खसेको अवस्थामा बाहिर मृत फेला परेका थिए भने उनकी श्रीमती सोही फ्ल्याटभित्र मृत अवस्थामा भेटिएकी थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलमा ती पुरुषले लेखेको ठानिएको एउटा नोट फेला परेको छ ।

उक्त नोटमा आर्थिक संकट लगायतका व्यक्तिगत कठिनाइहरू उल्लेख गरिएको बताइएको छ । अधिकारीहरूका अनुसार ती पुरुषको मृत्यु आगलागी हुनुअघि वा आगलागीको प्रारम्भिक चरणमै भएको हुनसक्ने आशंका गरिएको छ । आगलागीका कारण धुवाँले निस्सासिएका अन्य ६ जना बासिन्दाको हाल अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ । स्थानीय समयअनुसार बिहीवार बिहान करिब १०ः३० बजे आगलागी शुरु भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै अग्नि नियन्त्रण विभागले ‘लेभल १’ को आपतकालीन प्रतिक्रिया जारी गर्दै ३० वटा दमकल र ११० भन्दा बढी अग्निनियन्त्रकहरू परिचालन गरेको थियो । करिव दुई घण्टाको निरन्तर प्रयासपछि दिउँसो १२ः३५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । जम्मा ७८ परिवारको बसोबास रहेको उक्त २० तले अपार्टमेन्ट भवनको कुल क्षेत्रफल करिव ८ हजार ८ सय वर्ग मिटर रहेको छ । घटनाको विस्तृत विवरण र आगलागीको वास्तविक कारणबारे स्थानीय प्रशासनले थप अनुसन्धान गरिरहेको छ ।



