


काठमाडौंको टेकुस्थित कालोपुल क्षेत्रमा रहेको सुकुम्बासी बस्तीका अनधिकृत संरचनाहरूमा डोजर चलाइएको छ । टेकु र त्रिपुरेश्वरको सीमानामा पर्ने वागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेको हो । नदी किनारका क्षेत्रलाई अतिक्रमणमुक्त गराउने अभियानको दोस्रो चरणअन्तर्गत काठमाडौं महानगरपालिका र सम्बन्धित निकायले यी संरचनाहरू भत्काउन शुरु गरेका हुन् ।


नदी तटीय क्षेत्रको संरक्षण र शहरी सौन्दर्यीकरणका लागि अनधिकृत रूपमा निर्माण गरिएका टहराहरू हटाउने कार्यलाई तिब्रता दिइएको छ । यसअघि पहिलो चरणको अभियानअन्तर्गत मनोहरा, थापाथली र गैरीधारा क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरू हटाइएका थिए । सोही कार्ययोजनालाई निरन्तरता दिँदै अहिले टेकु र आसपासका क्षेत्रमा रहेका संरचनाहरूमाथि कारबाही अगाडि बढाइएको हो ।

बस्ती हटाउने क्रममा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने सरकारी जग्गा र नदी किनार मिचेर बनाइएका संरचनाहरूलाई पूर्ण रूपमा हटाउने लक्ष्य राखिएको छ ।



