


नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले कानून व्यवसाय र न्याय सम्पादनको क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल बार एशोसिएशन युवा समितिद्वारा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले प्रविधिमैत्री न्याय प्रणालीको आवश्यकता औँल्याउनुभएको हो । अध्यक्ष मिश्रले कानून व्यवसायीहरूको व्यावसायिक मर्यादा र अनुशासनका विषयमा बार काउन्सिल गम्भीर रहेको बताउनु भयो ।

पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा कानून व्यवसायीहरूबाट हुने अराजक टिप्पणी र व्यवहारलाई नियमन गर्न काउन्सिलले छुट्टै एकाइ खडा गरी अनुगमन शुरु गरेको उहाँले जानकारी दिनुभयो । एआईका कारण कानून व्यवसायीहरूमा आलस्यता बढ्नसक्ने र सिर्जनशीलतामा ह्रास आउन सक्नेप्रति उहाँले सचेत गराउनु भयो ।

फिराद पत्र, प्रतिउत्तर र बहस नोटहरू कानुन व्यवसायीको आफ्नै बौद्धिक सिर्जना हुनुपर्नेमा जोड दिँदै उहाँले एआईलाई केवल एक ‘सहयोगी औजार’ का रूपमा मात्र प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले एआई प्रयोग गरेर तयार पारिएका मस्यौदाहरूमा हुबहु नक्कल गर्दा पर्नसक्ने कानूनी जोखिम र क्षतिपूर्तिका विषयमा आचारसंहिता पुनरावलोकन समितिले काम गरिरहेको समेत बताउनु भयो ।

अध्यक्ष मिश्रले भन्नुभयो, ‘जसरी हुलाक कर्मचारीको आन्दोलनले इमेल रोकिएन र गणितज्ञहरूको विरोधले क्याल्कुलेटर रोकिएन, त्यसैगरी एआई पनि हाम्रो जीवन पद्धतिको अभिन्न अंग बनिसकेको छ । यसलाई रोक्न सम्भव छैन, बरु यसको सही सदुपयोग गर्न सिक्नुपर्छ । अराजक हुने छुट कसैलाई छैन । अब वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा वा अन्य महत्वपूर्ण सिफारिस गर्दा सम्बन्धित कानून व्यवसायीको आचरण र ‘प्रोफाइल’ लाई मुख्य आधार बनाइनेछ । कोही पनि कानुन व्यवसायीले अदालत वा आफ्नै सहकर्मीप्रति मर्यादित टिप्पणी गर्नुपर्छ । न्याय भनेको मानवीय संवेदना र मानवतासँग जोडिएको विषय हो, जसमा मेसिनले पूर्ण न्याय गर्न सक्दैन । एआईले कार्यलाई सरलीकृत गर्नसक्छ, तर मानवीय विवेकको विकल्प हुन सक्दैन ।’
अदालतका नयाँ भवनहरू निर्माण गर्दा बारका लागि पर्याप्त स्थान नछुट्याइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले राज्यले बार प्रणालीलाई अझै पनि उचित महत्व नदिएको गुनासो गर्नुभयो । साथै, राज्य प्रणालीमा अंग्रेजी भाषाको बढ्दो प्रयोगले नेपाली भाषाको मौलिकता र अस्तित्वमा पर्नसक्ने असरबारे पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
कानून व्यवसायीहरूलाई प्रविधिमा पोख्त बनाउन बार काउन्सिलले आगामी सोमवारदेखि एआई सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्ने जानकारी अध्यक्ष मिश्रले दिनुभयो । युवा समितिलाई यस्ता रचनात्मक र तालिममूलक कार्यक्रमहरूलाई निरन्तरता दिन निर्देशन दिँदै उहाँले कानून व्यवसायीहरूलाई प्रविधि र कानूनको संगममा रहेर काम गर्न प्रेरित गर्नुभयो ।



