सुकुम्बासीको ‘स्क्रिनिङ’: १६४ जनाले बुझाए विवरण, स्वास्थ्य शिविरसहित अस्थायी सेल्टरमा व्यवस्थापन कार्य जारी

 

सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा बसोवास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन नागरिकको पहिचान (स्क्रिनिङ) गर्ने कार्य जारी राखेको छ ।
सरकारले सुकुम्बासी तथा भूमिहीन नागरिकको विवरण संकलनका लागि उनीहरुको पहिचानका लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विशेष व्यवस्था गरेको वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख मचाकाजी महर्जनले जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म १६४ जनाले आफ्नो नाम दर्ता गराउँदै विवरण बुझाएका छन् ।

Nepal life insurance

उहाँले सुकुम्बासीको विवरण दर्ता भइसकेपछि अन्यत्र बसोबास गर्न नसक्ने अवस्थाका व्यक्ति तथा परिवारहरूलाई अस्थायी आश्रयस्थलमा राख्ने कार्य समेत चलिरहेको जानकारी दिनुभयो । महर्जनले सुकुम्बासी तथा भूमिहीन नागरिकको विवरण दर्ता गरिसकेपछि प्राथमिक स्वास्थ्य परीक्षण गर्नुका साथै राष्ट्रिय परिचयपत्र नभएकाहरूका लागि परिचयपत्र बनाउनेसम्मको व्यवस्था गरिएको छ । उहाँले शुक्रवार मात्रै २६ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेको अस्थायी सेल्टरमा स्थानान्तरण गरिएको जानकारी दिनुभयो । उहाँले सुकुम्बासीका लागि अस्थायी सेल्टर निर्माण गर्दा मानव अधिकार तथा गोपनीयताको समेत ख्याल गरी सोहीअनुसार व्यवस्थापन भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म १६४ जनाले नाम टिपाएर विवरण दिइसक्नुभएको अवस्था छ । विवरण टिपाइसकेपछि प्राथमिक उपचार गरिसकेपछि उहाँहरुले राष्ट्रिय परिचयपत्र बनाउनुभएको छैन भने परिचय पत्र समेत बनाइदिनेगरी प्रबन्ध गरेका छौँ । त्यसपछि अन्यत्र गएर बस्न नसक्ने अवस्था भएकालाई हामीले अस्थायी सेल्टरमा राखिरहेका छौँ । २६ जनालाई हामीले खरिपार्टीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा व्यवस्थापन गर्नेगरी पठाएका छौँ । हामीले परिवार भएका व्यक्तिलाई सोहीअनुसार र एकल व्यक्तिलाई समेत सोहीअनुसार मिलाएर राख्ने गरेका छौँ । हामीले अस्थायी सेल्टरमा व्यवस्थापन गर्दा केही समस्या भएको गुनासोहरु आएका छन् । हामीले सोहीअनुसार तत्काल सुधार गरी व्यवस्थापनको कार्य गरिरहेका छौँ ।’

सुकुम्बासी तथा भूमिहीनको प्राथमिक स्वास्थ्य उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबारे जानकारी दिँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले सुकुम्बासी नागरिकको स्वास्थ्य उपचार गर्नको लागि विभिन्न अस्पतालबाट चिकित्सकहरु समेत खटाइएको बताउनु भयो ।

उक्त स्वास्थ्य शिविरबाट हालसम्म एक सय जनाले सेवा लिनुभएको उहाँले बताउनु भयो । सरकारले बालरोग, स्त्रीरोग, दन्त उपचार, र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराएको उहाँले बताउनु भयो । यसका लागि शुक्रराज ट्रपिकल, कान्ति बाल अस्पताल, परोपकार प्रसुती गृह, र पाटन मानसिक अस्पतालका विशेषज्ञ टोलीहरू खटिएका छन् ।

शिविरमै औषधि र परामर्श दिने तथा जटिल समस्या भएमा सरकारी अस्पतालमा ‘रेफर’ गर्ने व्यवस्था मिलाइएको छ । बसोवास गुमाउँदा हुन सक्ने मनोसामाजिक तनाव र अन्य संक्रमणलाई ध्यानमा राख्दै पाटन मानसिक अस्पतालको टोलीले परामर्श सेवा दिइरहेको छ । कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा अर्को शिविर सञ्चालन भइरहेको र त्यहाँ आँखा र दाँतको उपचारमा आकर्षण देखिएको सरकारले बताएको छ ।

 

Nepal life insuranceimagesimagesimages