


नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर राजधानीमा ¥यालीसहित प्रदर्शन गरेको छ । श्रमिकहरूको हक, हित र अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले उक्त प्रदर्शन आयोजना गरिएको हो ।

काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा भेला भएका मजदुर तथा जिफन्ट आवद्ध सदस्यहरूले सरकारविरुद्ध नाराबाजी गर्दै विभिन्न मागहरू अघि सारेका थिए । प्रदर्शनका क्रममा सहभागीहरूले पछिल्लो समय ट्रेड युनियन अधिकार कटौती गर्न खोजिएको भन्दै सरकारको उक्त कदमप्रति आपत्ति जनाएका छन् । उनीहरूले ट्रेड युनियन अधिकार खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेका छन् । प्रदर्शनका क्रममा जिफन्टका प्रतिनिधिहरूले श्रमिकहरूको न्युनतम ज्याला निर्धारण र त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।


महँगी अनुसारको उचित ज्यालाको व्यवस्था गर्न र श्रम ऐनमा भएका व्यवस्थालाई पूर्ण रूपमा लागू गर्न उनीहरूले सरकारलाई आह्वान गरेका छन् । श्रमिक दिवसका अवसरमा आयोजित उक्त ¥यालीमा मजदुरहरूले आफ्नो पेशागत सुरक्षा, सामाजिक सुरक्षा कोषको प्रभावकारिता र कार्यस्थलमा हुनुपर्ने सुधारका विषयमा पनि आवाज उठाएका थिए। जिफन्टले श्रमिकका मुद्दाहरूमा सरकार गम्भीर नभएसम्म आफ्नो दबाबमूलक कार्यक्रमहरू जारी रहने संकेत गरेको छ ।



