


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बुद्ध जयन्तीको अवसरमा शान्ति, ज्ञान र दुःख निवारणको मार्गमा अघि बढ्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले गौतम बुद्धका उपदेश स्मरण गर्दै ‘दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ’ भन्ने सन्देशले मानव जीवनलाई सही दिशातर्फ डोर्याउने उल्लेख गरेका छन् । बुद्धले देखाएको बाटो दुःखबाट मुक्ति पाउने मार्ग भएको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले उज्यालोको अभाव नै अँध्यारो भएको उल्लेख गर्दै ज्ञानको प्रकाशले अँध्यारो स्वतः हट्ने बताएका छन् । मानव जीवनको यात्रा ज्ञानको खोज र समस्याको समाधानतर्फ केन्द्रित हुनुपर्ने उनले बताएका छन् ।
बुद्धको जन्मजयन्तीको अवसरमा उनले विश्वशान्तिको कामना गर्दै नेपाल भूमि सधैं अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गरेका छन् ।

उनले साँचो परिवर्तन ज्ञानबाट सुरु हुने भन्दै ‘अप्प दीपो भवः’ अर्थात् आफैं उज्यालो बन्नुपर्ने सन्देश पनि दिएका छन् । उनले भनेका छन्- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो “ज्ञ” ज्ञान हो ।’



