दाउन्नेमा एकतर्फी ढलान सम्पन्न, नारायणगढ–बुटवल सडकमा यात्रा सहज हुने अपेक्षा

 

नवलपरासी — लामो समयदेखि विस्ताराधीन रहेको नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत दाउन्ने क्षेत्रमा सडकको एकतर्फी ढलान कार्य सम्पन्न भएको छ। आयोजनाको पूर्वी खण्डमा पर्ने करिब चार किलोमिटर क्षेत्रमा ढलान सकिएसँगै अब चाँडै पक्की सडकबाट सवारी सञ्चालन हुने भएको छ।

आयोजनाका पूर्वी खण्ड सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने क्षेत्रमा एकतर्फी ढलानको काम सम्पन्न भइसकेको छ र आवश्यक समयपछि उक्त सडक सवारी सञ्चालनका लागि खुला गरिनेछ।

यसअघि दाउन्ने क्षेत्रमा सडक ढलानको काम अधुरो हुँदा सामान्य वर्षासमेत सवारी जाम र यात्रा कठिन बन्ने गरेको थियो। अब पूर्वी खण्डमा पक्की सडक तयार भएसँगै यात्रुहरूले सहज यात्रा गर्न सक्ने अपेक्षा गरिएको छ।

ढलान सम्पन्न भएसँगै नारायणगढ–बुटवल सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत ६५ किलोमिटर सडक कालोपत्र तथा पक्की सडकले जोडिएको आयोजनाले जनाएको छ। यद्यपि पश्चिम खण्डमा भने अझै केही स्थानमा ढलान कार्य जारी रहेको छ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजना २०७५ माघ २४ गते सम्झौता भई चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले निर्माण कार्य सुरु गरेको थियो। सुरुमा २०७९ साउनभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले आयोजना पटक–पटक म्याद थप हुँदै आएको छ।

११३ किलोमिटर लामो यस सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण कार्य अघि बढाइएको हो। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भइरहेको आयोजनाको कुल लागत करिब १७ अर्ब रुपैयाँ रहेको छ।

लामो समयदेखि धुलो, हिलो र जामको समस्या झेल्दै आएका यात्रुहरूका लागि दाउन्ने क्षेत्रमा सडक ढलान सम्पन्न हुनु राहतको विषय बनेको छ।


#NarayanghatButwal #Road #Daunne #Highway #Nepal #Development #Infrastructure #Travel #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD


 

Nepal life insuranceimagesimagesimages