इस्तानबुलमा मे दिवसको प्रतिवन्ध उल्लंघन गरेको आरोपमा ५ सय भन्दा बढी प्रदर्शनकारी पक्राउ

 

टर्कीको इस्तानबुलमा मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) को अवसरमा निषेधित क्षेत्रमा ¥याली निकाल्न खोज्ने ५ सय भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय प्रशासनले तोकेको प्रतिवन्ध उल्लंघन गरेको आरोपमा शुक्रबार उनीहरूलाई हिरासतमा लिइएको हो । इस्तानबुल गभर्नरको कार्यालयका अनुसार प्रदर्शनकारीहरूले विरोध प्रदर्शनका लागि निषेध गरिएको ‘तक्सिम स्क्वायर’ प्रवेश गर्न खोजेपछि सुरक्षा बलले हस्तक्षेप गरेको थियो । स्थानीय समयअनुसार शुक्रवार बेलुका ६ बजेसम्ममा कुल ५७५ जनालाई नियन्त्रणमा लिइएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

Nepal life insurance

प्रदर्शनलाई रोक्न र सुरक्षा व्यवस्था कायम गर्न सहरका मुख्य स्थानहरूमा व्यापक प्रहरी परिचालन गरिएको थियो । प्रहरीले संवेदनशील क्षेत्रहरूलाई घेराबन्दी गर्नुका साथै अनाधिकृत भेला रोक्न सहरको केन्द्रतर्फ जाने सार्वजनिक यातायातका साधनहरूलाई समेत आंशिक रूपमा निलम्बन गरेको थियो ।

इस्तानबुलको तक्सिम स्क्वायर श्रमिक युनियन र वामपन्थी समूहहरूका लागि ऐतिहासिक एवं सांकेतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिन्छ। सन् १९७७ मा सोही स्थानमा मे दिवस मनाउने क्रममा भएको भागदौड र गोलीबारीमा ३४ जना श्रमिकले ज्यान गुमाएका थिए । सो क्षेत्रमा ठूला ¥याली र सभा गर्न प्रतिवन्ध लगाइए पनि, अधिकारीहरूले प्रमुख मजदुर संगठनका सिमित प्रतिनिधिहरूलाई भने तक्सिम रिपब्लिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्ने अनुमति दिएका थिए ।

 

Nepal life insuranceimagesimagesimages