इजिप्टको नाइल डेल्टामा नयाँ प्राकृतिक ग्यास भण्डार फेला

 

इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले देशको उत्तरी क्षेत्रमा पर्ने नाइल डेल्टामा प्राकृतिक ग्यासको नयाँ भण्डार फेला परेको घोषणा गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त नयाँ खानीबाट दैनिक करिव ५ करोड घनफिट ग्यास उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

यो भण्डार हाल सञ्चालनमा रहेका उत्पादन सुविधाहरूबाट २ किलोमिटर भन्दा कम दूरीमा अवस्थित रहेकाले यसलाई आगामी केही हप्ताभित्रै राष्ट्रिय उत्पादन सञ्जालमा जोड्न सकिने मन्त्रालयले जनाएको छ । इजिप्टको कफ्र एल–शेख गभर्नोरेटको ‘वेस्ट अबु मादी’ क्षेत्रमा पर्ने ‘निडोको एन–२’ नामक अन्वेषण कुवा उत्खननका क्रममा यो सफलता प्राप्त भएको हो ।

यो क्षेत्र तटीय रेखाबाट करिव ३ किलोमिटर टाढा र १० मिटर गहिरो पानी भएको उथलो क्षेत्रमा अवस्थित छ । यस परियोजनामा इटालीको ऊर्जा कम्पनी ‘एनी’, बेलायतको ‘बीपी’ र इजिप्टियन जनरल पेट्रोलियम कर्पोरेसनले ‘पेट्रोबेल’ मार्फत संयुक्त साझेदारीमा काम गरिरहेका छन् ।

विगत केही वर्षदेखि प्राकृतिक ग्यास उत्पादनमा आएको गिरावटलाई सम्बोधन गर्न इजिप्ट सरकारले तेल तथा ग्यास उत्पादन वृद्धिका लागि सक्रियता देखाएको छ । प्रधानमन्त्री मुस्तफा मादबौलीकाअनुसार हाल इजिप्टको कुल ग्यास उत्पादन दैनिक ४.१ अर्ब घनफिट रहेको छ । सरकारले सन् २०२७ सम्ममा यसलाई बढाएर दैनिक ६.६ अर्ब घनफिट पु¥याउने लक्ष्य राखेको  छ । नयाँ ऊर्जा भण्डारहरू पहिचान गरी ऊर्जा सुरक्षा सुनिश्चित गर्न इजिप्टले यसै वर्षभित्र १०० भन्दा बढी अन्वेषण कुवाहरू उत्खनन गर्ने योजना समेत बनाएको मन्त्रालयले उल्लेख गरेको छ ।

 

Nepal life insuranceimagesimagesimages