इण्डोनेसियाको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा ५.६१ प्रतिशत

 

सन् २०२६ को पहिलो त्रैमासिकमा इण्डोनेसियाको अर्थतन्त्र वार्षिक ५.६१ प्रतिशतले वृद्धि भएको छ । सरकारी खर्चमा भएको उल्लेख्य वृद्धि र विभिन्न क्षेत्रमा देखिएको सकारात्मक विस्तारका कारण अर्थतन्त्रमा सुधार आएको इण्डोनेसियाली तथ्याङ्क विभाग (बीपीएस) ले मंगलवार जनाएको छ ।

तथ्याङ्क विभागकी प्रमुख अमालिया एडिनिङ्गर विड्यासान्तीले पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार यो वृद्धिदर सन् २०२५ को चौथो त्रैमासिक (५.३९ प्रतिशत) र अघिल्लो वर्षको सोही अवधिको (४.८७ प्रतिशत) तुलनामा बढी हो ।

विभागकाअनुसार खानी, विद्युत र ग्यासबाहेक लगभग सबै क्षेत्रको वृद्धिदर सकारात्मक देखिएको छ । इण्डोनेसियाको अर्थतन्त्रमा प्रमुख हिस्सा ओगटेको उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्र ५.०४ प्रतिशतले विस्तार भएको छ । यस अवधिमा सबैभन्दा उच्च वृद्धि आवास तथा खाद्य सेवा क्षेत्रमा १३.१४ प्रतिशत देखिएको छ भने यातायात र भण्डारण क्षेत्रमा ८.०४ प्रतिशतको वृद्धि भएको छ ।

सरकारी उपभोगमा २१.८१ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ । धार्मिक बिदाका अवसरमा दिइने भत्ता र ‘निःशुल्क पौष्टिक भोजन’ कार्यक्रम लगायतका वस्तु तथा सेवामा सरकारी खर्च बढ्नाले यो वृद्धि सम्भव भएको हो । यसैगरी, घरायसी उपभोगमा पनि ५.५२ प्रतिशतको वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

 

 

Nepal life insuranceimagesimagesimages